
निक्कै पेचिलो अवस्थामा हुर्किएको एउटा संस्थाले आज ११औं वर्ष पार गर्दा यसका संस्थापकहरुले धेरै फड्को मारिसकेका छन् । संस्था स्वयम् समाजमा स्थापित मात्र होइन दर्बिलो समेत बनिसकेको छ । तर, पटक–पटकको प्रयासमा संस्थाका तर्फबाट भएका उम्मेदवारहरु लम्कने प्रयास गर्दागर्दै बिफल भएको अवस्था छ ।
सन्दर्भ अर्जुनधारा जेसीजको हो । सन् २०१२ मा स्थापित भएको अर्जुनधारा जेसीजले यहाँसम्म आउँदा धेरै आरोहअवरोह पार गरिसकेको छ । छोटो समयमा किसान संयोजक जस्ता उपसमिति बनाएर महाकालीमा भएको महाधिवेशनमा प्रस्तुत गर्दा अर्जुनधारा जेसीजको चर्चामा चुलिएको थियो । के जेसीजमा किसान संयोजक पनि बनाउन सकिन्छ ? भनी प्रश्न जेसीजभित्रको बिधान सम्मेलनमा आएको थियो । गर्दा जे पनि हुँदो रहेछ, तर नेतृत्व निर्माण गर्नका लागि । आज त्यही अवस्थामा सबै शाखाहरुले ग्रामीण भेगसम्म पुग्न केही न केही संयोजकहरु निर्माण गरेका छन् । छोटो समयमा जेसीजको अधिराज्यभरि एक सय ७४ वटाभन्दा बढी शाखा निर्माण भएका छन् ।
त्यही जमर्कोले अर्जुनधारा जेसीजले छोटो समयमा आफ्नो भवन निर्माण गरी बस्नका लागि मात्र होइन सामान्य सेमिनार गर्न सक्ने स्थान बनाएको छ । ठूला–ठूला कार्यक्रम गर्न पाटी प्यालेस धाउनुपर्दैन । त्यसको जगबाट अर्जुनधारा जेसीज २०१५ मा उत्कृष्ट मात्र भएन हरेक कार्यक्रममा अर्जुनधारा जेसीज अन्य शाखाहरु बीच मित्रभावसँगै चर्चामा चुलियो । त्यही चर्चासँगै अर्जुनधाराले सन् २०१६ का अध्यक्ष जेसी सार्दुलहाङ ओलीको अगुवाईमा राष्ट्रिय उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी दियो । काठमाडौंको भूतखेलमा सार्दूलको चर्चा खुब चल्यो । चर्चामा पुग्न सफल अर्जुनधारा जेसीज आफ्नै भवन समेत निर्माण गर्ने भनेर सबै शाखाहरु मध्ये एक नम्बर शाखाको रुपमा गनिएको थियो । एरिया ए, बी, सी र डी का सम्मेलनमा अर्जुनधाराको गरिमा उठ्नु स्वभाविक थियो । त्यसैको बलले सार्दुललाई राष्ट्रिय उपाध्यक्षका लागि शाखाले प्रस्तुत गर्यो । भूतखेलको त्यो चिसो डाँडामा अर्जुनधाराको उम्मेदवारी र प्रस्तुति कम थिएन । अन्ततोगत्वा पराजयको पोका बोकेर फर्कनु पर्यो ।
पराजय व्यहोर्दा पनि अर्जुनधारा जेसीज निराश भएन । अझ अन्तरक्रिया, छलफलसँगै अभिभावकहरुबाट प्रेरणाका शब्दहरु बर्सिरहे । त्यसैको फलस्वरुप जनकपुरमा भएको सम्मेलनमा वर्ष २०१८ का अध्यक्ष जेसी अजय देवले राष्ट्रिय उपाध्यक्षमा आफ्नो उम्मेद्वारी दिए । जनकपुरी राजाको आशीर्वाद र सीता माताको साथले आफ्नो उम्मेदवारी दिएका अजयले उद्घोष गरिरहँदा हलभित्र तालीको वर्षात्ले आशाको दीयो बलेको थियो । चुनावको माहोल तातिँदै थियो । तर, जेसीजभित्रको पुस्तौंदेखि बन्दै आएको गुटका कारणले अजयलाई त्यहाँ पनि पछि पार्यो । पराजयको शिकार बनेर घर फर्किने क्रममा धेरै समीक्षाहरु भए । त्यही समीक्षासँगै वर्ष २०२० मा जेसी भाष्कर भट्टराईलाई रुपन्देहीको भलबारीमा तेस्रोपटक राष्ट्रिय उपाध्यक्षमा उम्मेदवारी दिन प्रेरित गरियो । गौतम बुद्धको जन्मस्थल अनि चर्चामा आएको अर्जुनधारा दुबैको आशीर्वाद सबैतिरबाट मिल्छ भन्ने आशाले युवा जोशका आधारमा उम्मेदवारी दिँदा आशाको दीयो बल्दाबल्दै पनि निराश भएर फर्किनु परेको पीडा आलै छ ।
