छविराज ढकाल/ पथरीशनिश्चरे,

मोरङको बेलबारी -४ स्थित निर्माणधीन अवस्थाको नगरअस्पताल निर्माणका क्रममा निर्माण सामाग्री कमसल प्रयोग भएको भन्दै जनगुनासो बढेपछि निर्माण कार्य स्थगन भएको छ ।
१५ शैय्या रहने अस्पतालको भवन निर्माणका क्रममा इन्जिनियरिङ स्टिमेन्ट भन्दा भिन्नै सामान लगाएको र कमसल सामाग्री प्रयोग भएको जनगुनासो बढेसंगै निर्माण कार्य स्थगन गर्नुपरेको बेलवारी नगरकी उपप्रमुख नितु थापा (कोईराला) ले बताउनुभयो । उहांले अस्पतालको निरीक्षणका सिलसिलामा ‘एउटा सिमेन्ट प्रयोग गर्ने’ भनेर अर्कै सिमेन्ट प्रयोग गरिएको र म्याद गुज्रिएको सामाग्री प्रयोग गरिएको पाईएपछि निर्माण कार्यमा रोक लगाएको जनाउनु भएको थियो ।
करिब एक महिना अघि समेत एउटा ईटा भनेर अर्कै ईटा प्रयोग गरेको पाईएपछि नगरप्रमुख दिलप्रसाद राईले निर्माण कार्य रोकेका थिए । अस्पतालको नवनिर्मित भवनको निर्माणका क्रममा कमसल सामाग्री प्रयोग गरिएको भन्दै अब अघिदेखि नै स्थानीयले पटक पटक खबरदारी गर्दै आएका हुन ।
हाल ११ करोड रुपैयाँ बराबरको लागतमा उक्त अस्पतालको भवन निर्माण भैरहेको बेलबारी नगरपालिका प्रशासन प्रमुख महेन्द्र खड्काले बताएका छन् । सोहि विषयलाई लिएर नगरपालिकाका ईन्जिनियर बालकृष्ण निरौलाले कमसल सामाग्री प्रयोग भएकोले काम रोकिएको र ओपिसी सिमन्टको ठाँउमा पिएससी सिमेन्ट प्रयोग गरिएपछि सोही सिमेन्ट फिर्ता गरी सम्झौता बमोजिमको सिमेन्ट प्रयोग गर्न ठेकेदार कम्पनी श्रृंखला निर्माण सेवा नुवाकोटलाई निर्देशन दिइएको बताएका छन् ।






























