एस्पेरान्तो, हरियो तारा र डा. लाजारो लुदोभिक जामेनहोफ

0
309

हामी यो कल्पना मात्र गर्न सक्छौं कि संसारको अर्को कुनामा समस्या आइनपरोस् अनि आफ्नो घरका सदस्यसँग झैं कुराकानी गर्न सकियोस् । तर, यथार्थमा यो सम्भव देखिँदैन किनभने एउटै भाषामा पनि भौगोलिक र अन्य कारणहरूले गर्दा साधारण भेद र असमानता आएर विभिन्न भाषिकाहरूको निर्माण हुन जान्छ भने यत्रो ठूलो संसारमा सबैको मुखमा एउटै मात्र बोली हुन सक्ला भन्ने कुरा कल्पना पनि गर्न सकिँदैन । जहाँ–जहाँ भाषिक साम्राज्यवादहरूको बोलाबाला हुन्छ त्यहाँ त्यहाँ सिक्न सजिलो, बहुभाषावाद, भाषिक अधिकार र भाषिक विविधतामा विश्वास गर्नेहरूको भाषाको रूपमा एस्पेरान्तो एक तटस्थ समाधान भएर उभिन्छ । त्यसमा पनि यसले अहिले भाषिक न्यायलाई आफ्नो नारा बनाएको छ । यस भाषालाई विभिन्न देशमा विभिन्न परिवेशमा विभिन्न प्रकारका मानिसले आफ्नो आफ्नो रुची र उद्देश्य अनुसार प्रयोग गर्छन् । यहाँ कसैले कुनै भाषा प्रयोग र संरक्षण गर्नलाई कसैले दिएको हकको आवश्यकता पर्दैन ।

आजको युगमा मानिसहरूको विभिन्न देशहरूसँग विभिन्न सम्बन्ध रहिरहन्छ, संसारभरका देशहरूमा जानु भनेको टोल छिमेकीको घर जानु जत्तिकै भइरहन्छ । यस्तो अवस्थामा सबै देशको सबै भाषा सिकिराख्ने कुरा पनि आएन । त्यसैले आजभोलि यस्तो एउटा भाषा, जसले दुई विभिन्न भाषाभाषी देशबीच विचारको आदानप्रदान गराउँछ, त्यसको आवश्यकता महशुस गरिनु स्वभाविक हो । आज यो विश्वको सामु विभिन्न देशवासीहरू बीच व्यक्तिगत सम्पर्क कायम गर्ने अद्वितीय माध्यम भएको छ । विभिन्न देशमा पत्रमित्रता गर्ने सजिलो माध्यम हुनुका साथै कुनै पनि देशमा बस्ने किन नहोस्, एक एस्पेरान्तोविद् अर्कोसँग भेट्ना साथ राजनीतिक सीमाना नाघी आत्मीय मित्र बन्दछन् । अझ युरोपेलीहरू त आफ्ना पत्रमित्रहरूलाई खाने बस्ने व्यवस्था गरी दिएर बोलाउँछन् । फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालको प्रचलन आएपछि यस्तो सम्बन्ध झन् व्यापक हुन थालेको छ । त्यस्तो भाषाको रूपमा एस्पेरान्तो भाषालाई लिन सकिन्छ ।

एस्पेरान्तो एउटा अन्तर्राष्ट्रिय भाषा हो । पोल्याण्डका डा. लाजारो लुदोभिक जामेनहोफले सन् १८८७ मा सृजना गरेको यो भाषा अहिले आएर संसारका एक सयभन्दा बढी देशमा प्रयोगमा आएको छ । यो भाषाको सृजना गरिएका बेलामा भाषाकै कारणले देश तथा जातिहरू बीचमा द्वन्द्वको अवस्था थियो । एउटा व्यक्ति र अर्को व्यक्तिको भाषाको कारणले वैमनश्यता नहोस् र सबैको साझा भाषा हुन सकोस् भनेर डा. जामेनहोफले यो भाषा निर्माणका लागि वर्षौ मेहनत गरेका थिए । अंग्रेजी, नर्वेजियली, स्पेनिश, फ्रेञ्च, जर्मन, पोर्तुगाली लगायतका युरोपका धेरै भाषाको मूल ल्याटिन र ग्रीक लगायतका भाषाहरु हुन्, सबैको साझा भाषा निर्माण गर्न मूललाई ग्रहण गर्न आवश्यक छ र भाषामा रहेका जटिलतालाई न्यूनीकरण गरी सरलीकृत रूपमा भावना, विचार सम्प्रेषणको माध्यमका रुपमा भाषाले काम गर्नुपर्छ भन्ने सिद्धान्तको जगमा यो भाषा निर्माण गरिएको हो ।

