दमक ।

दमक नगरपालिका वडा नम्बर ५का भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आइतवारबाट धनीपुर्जाको निस्सा वितरण शुरु गरिएको छ ।
स्थानीय ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको परिसरमा आयोजित कार्यक्रममा दमक नगर प्रमुख राम थापा, उपप्रमुख रेगिना भट्टराईसहितले वडाभित्र रहेका भूमिहीनहरुलाई धनीपूर्जा वितरण गरेका हुन् ।
दमक वडा नम्बर ५का वडाध्यक्ष इन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भूमिहीनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले गत मंसीर ४मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचारसंहिताका कारण निस्सा वितरण केही ढिलो भएको भन्दै अब निरन्तर प्रक्रियामा लगेर चाँडै नै वितरण गर्ने बताए ।
आफूहरु निर्वाचित भएर आएदेखि नै पहिलो प्राथमिकतामा राखेर भूमिहीनलाई धनीपूर्जा उपलब्ध गराउने काममा लागेको उनले बताए । कार्यक्रममा नगर उपप्रमुख भट्टराईले भूमिहीनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरु लागीपरेको बताइन् ।
उनले प्राप्त निवेदनका आधारमा छानविन गरेर चाँडै धनीपूर्जा वितरण कार्य समेत शुरु गर्ने उनले प्रतिबद्धता जनाइन् । त्यसैगरी स्थानीय समाजिक अगुवा शेरबहादुर भट्टराईले अहिलेको स्थानीय सरकारको नेतृत्व नगरको आधारभूत आवश्यकता पूर्ति गर्न केन्द्रित रहेको भन्दै प्रशंसा गरे ।
वडाभित्र हालसम्म दर्ता भएका २७५ जना भूमिहीनलाई निस्सा वितरण शुरु गरिएको वडा सदस्य ख्यामकुमारी परियार सरुले जानकारी दिइन् । निस्सा वितरण शुरु भएको भन्दै उनले आइतवार नपाएकाहरुलाई पनि वडा कार्यालयबाट निरन्तर वितरणको काम हुने बताइन् ।





























