विनोद सापकोटा,
झापा ।

झापाको शिबसताक्षी नगरपालिका–१० टेक्रा स्थित कनकाई नदीको पूर्वी तटिय क्षेत्रको कासघाँरीमा बिहीबार एक अधबैसे पुरुषको शव फेला परेको थियो । मृतक कन्काई नगरपालिका–४ बस्ने बर्ष ५५ को पदमलाल बाँस्तोला भएको खुलेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनायो ।
प्रहरीले मृतकको टाउको र अनुहारमा घरेलु हतियार प्रयोग भएको थाहा पाएपछि अनुसन्धानलाई शुक्ष्म रुपमा अघि बढाएको थियो । बाँस्तोला कनकाईको बगरमा भाइ बुहारी संग घाँस काट्न आएका थिए । उनिहरुको घर र कनकाईको काँसघारी ५ सय मिटर मात्र दुरीमा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि भन्दै मृतककी भाई बुहारी रनमाया बाँस्तोलालाई नियन्त्रणमा लियो र केरकार गर्न सुरु गर्यो । उनले जेठाजुको हत्या आफैले गरेको बयान प्रहरीलाई दिइन् । ‘घर पालुवा चौपायालाई घाँस काट्न जेठाजु संगै गएकी थिए । १० मुठा जति घाँस काटेपछि जेठाजुले अनैतिक व्यवहार गर्नुभयो । प्रतिकार गर्ने क्रममा घाँस काट्ने हसिँयाले जुठाजुको हत्या गरिदिए,’उनले प्रहरीलाई अनुसन्धानका क्रममा भनेकी छन् ।
प्रहरीले हत्या गर्न प्रयोग गरेको हँसिया समेत बरामद गरेको छ । आफूमाथि जबरजस्ती करणी गर्ने प्रयास गरेपछि उनले हत्या गरेको स्वीकारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।





























