सर्लाहीका किसानलाई तरुल खन्न चटारो

0
128

सर्लाही,

सर्लाहीका विभिन्न क्षेत्रका किसानलाई माघे सङ्क्रान्ति नजिकिएसँगै तरुल खन्ने चटारो बढेको छ । जिल्लाको शङ्करपुर, राजघाट, हजरिया, बरहथवा, जिरायत, कर्मैया हजरियालगायतका क्षेत्रमा व्यावसायिकरूपमा तरुल खेती हुने गरेको छ । माघे सङ्क्रान्ति नजिकिएसँगै उनीहरुलाई चटारो बढेको हो । ती क्षेत्रका किसानले तरुल बिक्रीबाट बर्सेनि मनग्य आम्दानी गर्दै आएका छन् ।

बागमती नगरपालिका–५ राजघाट टेकानीका जगतबहादुर खुलाल मगरले यस वर्ष करिब एक बिघा क्षेत्रफलमा तरुल खेती लगाउनुभएको छ । उहाँले गत वर्ष करिब रु तीन लाख ५० हजारको तरुल बिक्री गर्नुभएको थियो । अन्य खेतीका तुलनामा तरुल खेतीमा मेहेनत र खर्च कम फाइदा बढी हुने भएकाले १५ वर्षदेखि खेती गर्दै आएको उहाँले सुनाउनुभयो ।

यस वर्ष खेतबाटै व्यापारीले प्रतिकिलो रु एक सय १० मा तरुल खरिद गरेको बागमती–६ का किसान यमकुमार मगरले बताउनुभयो । उहाँका अनुसार तरुल लिन व्यापारी किसानका खेतमै पुगेका छन् । लामो समयदेखि तरुल खेती गर्दै आउनुभएका यामकुमारले यस वर्ष करिब १६ कट्ठा जमिनमा तरुल खेती गर्नुभएको छ ।

उहाँले व्यापारीलाई प्रतिकिलो रु एक सय १० का दरले खेतैमा र काठमाडौँ पु¥याएर प्रतिकिलो रु दुई सय २० मा तरुल बेच्नुभएको छ । खर्च कटाएर कट्ठाको रु करिब एक लाख आम्दानी भएको उहाँले बताउनुभयो । तरुल खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउने र घरव्यवहार चलाउन पुगेको उहाँको भनाइ छ ।

यहाँको तरुल स्वादिलो हुने भएकाले काठमाडौँलगायत देशका मुख्य ठूला सहरबाट अत्यधिक माग आइरहेको बागमती–८ का व्यापारी नुनुबाबु पण्डितले जानकारी दिनुभयो । यस क्षेत्रका किसानले पताले, झुसे, जाँते र रातो तरुल धेरै मात्रामा लगाउने गरेका छन् । तरुल खेती गर्न बलौटे तथा दोमट माटो उपयुक्त हुने किसानको भनाइ छ । बीउ, खनजोत, मलखाद र गोडमेलसमेत गरेर प्रतिकट्ठा करिब रु छ हजार लगानी हुने अर्का किसान रामबहादुर मगरले बताउनुभयो ।

उहाँका अनुसार राम्रो उत्पादन हुँदा तरुल प्रतिकट्ठा करिब आठ क्विन्टलसम्म उत्पादन हुने गरेको छ । जिल्लामा मात्र यस वर्ष करिब तीन सय हेक्टर क्षेत्रफलमा तरुल खेती भएको कृषि ज्ञान केन्द्र मलङ्गवाका प्रमुख कमलदेवप्रसाद कुशवाहले बताउनुभयो । उहाँका अनुसार समय तथा मेहेनत पनि कम लाग्ने र सिँचाइ नभए पनि तरुल खेती राम्रो हुने भएकाले जिल्लाका किसान तरुल खेतीतर्फ बढी आकर्षित हुने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here