भाषाले विश्वबन्धुत्व, भाइचारा, मेलमिलापमा जोड दिनुपर्ने डा. जामेनहोफको सोच थियो । भाषाका कारण शत्रुता नहोस् र भाषाका कारण कुनै पनि देशमा लडाइँ नहोस् र कसैले पनि अकालमा ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ स्थापित यो भाषा दिनप्रतिदिन लोकप्रिय हुँदै गएको छ र यो भाषा बोल्ने मानिसको संख्या द्रूतगतिमा बढ्दै गएको छ । यो भाषा विश्वका सम्पूर्ण भाषा, धर्म , संस्कृति, भेषभुषा, जातजाति, लिङ्ग, राजनीति तथा समुदायको सम्मान गर्दछ । यसै कारण अमेरिका, चीन, भारत लगायत संसारका धेरैै देशमा यो भाषा निर्वाधरुपमा प्रयोगमा आइरहेको छ र यसको प्रचार भइरहेको छ । अहिले त यो भाषा प्रत्येक देशको कला, संस्कृति तथा अन्य विविधतालाई एक–आपसमा साटासाट गर्ने उपयुक्त माध्यम बनिरहेको छ ।

एस्पेरान्तो भाषाको उत्पतिको विषयमा कुरा गरौं । सन् १८५९ को डिसेम्बर १५ मा तत्कालीन रुसी प्रान्त ब्यालिस्तोक (हाल पोल्याण्ड)मा जन्मेका डा. जामेनहोफले सन् १८८७ को जुलाई २३ मा रुसी भाषामा ‘डाक्टर एस्पेरान्तो’ भन्ने सानो पुस्तक लेखेर नयाँ तरङ्ग ल्याए । उनको जन्म भएको प्रान्तमा राजनीतिक अस्थिरताका कारण विभिन्न देशका बासिन्दा आएर बसेका थिए र तिनीहरूका बीच मुख्यतः भाषाकै कारण शत्रूता रहेको थियो । उनी बाल्यावस्थामै छँदा भाषाकै कारण उत्पन्न शत्रुता र हिंसाको परिस्थितिबाट वाक्कदिक्क भएका थिए र सन् १८७८ मा अन्तर्राष्ट्रिय भाषाको प्रारूप तयार गरेका थिए । तर, उनी विदेशमा अध्ययनका लागि गएका बेला छोराको कामलाई वाहियात भनेर जलाइदिए उनका बाबुले । उनी मस्को र वार्सामा चिकित्सा शास्त्र अध्ययन गर्न गए र सन् १८८५ मा डाक्टरको उपाधि हासिल गरे । त्यसपछि ६ वर्षको अबिरल खोज, अनुसन्धान र अथक परिश्रमको फलस्वरुप उनले कल्पना गरे जस्तो अन्तर्राष्ट्रिय भाषाको पूर्ण रूप तयार भयो ।

एस्पेरान्तोको शाब्दिक अर्थ आशावादी भन्ने हुन्छ । यस भाषाको संकेतको रूपमा पाँच कुने हरियो तारालाई लिइन्छ । हरियो रंगलाई आशाको प्रतीक मानिन्छ । एस्पेरान्तो सबैभन्दा व्यापकरूपमा प्रयोगमा आएको अप्राकृतिक भाषा हो जुन सजिलैसँग सिक्न सकिने तरिकाले बनाइएको छ । हालसम्म कुनै देशले पनि एस्पेरान्तोलाई आफ्नो आधिकारिक भाषा नबनाए पनि यो भाषाका प्रयोगकर्ताहरू ५० लाखसम्म भएको अनुमान छ । हाल यो भाषालाई अन्तर्राष्ट्रिय सञ्चार तथा भ्रमणको लागि ज्यादा प्रयोग गरेको पाइन्छ । एस्पेरान्तो भाषामा किताब तथा पत्रिका प्रकाशित हुने गर्दछन् । यस भाषाको विकासको लागि विभिन्न देशमा सम्मेलनहरू पनि हुने गर्दछन् ।