जेसीज युवाहरुको ढुकढुकी हो । नेतृत्व निर्माणदेखि लिएर समाजको अगाडि परिपक्व हुनसक्ने क्षमता बनाउने विश्व विद्यालय हो । त्यही कुरा सम्झेर अर्जुनधारा जेसीजका पूर्व अध्यक्षहरुले मनन् पनि गरे । निर्वाचनको समयमा काममात्र देखाएको छैन, जेसीजले गर्ने कर्तव्य पनि पूरा गरिसकेको छ । प्रस्ट भन्ने हो भने गोजीमा जेसीजको लेटरप्याड बोकेर हिँड्नेहरु राष्ट्रिय उपाध्यक्ष, कार्यकारी उपाध्यक्ष जस्ता पदमा पुगेर फूर्ति लगाइरहेको अवस्था छ । राजधानीमा बसेर विकट ठाउँको शाखा खोली पदमा पुग्न सफल उम्मेदवारले के–कति काम गरे त्यसको मूल्यांकन तत्काल नभए पनि इतिहासले एकदिन न एकदिन गर्ने नै छ । त्यो भन्दा फराकिलो ढंगबाट अगाडि बढेको अर्जुनधारा जेसीजलाई हेर्ने दृष्टिकोण यो पटकको महाधिवेशनले सूक्ष्म रुपबाट मूल्यांकन गर्दै हेर्नुपर्ने हुन्छ । नलजाई भन्ने हो भने सम्भवत् १७४ वटा शाखामध्ये आफ्नै भवन भएको शाखाको नाममा अर्जुनधारा जेसीज पर्छ । भवन नै नभएका शाखाहरु जेसीजको उपल्लो पदमा बसेर फूर्ति लगाइरहेका छन् । तर, अर्जुनधारा जेसीज जग्गा खोजेर, दुई तले भवन बनाएर हरेक कार्यक्रममा उत्कृष्ट हुँदै आउँदा पनि लबीबाट बाहिर पारेर खेदाइरहनुले न्यायोचित व्यवहार पक्कै हुन सक्दैन कि !
वीरगञ्जमा हुने ४६औं ऐतिहासिक जेसीजको राष्ट्रिय महाधिवेशनमा अर्जुनधारा जेसीज थुप्रै कृष्णहरुको अगाडि सुदामा बनेर उभिएको छ । अब्बल रुपमा उभिएका अर्जुनधारा जेसीजका अध्यक्ष जेसी भीमबहादुर कुँवर (राजु)ले राष्ट्रिय उपाध्यक्षका लागि आफ्नो उम्मेदवारी दिएका छन् । थुप्रै सारथिबीच योजना तर्जुमामा छलफल गरिरहेका कृष्णले मित्र सुधामा आएको सन्देश पाएपछि योजना छलफललाई पछि पार्दै सुदामालाई गर्ने व्यवहारबाट सुदामा खुशी भएको ज्ञानवद्र्धक कथा हामीले पढे जस्तै थुप्रै शाखाका कृष्णहरुले अर्जुनधाराका सुदामालाई सम्मान र माया प्रदान गरेर राष्ट्रिय स्तरमा सँगसँगै डोहोर्याउने अवसर प्रदान गर्नेछ भनी हामी पूर्व संस्थापकहरु सादर अनुरोध गर्दछौं ।
नारायणी नदीमा धेरै पानी बगिसकेको छ । अर्जुनधारा जेसीज स्थापना भएको पनि ११ वर्ष पार भइसक्यो । संस्थापक उपाध्यक्षहरु मेयर, वरिष्ठ साहित्यकार, कानून व्यवसायी हुँदै वरिष्ठ सञ्चारकर्मी पनि बनेको थलो हो । अब हामी कृष्णले सुदामालाई माया गरे जस्तै सबै क्षेत्रका शाखाहरुले अर्जुनधारा जेसीज शाखाबाट प्रस्तुत गरिएको राष्ट्रिय उपाध्यक्षका उम्मेदवार जेसी भीमबहादुर कुँवरलाई राष्ट्रिय नेतृत्वमा पुर्याउन सबै एरियाको उत्तिकै साथ रहन जरुरी छ । एउटा युवाले अर्को युवालाई डोहोर्याउने थलो र नेतृत्वमा पुर्याउने संस्था जेसीज भएको कारणले यो ४६औं महाधिवेशनले भूमिका खेल्नेछ भन्दै सबै शाखाहरु प्रति अपिल पनि गर्दछौं ।
























