भद्रपुरका विकासको स्वास्थ्यमा सुधार

३ पुष २०७९, आईतवार मा प्रकाशित

झापा,

रोमानियास्थित टिमिसोराआ हस्पिटलमा कोमा (अचेत अवस्था) उपचाररत् भद्रपुरका विकाश तिम्सिनाको स्वास्थ्यमा सुधार आएको छ ।

पूर्वाञ्चल दैनिककमा प्रकाशित समाचारमा रोमानिया गएका झापाका विकाश कोमामा, सहयोगका लागि परिवारको अपिल शीर्षकमा समाचार प्रकाशित भएपछि सरकारको पहलमा रोमानियाका लागि अवैतनिक वाणिज्यदूत नवराज पोखरेल विकासको स्वास्थ्य अवस्था बुझ्न तत्काल अस्पताल पुगेका थिए ।

वाणिज्यदूत पोखरेलले अस्पतालका चिकित्सक र प्रशासन पक्षसँगको सहकार्यमा विकासलाई सोही अस्पतालको अन्य वार्डमा सारेर उपचारलाई थप प्रभावकारी र सहज बनाउन सहजीकरण गरेका थिए ।

सघन उपचार कक्षमा उपचाररत् विकासको चार दिनअघि होस आएको भनी वाणिज्यदूत पोखरेलज्यूले फोनमार्फत मलाई जानकारी गराउनु भएको हो– विकासका बुबा कुमार तिम्सिनाले भने । ‘उहाँले निरन्तर छोराको स्वास्थ्य अवस्था बुझेर हामीलाई जानकारी गराउँदै आउनुभएको छ’– उनले भने– ‘होसमा आए पनि छोराको अहिले पनि आइसीयुमा उपचार भइरहेको छ, नर्मल वार्डमा सारेपछि भिडियो कलमार्फत छोरासँग गफगाफ गराउने भनी पोखरेलज्यूले आश्वासन दिनुभएको छ ।’

भद्रपुर नगरपालिका–८स्थित फूलबारी टोल निवासी २६ वर्षीय विकास गतकात्तिक ३० गते राति रोमानियामै ‘गेट टुगेदर’ पाटी गरिरहेको अवस्थामा साथीसँग विवाद हुँदा नेपालकै डीबी लामाले उनको टाउकोमा बोतल प्रहार गरी घाइते बनाएका थिए । टाउकोमा बोतल प्रहारबाट उनी अचेत अवस्थामा पुगेका थिए । यता उनलाई कुटपिट गर्ने लामा हाल त्यहाँबाट फरार रहेको जानकारी प्राप्त भएको छ । कुटपिट गरेको आरोपमा लामाबिरुद्ध रोमानिया प्रहरीमा उजुरी समेत परेको छ । रोमानिया प्रहरीले उनको खोजी कार्य जारी राखेको जनाइएको छ । ग्लोबल म्यानपावर सामाखुसी काठमाडौँबाट २०७९ जेठ ८ गते विकास रोमानियाका लागि उडेका थिए । नेपाली करिब ७ लाख रुपैयाँ खर्चिएर होटेलमा पिज्जा बनाउने काममा उनी रोमानिया गएको परिवारजनको भनाइ छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here