नेपाल राष्ट्र बैंकले विगत चार महिनामा नेपालमा झण्डै बीस प्रतिशत रेमिटेन्स भित्रिएको जनाएको छ । यही रेमिटेन्स अर्थात् विप्रेषणका कारण हाम्रो ढिकुटी बलियो भएको उसले दाबी गरेको छ । विदेशी श्रम बजारमा गएका नेपाली युवाहरुको आर्जन नै विप्रेषण हो, जसका कारण नेपालको अर्थतन्त्र चलायमान भइरहेको अर्थशास्त्रीहरुले समेत बताउने गरेका छन् । त्यही कारण हाम्रो सरकार पनि युवालाई स्वदेशमै रोजगारीको अवसर दिने वातावरण र पूर्वाधार तयार गर्नुभन्दा युवालाई श्रम स्वीकृति दिएर विदेश पठाउनै जोडबल गरिरहेको छ । झट्ट हेर्दा पैसा कमाउनु राम्रो पक्ष हो, कमाएको पैसा स्वेदश पठाउनु र त्यसले व्यक्तिगत तथा राष्ट्रिय जीवन उकास्नु झनै राम्रो हो । तर, देश नै वैदेशिक रोजगारमा आश्रित हुनु भनेको ‘मन्द विष’ पिउनु सरह हो । किनकि वैदेशिक रोजगारीका कारण हाम्रा खेतबारी बाँझिएका छन्, परनिर्भरता बढेर गएको छ र हाम्रा प्राकृतिक स्रोत–साधनहरुको सदुपयोग हुन छाडेको छ । रेमिटेन्सबाट आएको पैसा ऐश–आराम, भोग–विलास र अचल सम्पत्ति जोड्न मै खर्च भइरहेको छ ।

रेमिटेन्सकै आकर्षणमा हाम्रा सामाजिक मूल्य–मान्यताहरु कमजोर हुँदै जाँदैछन् । पारिवारिक विखण्डनको क्रम बढेर गएको छ । उत्पादन घट्दै गएको छ, विकृति–विसंगति बढ्ने क्रममा छ । यसरी रेमिटेन्सको आकर्षणले परनिर्भरता बढाएको छ भने सँगै अनेकौंका सपनाहरु सपनामै सीमित बन्न पुगेका छन् । त्यस्तै कतिपयले देखेका मीठो सपनाहरु सास ‘उतै’ बिसाएर शरीर मात्र स्वदेश पठाउन भ्याएका छन् । यी सबै कारणले मन्द विष बनिएको वैदेशिक रोजगारी र त्यसले भित्र्याउने विप्रेषण हाम्रो दुर्दिनको मुख्य कारण बनिँदैछ । यी सबै कारणले रेमिटेन्स हाम्रा लागि ‘…को न्यानो’ हो जान्दाजान्दै पनि बाँच्ने आधार बनिएको छ ।
देशको अस्थिर राजनीतिक व्यवस्था र शासनका कारण अर्थतन्त्र प्रत्येक वर्ष कमजोर भइरहेको छ । त्यसमाथि कोभिड महामारीले थलिएको अर्थव्यवस्था कोभिडपछि खुलेको विदेशी रोजगारीका कारण चलायमान हुन थालेको हो । त्यसकै उदाहरण हो कि सत्तरी लाखभन्दा बढी युवा विदेशिएका छन् जसले मासिक रुपमा औसत दुई खर्ब रुपैयाँभन्दा बढी स्वेदशमा पठाइरहेका छन् । त्यही रेमिटेन्सको भरमा पूरा देश पालिएको छ, प्रधानमन्त्रीदेखि संवैधानिक अङ्गका प्रमुख तथा मन्त्री, पदाधिकारीहरु, राष्ट्रसेवक कर्मचारी, प्रहरी, सेना, शिक्षक लगायतले पनि सेवासुविधा प्राप्त गर्न पाएका छन् । यसरी हेर्दा देशलाई नै पाल्ने, जीवन दिने वैदेशिक रोजगारी र त्यसवापत भित्रिने रेमिटेन्स देशको समृद्धिका लागि सहायक मान्नु पर्दछ । तर, रेमिटेन्स कसरी आउँछ त्यसका लागि हाम्रो समाज, सामाजिक व्यवस्था, सामाजिक मूल्य–मान्यता, स्वाबलम्बी तथा स्वतन्त्र अस्तित्व र गौरव कता हराउँदैछ भन्ने बिर्सिनु हुँदैन । विदेशी भूमिमा बगाएको पसिना, श्रम र समर्पण गरेको जीवनले हाम्रो स्वाभिमान र स्वाधीनताको रक्षा कसरी गर्न सक्ला त्यसतर्फ चिन्तन हुनैपर्छ ।


























