रेल चलाउन नेपाली जनशक्ति नभएपछि भारतीयको समय थप

0
172

काठमाडौँ,

नेपाली जनशक्ति तयार नभएपछि जनकपुर, कुर्थादेखि भारतको जयनगरसम्म रेल संचालनका लागि भारतीय रेल्वे कम्पनी कोंकणको म्याद एक महिना थप गरिएको छ । नेपाल रेलवे कम्पनीले २०७८ पुसमा एक वर्षका लागि भन्दै कोंकणसँग प्राविधिक कर्मचारी उपलब्ध गराउन सम्झौता गरेको थियो । सम्झौता अनुसार २६ जना प्राविधिक कर्मचारी ल्याएर जनकपुर–जयनगरमा रेल सञ्चालन गरिएको हो ।

तर एक वर्ष पूरा हुँदा पनि नेपाली जनशक्ति तयार नभएपछि भारतीय कम्पनीका कर्मचारीलाई नै निरन्तरता दिनुपरेको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार नेपाली जनशक्ति तयार गर्नका लागि चार वटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएपनि पदपूर्ति हुन सकेन । ‘चारवटा पदका लागि १० जना कर्मचारी माग गर्दै विज्ञापन गरिएको थियो, मागअनुसारका पदमा आवेदन परेको छैन,’ झाले भने, ‘४ लोको पाइलट, ४ स्टेसन मास्टर, १ ट्रयाक इन्जिनियर र १ इयर कन्डिसनरका लागि विज्ञापन खुलाइएकोमा इयर कन्डिसनरका लागि ३ जना र लोको पाइलटमा १ जनाको मात्रै आवेदन परेको छ ।’

कर्मचारी भर्ना प्रक्रिया नटुंगिएकाले तत्काललाई कोंकणकै प्राविधिक टिमबाट रेल चलाइने उनले बताए । सुरुमा कोंकणबाट २६ जना प्राविधिक कर्मचारी ल्याइएको थियो । जसमध्ये केही कर्मचारी फिर्ता पठाई सकिएको छ । ‘१२ जना मात्रै प्राविधिक कर्मचारी राख्ने तयारीमा छौं,’ उनले भने । तीन महिनाभित्र भारतीय रेलवेबाट केही नेपाली लोको पाइलटले अवकास पाउने सूचना पाइएकाले उनीहरुलाई नै यहाँ अवसर दिने तयारी रहेको उनले बताए ।

‘ती अवकास पाउन लागेका लोको पाइलटलाई सम्पर्क गरिरहेका छौं, उनीहरुले काम गर्ने इच्छा व्यक्त गरे नेपाली प्राविधिक कर्मचारी राख्दै लगिने र भारतीय कर्मचारीलाई विस्तारै विदा गर्दै जाने छौं’ उनले भने । अहिले रेल जयनगरदेखि जनकपुरको कुर्थासम्म ३५ किलोमिटर दूरीसम्म सञ्चालनमा छ । धनुषाको ग्रामीण भेगलाई मध्यनजर गर्दै रेल सेवा सञ्चालनमा ल्याइएको महाप्रबन्धक झाले बताए । नेपालतर्फ थप १७ किलोमिटर अर्थात् बिजलपुरासम्म रेल चलाउनेगरी तयारी भइरहेको छ ।

‘दुईसाता भित्र भारतीय पक्षले निर्माण गरेको भौतिक संरचना हस्तान्तरण गर्ने छन्,’ झाले भने, ‘संरचना हस्तान्तरण भएको एक महिनाभित्र उक्त खण्डमा रेल सञ्चालनमा आउने छ ।’ रेल २०७८ चैत १९ बाट सञ्चालनमा आएको हो । जनकपुर–जयनगर ७० र कुर्था–जयनगर ९० रुपैयाँ भाडा कायम गरिएको छ । एसी सिटका लागि भने जनकपुर–जयनगर ३५० र कुर्था–जयनगर ४५० रुपैयाँ भाडा कायम गरिएको छ । दुईवटा रेलसेट २०७७ असोजमा भारतबाट ल्याइए पनि पूर्व तयारी नहुँदा रेल सञ्चालनमा ढिलाई भएको थियो । ईकान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here