चीनसँगको सीमामा भारतले बढायो सैनिक

0
196

चीन,

भारतीय विदेशमन्त्री एस जयशंकरले चीनसँगको विवादित सीमा क्षेत्रमा परिचालित भारतीय सैनिकको संख्या बढाएर हालसम्मकै धेरै पु¥याइएको बताएका छन ।भारतले चीन एक्लैलाई ‘सीमाको हालको यथास्थितिमा परिवर्तन ल्याउन नदिने’ विदेशमन्त्री जयशंकरको भनाइ छ ।

अरुणाचलस्थित सीमा क्षेत्र तवाङमा दुई देशका सैनिकबीच गतसाता भएको झडपपछि भारतीय विदेशमन्त्रीले सैन्य उपस्थिति बढाएको बताएका हुन । ‘हामीले चीनसँगको सीमा क्षेत्रमा अभूतपूर्व संख्यामा भारतीय सैनिकहरू परिचालित गरेका छौं,’ जयशंकरले भनेका छन्, ‘चिनियाँ उग्रताको प्रतिवाद गर्न यो निर्णय लिएका हौं ।’

भारत र चीनका सेनाबीच गत डिसेम्बर ९ मा अरुणाचलस्थित सीमा क्षेत्रमा सैन्य झडप भएको हो । झडपमा केही भारतीय सैनिक घाइते भएको जनाइएको छ । मानवीय क्षति नभए पनि दुई देशबीच वर्षौंदेखि जारी तनाव थप चर्केको छ ।

चिनियाँ सैनिकहरूले सीमामा अतिक्रमण सुरु गरेपछि प्रतिवाद गरिएको भारतीय पक्षको दाबी छ । घटनापछि चिनियाँ सेनाका वेस्टर्न थिएटर कमान्डका प्रवक्ताले भने अवैध रूपमा सीमा पार गरेका भारतीय सैनिक चिनियाँ सैनिकसामु आएपछि तनाव उत्पन्न भएको बताएका थिए । तवाङ घटनापछि चिनियाँ विदेश मन्त्रालयले झडप भएको सीमा क्षेत्र हाल शान्त रहेको र शान्ति कायम राख्ने विषयमा दुवै पक्षबीच छलफल चलिरहेको जनाएको छ ।

घटनापछि भारत र चीनबीच सीमा विवाद तनावपूर्ण छ । दुवैतर्फको सीमा क्षेत्रमा सैन्य तैनाथी बढाउँदै लगिएको र सीमा क्षेत्रमा भौतिक पूर्वाधार निर्माण कार्य तथा सैन्य हतियार तथा उपकरणको संख्या थप गरिएको जनाइएको छ ।

दुई देशका सैनिकहरूबीच गत वर्षको जनवरीमा पनि भुटाननजिकैको सीमा क्षेत्रमा झडप हुँदा केही सैनिक घाइते भएका थिए । गत वर्षकै सेप्टेम्बरमा पनि भारतीय सैनिकले सीमामा गोली चलाएको चीनले आरोप लगाएको थियो । दुई देशबीच सन् १९६२ मा सीमा विवादका कारण युद्ध भएको थियो । उक्त युद्धमा भारतले हार बेहोरेको थियो ।

लद्दाखको झडपपछि १६ चरणमा वार्ता भइसकेका छन् तर समस्या भने समाधान हुन सकेको छैन । समस्या समाधान भइरहेका बेला गत साता पुनः दुई देशका सेना आमनेसामने भएपछि घटनाले भारतको आन्तरिक राजनीतिसमेत तातेको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार भाजपा नेतृत्वको सरकारले घटनालाई लुकाउन खोजेको भन्दै विपक्षी दलहरूले सोमबार भारतीय संसद्का दुवै सदन अवरुद्ध पारेका छन।

सीमाको अवस्थाबारे संसदमा तत्काल छलफल गर्नुपर्ने माग अस्वीकृत भएपछि प्रतिपक्षी दलहरूले संसद् बहिष्कार गरेका हुन । विपक्षी दल कंग्रेसका नेता राहुल गान्धीले चीनबाट हुन सक्ने खतरालाई सरकारले बेवास्ता गरेको आरोप लगाएका छन । भारत र चीनबीचको विवादित सीमा क्षेत्रलाई एलएसी (लाइन अफ एक्चुअल कन्ट्रोल) भनिन्छ ।

एलएसीमा सीमा विभाजन स्पष्ट नरहेका कारण दुवै देशका सैनिकबीच कतिपय अवस्थामा झडपको अवस्था उत्पन्न हुने गरेको छ । दुई देशबीचको ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा क्षेत्रमा विवाद भइरहनुको मुख्य कारण पनि सिमाना प्रस्ट नहुनु नै हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here