प्रदेश १ मुख्यमन्त्रीका लागि नेताको दौडधुप

0
121

झापा ।

पुस ११ गते प्रदेश १ का नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गर्ने भएका छन् । सांसदको शपथको मिति टुंगो लागेसँगै दलहरू संसदीय दलको नेता छान्ने गृहकार्यमा लागेका छन् । कतिपय दलले शपथ अगावै त कतिपयले शपथ कार्यक्रमपछि दलको नेता छान्ने तयारी गरिरहेका छन् ।

केन्द्रको समीकरण र निर्देशन कुरेर बसेका प्रदेशस्थित दलहरूले पनि पुस ११ भित्रै दलको नेता चयन गर्ने तयारी थालेका हुन् । नेपाली कांग्रेस प्रदेश १ की सहमहामन्त्री प्रमिला गच्छदारले प्रदेशसभा सदस्यको शपथअगावै दलको नेता चयन गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिइन् । उनले नेता चयनका लागि आइतबार कांग्रेसको प्रदेश संसदीय दलको बैठक बस्ने बताइन् ।

‘नेताका लागि आकांक्षी धेरै हुनुहुन्छ, सकेसम्म सहमतिका आधारमा नेता छान्ने प्रयास हुनेछ– सहमहामन्त्री गच्छदारले भनिन्, –सहमति भएन भने निर्वाचनबाट दलको नेता टुंग्याइनेछ । कांग्रेसमा दलको नेता बन्न पाँचजना आकांक्षी छन् । गठबन्धनमा सबैभन्दा ठूलो दल भएका कारण पनि प्रदेशको नेतृत्व पाइने आशामा कांग्रेसभित्र दलको नेताका लागि प्रतिस्पर्धा बढी छ ।

कांग्रेसका प्रदेश सभापति उद्धव थापा, केन्द्रीय सदस्यहरू अमृत अर्याल र भीम पराजुली तथा हालका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की दलको नेता बन्ने दौडमा छन् । कार्की शेखर कोइराला पक्षका हुन् भने थापा, अर्याल र पराजुली संस्थापन पक्षका हुन् । प्रदेश सभापति थापा कृष्णप्रसाद सिटौला समूहका हुन् । सिटौला संस्थापन पक्षमा लागेसँगै उनी पनि सोही समूहमा उभिएका झापाली नेता हुन् । प्रदेश १ मा कांग्रेससँग प्रत्यक्ष १७ र समानुपातिक १२ गरेर २९ जना सांसद छन् ।

कांग्रेसभित्र दलको नेताका आकांक्षी धेरै भएका कारण पनि निर्वाचनबाटै त्यसको छिनोफानो हुने सम्भावना बढी छ । कांग्रेस प्रदेश १ मा संस्थापन पक्षका १२, कोइराला पक्षका ८ र सिटौला समूहका ९ जना सांसद छन् । यसरी हेर्दा सिटौलासहितको संस्थापन पक्ष प्रदेशमा बलियो देखिन्छ ।

आफ्नै नेतृत्वमा प्रदेश सरकार गठन गर्ने कसरतमा लागेका दलहरू मुख्यमन्त्रीको बाटो खुला गर्न पनि संसदीय दलको नेताको टुंगो चाँडै लगाउनुपर्ने दबाबमा छन् । प्रदेश १ मा गठबन्धन र गठबन्धनबाहिर रहेको एमालेबीच सरकारको नेतृत्व लिने होड छ । तर केन्द्रमा सरकार गठनबारे सहमति भइनसकेकाले यी दल पर्ख र हेरको स्थितिमा देखिएका छन् ।

त्यसैगरी प्रदेश १ संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेले पुस १० भित्रै संसदीय दलको नेता छान्ने तयारीसहित गृहकार्य गरिरहेको नेताहरूले बताएका छन् । ठूलो दलको हैसियतमा आफ्नो नेतृत्वमा सरकार निर्माण गर्न उसले साना दलहरूको साथका लागि उनीहरूसँगका संवाद र छलफललाई एकसाथ अघि बढाएको छ ।

२५ जना प्रत्यक्ष र १५ जना समानुपातिक गरी प्रदेश १ मा एमालेका ४० सांसद छन् । एमालेमा यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रीको जिम्मेवारी सम्हालिसकेका अध्यक्ष केपी ओलीनिकट हिक्मत कार्की दलको नेताको बलियो दाबेदार हुन् ।

पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका उनलाई दलभित्र चुनौति दिन अहिलेसम्म कोही खुलेका छैनन् । हिजो १० बुँदे समझदारी गरेर आएकाहरू ज्यादै न्यून भएका कारण पनि एमालेभित्र दलको नेतामा प्रतिस्पर्धा हुने सम्भावना निकै कम छ ।

दलको नेता चयनमा पार्टीभित्र खासै सकस छैन–एमाले प्रदेश समितिका सहइञ्चार्ज विनोद ढकालले भने–पूर्व प्रदेशमन्त्री अहिलेसम्म एक्लो आकांक्षी रहेका कारण पनि हामी दुई दिनभित्र दलको नेताको टुंगो लगाउँछौँ । दलको नेतामा कार्की नै सर्वसम्मत हुने अवस्था रहेको ढकालको भनाइ छ ।

प्रदेशसभाको तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने प्रदेशसभा सदस्यहरूको शपथपछि मात्रै दलको नेता छान्ने भएको छ । उसले केन्द्रमा पनि प्रतिनिधिसभा सदस्यहरूको शपथपछि मात्रै नेता चयन गरेको थियो । प्रत्यक्ष ९ र समानुपातिक ४ गरी १३ सदस्य रहेको माओवादी संसदीय दलभित्र अहिलेसम्म वर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बो र दुर्गा चापागाईंँले दलको नेतामा दाबी गरेका छन् ।

शुरुका तीन वर्ष र राजेन्द्र राई नेतृत्वको सरकार बनेयता लगातार आर्थिक मामिलामन्त्री रहेका उनी पार्टीका सबैभन्दा वरिष्ठ नेतासमेत भएकाले उनी नै नेता चुनिने माओवादी नेताहरू बताउँछन् । तेह्रथुम प्रदेशसभा २ बाट निर्वाचित चापागाईंँले दलको नेतामा दाबी गरे पनि उनले गठबन्धनको नेतृत्वमा सरकार गठन भएमा मन्त्री पदका लागि मात्र ‘मोलमोलाइ’ गरेको नेताहरू बताउँछन् ।

९३ सदस्यीय प्रदेशसभामा सरकार बनाउन एक मात्र सांसद (निर्मला लिम्बू) भएको जसपा निर्णायक हुने अवस्था छ । तर उसले यस विषयमा अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन । यसरी केन्द्रीय समीकरणको बाटो हेरेर बसेका कारण पनि प्रदेशमा दलहरूले दलको नेता चयनमा ढिलाइ गरेका हुन् । अरू दलले पनि एकजना मात्र आकांक्षी रहेकाले अबको दुई दिनभित्र दलको नेता छान्ने तयारी भइरहेको बताइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here