ती मध्ये सबभन्दा ठूलो बैठक हरेक वर्ष फरक फरक देशमा हुने ‘विश्व एस्पेरान्तो कंग्रेस’ हो । जसमा ६० भन्दा बढी देशबाट आएका दुई हजार बढी सहभागी हुन्छन् । एस्पेरान्तो भाषामा शब्द धेरै भाषाबाट आएका छन् । ती मध्ये प्रायःजसो ल्याटिन भाषा र अरू दक्षिण युरोपेली भाषाबाट आएका छन्, जसले गर्दा कुनै युरोपेली भाषा जानेको व्यक्तिलाई यो भाषा सिक्न निकै सजिलो पर्दछ । पहिलो विश्व सम्मेलन फ्रान्सको बुल्योनसुरमेर शहरमा सन् १९०५ मा सम्पन्न भयो, जसमा सात सय एस्पेरान्तो भाषीले भाग लिएका थिए । सन् १९०८ मा विश्व एस्पेरान्तो संघ स्थापना भएपछि यो भाषाको प्रचारले संस्थागत साथ पायो र आज संयुक्त राष्ट्रसंघ र युनेस्कोले समेत मान्यता दिएर यसको विकास तीव्रगतिमा भइरहेको छ । सयभन्दा बढी देशमा एस्पेरान्तो संघहरू यो भाषाको प्रचारका लागि क्रियाशील छन् ।
नेपालमा एस्पेरान्तो भाषाको प्रचलन सन् १९५६ मा टिबोर सिकेलले गरेका थिए । लक्ष्मीप्रसाद देवकोटा, बालकृष्ण सम लगायतले पनि यो भाषा सिकेका थिए । यसै ताका काठमाडौंमा एस्पेरान्तो संघको पनि गठन गरिएको थियो । अत्यन्त सरल तथा न्यूनतम् ब्याकरणात्मक नियमहरू प्रयोग गरी सिर्जना गरिएको यो भाषा स्पष्ट, अर्थपूर्ण र लचकदार छ । छोटो समयमा सामान्य बोलीचालीमा प्रयोग गर्न सकिने संसारको एकदमै सरल भाषाको रूपमा यो भाषालाई लिन सकिन्छ । अन्तर्राष्ट्रिय सहायक भाषाको रूपमा पहिचान बनाइसकेको यो भाषाले स्थानीय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म हरेक वर्ष सभासम्मेलन गर्दै व्यापार, पर्यटन, शिक्षा लगायतका क्षेत्रको विकासका लागि ठूलो भूमिका खेल्दै आएको छ । लगभग ३० वर्षको सुस्ततापछि सन् १९९० पछि नेपालमा यस भाषाको प्रचारले फेरि तीव्रता पाएको छ । मेची अञ्चलमा पनि सन् २०१४ देखि धीमा गतिमै भए पनि एस्पेरान्तो भाषाप्रतिको जिज्ञासा बढ्दै गएको छ र औंलामा गन्न सकिने भाषा बोल्न सक्ने भाषाका विद्यार्थीहरू यो भाषाको विकास र विस्तारमा लागीपरेका छन् । मेची एस्पेरान्तो सोसाइतो यसका लागि क्रियाशील छ ।

बोलिने भाषाको आधारमा जातीय दुश्मनी र ऐतिहासिक शत्रुतालाई बीचमा पर्खाल बनाएर बैमनश्यताको भावना समेत सृजना गर्ने हाम्रो परिपाटी रहिआएको छ । अंग्रेजी भाषाको बोलबाला भइरहेको आजको विश्वमा संसारमा अन्तर्राष्ट्रिय वैकल्पिक भाषाको रूपमा अन्य भाषालाई उभ्याउन खोज्नु असम्भव जस्तो लाग्छ । तर, अंग्रेजी बाहेक स्पेनिस, पोर्चुगिज, फ्रेञ्च, जर्मन, चिनियाँ, अरबी, हिन्दी, जापानी लगायतका भाषाहरू वैकल्पिक भाषाको रूपमा विकास भइरहेका छन् । यस्तै वैकल्पिक वैश्विक भाषाको रूपमा एस्पेरान्तो भाषालाई पनि लिन सकिन्छ । एस्पेरान्तो एउटा अन्तर्राष्ट्रिय भाषा हो । यो भाषा विश्वका सम्पूर्ण भाषा, धर्म, संस्कृति, भेषभुषा, जातजाति, लिङ्ग, राजनीति तथा समुदायको सम्मान गर्दछ । यसैकारण अमेरिका, चीन, भारत लगायत संसारका धेरैै देशमा यो भाषा निर्वाधरूपमा प्रयोगमा आइरहेको छ र यसको प्रचार भइरहेको छ । तसर्थ, वैकल्पिक वैश्विक भाषाको रूपमा एस्पेरान्तो भाषा नित्यनिरन्तर विकासको क्रममा छ र हरेक वर्ष यो भाषाका प्रयोगकर्ता बढिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here