मानव बेचबिखनको बढ्दो अपराध

३ पुष २०७९, आईतवार मा प्रकाशित

आजको युगलाई आधुनिक, वैज्ञानिक तथा सभ्य युग भनिन्छ । तर, यही युगमा मानिसले मानिसलाई बेचिरहेका छन्, जुन अमानवीय, घृणित तथा आपराधिक कार्य हो । यस्तो कार्य बढ्दै, फैलिँदै जानु भनेको सभ्य समाजका लागि कलंक पनि हो । संसारमा व्यापक हुँदै गएको मुख्य तीन वटा अपराध मध्ये मानव बेचबिखन दोस्रो ठूलो अपराध हो । यस बाहेक हातहतियार सम्बन्धी अपराध पहिलो र लागूऔषधको ओसारपसारलाई तेस्रो ठूलो वैश्विक अपराधका रुपमा लिइएको छ । आधुनिक युगको दासता भनिएको मानव बेचबिखन त्यस्तो अपराध हो जहाँ पुरुष, महिला र बालबालिकाको प्रयोग हुन्छ । उनीहरुलाई आर्थिक लाभका लागि उपयोग गरिन्छ र गलत कार्यहरुमा लगाइन्छ । यस्तो कार्यमा दलालहरुको प्रयोग हुन्छ । जसले अनुचित ढंगले श्रम तथा यौन शोषण जस्ता कार्यमा पुरुष, महिला तथा बालबालिकालाई जबर्जस्ती लगाउँछन् ।

व्यक्तिको इच्छा विपरीत धम्की दिएर, जबर्जस्ती गरेर, झुक्याएर वा प्रलोभनमा पारेर मानव बेचबिखन गरिनु अपराध हो । त्यही भएर आज यसलाई रोक्न अन्तर्राष्ट्रिय स्तरमा विभिन्न कार्यक्रमहरु गर्ने गरिएको छ । अशिक्षा, अज्ञानता र गरिबीको फाइदा उठाइ मानव तस्करी भइरहँदा पनि विश्वका प्रायः सबै देश यो समस्याबाट पीडित छन् । त्यही कारण यो विश्वको साझा समस्या बनिएको छ, त्यसैले यसको संगठित जालो तोड्नु आजको मुख्य आवश्यकता हो । नेपालमा मानव बेचबिखनलाई अपराधका रुपमा लिएको दुई सय पचास वर्षभन्दा बढी भयो । नेपालको एकीकरण लगत्तै वडामहाराजाविराज पृथ्वीनारायण शाहले मानव बेचबिखनमा प्रतिबन्ध लगाएका थिए । त्यसपछि राजेन्द्रविक्रम शाहको कार्यकालमा पनि यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको थियो । त्यसयता कैयौंपटक ऐनमा संशोधन, परिमार्जन गरिँदा पनि यसको सञ्जाल टुटेको छैन ।

पछिल्लो तथ्यांक अनुसार आर्थिक वर्ष ०७६–०७७ र ०७७–०७८ मा मानव बेचबिखन तथा ओसारपसारको जोखिम अरु बढेको छ । त्यस वर्ष नेपाल प्रहरीमा दुई सय ७०, सर्वोच्चमा चार सय दुई, उच्च अदालतमा छ सय १७ र जिल्ला अदालतमा सात सय ६० वटा उजुरी दर्ता भएका थिए । विश्वकै दोस्रो ठूलो अपराध स्वीकार गरिएको मानव बेचबिखनको सञ्जाल तोड्न, सचेतना, रोजगारी तथा औपचारिक शिक्षा कार्यक्रम सञ्चालन गरिए पनि यसको दर निरन्तर उकालो लाग्दै गएको छ । मानव बेचबिखन, ओसारपसार नियन्त्रण सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन हुन नसक्दा पीडकहरु उम्किने र पीडितले न्याय नपाउने अवस्था विद्यमान छ । यस्तोमा अब नागरिक तहबाट पनि आवाज उठाइनु पर्दछ । सरकारलाई दवाव दिएर प्रभावकारी कार्यान्वयनमा लाग्नु पर्दछ । यस्तो संगठित अपराधका बिरुद्ध सबै सचेत होऔं । आवाज उच्च बनाऔं र यसबिरुद्ध सशक्त ढंगले लडौं । होइन भने यस्तो अपराधबाट कुनै घर अछुतो रहने छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here