ॐ नमः शिवाय सहकारीको मुनाफा साढे १३ लाख

0
128

बिर्तामोड ।

ॐ नमः शिवाय बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिर्तामोड–५ को १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भरतलाल गिरीको अध्यक्षता तथा नेपाल दशनामी समाजका ज्येष्ठ सदस्य माथुराम गिरीको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो ।

नेपाल दशनामी समाजको भवनमा आयोजित सभामा संस्थाको भावी रणनीति र आर्थिक वर्ष ०७८–०७९ मा संस्थाको प्रगति विवरण अध्यक्ष गिरीले प्रस्तुत गरेका थिए । संस्थाले शेयर बिक्री १४ लाख पाँच हजार चार सय गरेको र शेयर फिर्ता सात लाख ६९ हजार चार सय गरी एक करोड ९६ लाख पाँच हजार रुपैयाँ शेयर कायम गरेको बताइएको छ ।

संस्थाको निक्षेप दुई करोड ५५ लाख ९४ हजार सात सय ४४ रुपैयाँ ६५ पैसा रहेको र निक्षेप फिर्ता दुई करोड ४९ लाख ९३ हजार तीन सय ६९ रुपैयाँ ५३ पैसा गरी बाँकी रकम एक करोड १८ लाख ८० हजार एक सय २९ रुपैयाँ ९१ पैसा निक्षेप कायम रहेको साधारणसभामा वितरित प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले दुई करोड ९७ लाख ६८ हजार आठ सय ४४ रुपैयाँ कर्जा लगानी गरेको कार्यक्रममा जानकारी दिइयो । शेयरको तुलनामा निक्षेप कम भएको तथा गत वर्षको निक्षेपमा २५ प्रतिशत वृद्धि नभएकाले वृद्धि गर्न लेखा सुपरी वेक्षण समितिको सुझावसहितको प्रतिवेदन सार्वजनिक गरिएको छ । संस्थाको नाफा १३ लाख ६४ हजार ७५ रुपैयाँ ९६ पैसा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष गिरीका अनुसार संस्थाले जम्मा आम्दानी ४१ लाख ६९ हजार एक सय ५९ रुपैयाँ १० पैसा गरे पनि खुद नाफा १३ लाख गरेको हो । संस्थाले शेयर लाभांश वितरण गर्ने, दशकर्म खर्च कोष तथा प्राकृतिक विपद् कोष सञ्चालन, छात्रवृत्ति वितरण, कर्जा बिमा, सहकारी शिक्षा कार्यक्रम, सहकारी अवलोकन भ्रमण, वृद्धवृद्धा सम्मान, सदस्य उपचार कोष लगायतका कार्यक्रमलाई अघि बढाएको छ ।

संस्थाले दैनिक बचतदेखि १२ महिने क्रमिक बचत, १८ महिने क्रमिक बचत, १६ महिने क्रमिक बचत, ४२ महिने, ६० महिने, ६६ महिने र १० वर्षे क्रमिक बचतका कार्यक्रम अघि सारेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले सेवाकेन्द्र विस्तारलाई समेत अघि बढाएको छ । हाल हल्दिबारी गाउँपालिकामा मात्रै सेवा विस्तार गरेको संस्थाले संस्थाको कारोबारलाई वृहत्तर गर्दै लाने र छिटो–छरितो कारोबार गर्ने उद्देश्यले यस वर्ष तीन ठाउँमा सेवाकेन्द्र थप गर्ने प्रस्ताव अघि सारेको छ ।

कार्यक्रममा गोविन्दविक्रम गिरी, डम्बर बन, चन्द्र गिरी, लबकुश गिरी, तिलक गिरी, रुद्रप्रसाद गिरी, केदार गिरी, पदमबहादुर पुरी, बालकृष्ण गिरी, सुशीला गिरी लगायतको आतिथ्य रहेको थियो । उपाध्यक्ष खिलबहादुर गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव शंकर गिरी र कोषाध्यक्ष खड्ग गिरीले गरेका थिए ।

कार्यक्रममा लेखा प्रतिवेदन गणेश गिरीले र संस्थाको बित्तीय अवस्था तथा नीति तथा कार्यक्रम सचिव शंकर गिरीले प्रस्तुत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here