सिक्किम ।

भारतको सिक्किमस्थित नाम्चीमा रहेको स्किल क्याम्पसको सभा हलमा जब नेपालको राष्ट्र गान सयौं थुँगा फुलका हामी एउटै माला नेपाली… भनेर घन्कियो । तब भारतमा भएको कसैले अनुभव नै गरेनन् । नेपालका शैक्षिक परामर्श संघका पदाधिकारी, सदस्य तथा त्यसमा आवद्ध नेपालीहरुको सहभागितामा भएको कार्यक्रममा नेपालको राष्ट्र गान बजाइएको हो ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाको चौथो वार्षिक साधारणसभामा सहभागि बन्न भारतको सिक्किम पुगेका व्यवसायीहरुले देशको उच्च सम्मान गर्दै राष्ट्र गान गाएर सभा शुरु गरेका थिए । नेपालको शैक्षिक क्षेत्रलाई अझ व्यापक बनाउन पनि साधारणसभा सफल भएको बताइएको छ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष मिलन ओलीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का कार्यबहाक अध्यक्ष देवीदास भट्टराईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का द्वितीय उपाध्यक्ष शेषराज भट्टराई, केन्द्रीय सदस्य पुष्पराज भट्टराई, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) सल्लाहकार खड्ग ताम्लिङ, इक्यान झापाका निर्वतमान अध्यक्ष सुमान शर्मा जमरकट्टेल, स्किल क्याम्पसकी अञ्जु प्रधान, जुनु राई लगायतको आतिथ्य रहेको थियो ।
शैक्षिक व्यवसायलाई व्यवस्थित गर्दै अगाडि बढ्ने उद्देश्यले गठन भएको इक्यानले परामर्श दाताहरुलाई एकतावद्ध बनाउदै लगेको छ । इक्यान झापाले शैक्षिक परामर्शको क्षेत्रमा राम्रो काम गरेको भन्दै प्रमुख अतिथि समेत रहेका कार्यवाहक अध्यक्ष देवीदास भट्टराईले प्रशंसा गरे । शैक्षिक परामर्श दातालाई गतल नजरले हेर्दा केही अप्ठ्याराहरु आए पनि पछिल्लो समय शैक्षिक परामर्शदाताहरुलाई हेर्ने नजरमा पनि परिर्वतन आएको भन्दै खुशी व्यक्त गरे । नेपालबाट विदेशका शैक्षिक संस्थामा अध्ययन गर्न जाने तथा पछिल्लो समयमा नेपालका विभिन्न विश्वविद्यालयहरुमा विदेशबाट पनि विद्यार्थीहरु अध्ययनका लागि आउन थालेकाले यो शैक्षिक क्षेत्रमा लागि सुखद् पक्ष भएको धारणा व्यक्त गरे ।
इक्यान द्वितीय उपाध्यक्ष शेषराज भट्टराईले इक्यान झापाले शैक्षिक क्षेत्रलाई व्यवस्थित गर्दै विद्यार्थी र अभिभवकको भावना अनुसार काम गरेको भन्दै खुशी व्यक्त गरे । उनले देशभरका शाखामध्ये झापा शाखा दोस्रो स्थानमा रहेको भन्दै बधाइ दिए । कार्यक्रममा इक्यानका केन्द्रिय सल्लाहकार खड्ग ताम्लिङले संस्थालाई व्यवस्थित र जिम्मेवार ढङ्गबाट अघि बढाएको भन्दै इक्यान झापाको प्रशंसा गरे ।

सभाले इक्यान झापाका सचिव राजकुमार कार्की र कोषाध्यक्ष अशोक भण्डारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन सर्वसम्मतले पारित भएको थियो । सभामा अध्यक्षलाई हरेक कार्यक्रममा उत्कृष्ट ढंगबाट सहयोग गरेको भन्दै इक्यान झापाका अध्यक्ष ओलीले कोषध्यक्ष भण्डारीलाई सम्मान गरे । निर्वतमान अध्यक्ष सुमन शर्मा जमरकट्टेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव राजकुमार कार्कीले गरेका थिए ।
उक्त अवसरमा नेपलबाट भारतमा अध्ययनका लागि जाने विद्यार्थीलाई आवश्यक सहयोग गर्ने र भारतको सिक्किम स्थित स्किल क्याम्पसले पनि नेपाल अध्ययनका लागि आउने विद्यार्थीका लागि नेपालका शैक्षिक परामर्श दाताहरुसंग सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् ।





























