पाँच सयको फारमलाई एक हजार !

१४ पुष २०७९, बिहीबार मा प्रकाशित

बिनोद सापकोटा,
शिवसताक्षी ।

झापाको शिवसताक्षी–४को त्रिभुवन माध्यमिक विद्यालयले विद्यार्थीबाट अबैध शुल्क असुल गरेको आरोप लागेको छ ।

०७९को एसईई परीक्षा दिन तयार बिद्यार्थीबाट विद्यालय प्रशासनले गैह्रकानूनी शुल्क असुल गरेको आरोप लागेको हो । विद्यालयले असुल गरेको रकमको रसिद समेत नदिएको बताइएको छ । विद्यार्थीले रसिद माग गर्दा भोलि दिने भन्दै पन्छाएको एक बिद्यार्थीले बताए । ती बिद्यार्थीले भने– एसईई परीक्षाको लागि फारम भर्नुपर्छ, फारममा ५ सय रुपैयाँ लेख्न लगाएर हेडसरले १ हजार असुल गर्नुभयो ।

हामीले दिएको अतिरिक्त ५ सयका विषयमा प्रधान अध्यापकको कार्यकक्षमा पुगेर जिज्ञासा राख्यौँ । हेडसरले तिमीहरुले भरेको फारम विद्यालयदेखि चन्द्रगढीस्थित जिल्ला शिक्षा समन्वय इकाई कार्यालय लैजाने खर्चका लागि लिएको हो भन्नुभयो– उनले भने । एसईईको फारम भर्ने सो विद्यालयमा ४६ जना बिद्यार्थी रहेको बताइएको छ ।

कतिपय बिद्यार्थीले एक हजार बुझाउन नसक्दा फारम भरेका छैनन् । ‘सरले १ हजार नबुझाए फारम भर्न पाइँदैन भन्नुभएको छ’– ती बिद्यार्थीले भने । विद्यालयले ८ वर्षदेखि १ हजार असुल गर्दै आएको प्रधानाध्यापक नारायणप्रसाद चापागाँईको भनाइ उद्धृ्रत गर्दे शिवसताक्षी नगरपालिकाको शिक्षा शाखा प्रमुख छलि ढकालले बताए । उनले भने– ८ वर्ष अघिको विद्यालय व्यवस्थापन समितिले गरेको निर्णय अनुसार रकम असुल गरिएको हो । ८ वर्ष अघिको विद्यालय व्यवस्थापन समिति अहिले छैन । ५ महिना अघि मात्र स्थानीय महेश्वर दुलाल अध्यक्ष रहेको विद्यालय व्यवस्थापन समिति गठन भएको छ ।

त्रिभुवन माध्यमिक विद्यालयका विद्यार्थीले सञ्चारकर्मीसंग आफूहरुले अतिरिक्त शुल्क बुझाउनु परेको सुनाएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षसँग जिज्ञासा गरिएको थियो । बिद्यार्थीले अतिरिक्त शुल्क बुझाउनु नपर्ने उनले बताएका थिए । तर, केही समयपछि आफ्नो भनाइ सच्याउँदै अध्यक्ष दुलालले भने– ‘८ वर्ष अघिको निर्णय अनुसार त्यही बेलादेखि एक हजार लिने गरिएको छ ।’

जिल्ला शिक्षा समन्वय इकाई कार्यालय झापाले पनि ५ सय रुपैयाँ एसईईको फारम भर्दा बुझाउनु पर्ने जनाएको छ । तर, अतिरिक्त शुल्कका बारेमा जानकारी नरहेको शिक्षा समन्वय अधिकारीले बताए । विद्यार्थीबाट अन्य शीर्षकमा शुल्क असुले प्रधानाध्यापक वा विद्यालय प्रशासकलाई कार्वाही हुने कार्यालयले जनाएको छ ।

झापाका सामुदायिक विद्यालयले थुप्रै शीर्षकमा शुल्क उठाइने गरेका छन् । विद्यार्थी भर्ना, परीक्षा शुल्क, मासिक शुल्क समेत उठाउने गरेका छन् । कतिपय विद्यालयले शीर्षकान्तर गरेर पनि शुल्क असुल्ने गरेका छन् । यी शीर्षकलाई विद्यालय प्रसाशनले अन्य भनेर असुलेका छन् । संस्थागत विद्यालयमा पनि एसईईको फारम बिद्यार्थीले भरेका छन् । तर, संस्थागत विद्यालयमा एसईईको परीक्षा दस्तुर बिद्यार्थीले पाँच सय मात्र बुझाउने गरेका छन् ।

नेपालको संविधान–२०२८ सालमा जारी भएको शिक्षा ऐन तथा नियमावली र अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐनले सामुदायिक विद्यालयलाई शुल्क उठाउन छुट दिएको छैन । मुलुक संघीय संरचनामा गइसके पनि नयाँ संघीय (केन्द्रीय) शिक्षा ऐन आउन नसकेकोले अझै पनि २०२८ सालकै ऐन र नियमावली कार्यान्वयनमा छ, सो खारेज भइसकेको अवस्था छैन ।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ मा सार्वजनिक विद्यालयले माध्यमिक तहसम्मको शिक्षामा विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क र पाठ्यपुस्तक वापतको रकम उठाउन नपाउने स्पष्ट व्यवस्था छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here