सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा

१९ पुष २०७९, मंगलवार मा प्रकाशित

दमक,

झापाको दमक–१० सेतुमारीमा एक दशकअघिबाट सुरु गरिएको सेतुमारी बजारको अस्तित्व नै सङ्कटमा पर्दै गएको छ । स्थानीय कृषि उत्पादनको सहज बजारीकरण गर्ने उद्देश्यले विसं २०६७ बाट बजार सञ्चालनमा ल्याइएको थियो ।

आफ्नै उत्पादन आफ्नै बजारको अवधारणाअनुरुप सेतुमारीमा बजार सञ्चालन गर्ने सोचले बजारको अवधारणा अघि बढाइएको भए पनि बजारले नियमितता नपाउँदा बजारस्थल बेवारिसे बन्न पुगेको दमक–१० पूर्ववडाध्यक्ष बोधराज न्यौपानेले बताउनुभयो । हरेक हप्ताको मङ्गलबार लाग्ने गरी बजारको सुरुआत गरेको भए पनि त्यस कार्यले निरन्तरता पाउन नसक्नु सिङ्गो १० नं वडाकै लागि दुर्भाग्य भएको उहाँको भनाइ छ ।

सेतुमारी बजारमा साप्ताहिक पशु हाटसमेत लाग्ने गरेको स्थानीयवासी बताउँछन् । सो स्थानमा बजार सञ्चालनका लागि स्थानीय दाताले नौ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए । विशेष कारण केही समयपछि बजार सञ्चालन आउन नसक्दा त्यसैको निरन्तरस्वरुप एक दशक लामो समय बितिसक्दा पनि अहिलेसम्म यस स्थानमा पुनः बजार लाग्न सकिरहेको छैन । सेतुमारी बजार सञ्चालनमा आउँदा खुसी बनेका यस क्षेत्रका सर्वसाधारणको त्यो खुसी बजार बन्द भएसँगै अहिले निराशामा परिणत भएको छ ।

स्थानीयस्तरमा नै बजार सञ्चालनमा आउला र गाउँघरमा उत्पादित कृषि उपजले सहज बजार पाउला भन्ने आशा गरेका थियौँ तर व्यवहारमा सो कुरा हुन नसक्नु दुःखद् भएको जग्गादाता मध्येका देवेन्द्र श्रेष्ठले गुनासो गर्नुहुन्छ । “हामीले आज बजारको अवस्था यस्तो होला भन्नेसम्मको कल्पना पनि गरेका थिएनौँ तर दुर्भाग्य नै भन्नुपर्छ आज सेतुमारी बजारको अतित्वनै नामेटजस्तै हुँदैछ”, उहाँले दुःखेसो पोख्नुभयो ।

यहाँका श्रेष्ठ परिवारले बजार सञ्चालनका लागि निःशुल्क लाखौँ मूल्यको जग्गा उपलब्ध गराएका थियौँ, तर सम्बन्धित सरोकारवाला र सथानीयवासीले चासो र चिन्ता नराखिदिँदा बजारमा निर्माण भएका लाखाँै मूल्यका पसल कवल पनि प्रयोगविहीन बनिरहँदा राज्यकोषको लाखौँ बजेट दुरुपयोगजस्तै बनेको उहाँले गुनासो गर्नुभयो ।

आरआरएनएले निर्माण गरिएको एउटा पसल कवल रहेको छ । त्यसैगरी दमक नगरपालिकाले अघिल्लो आर्थिक वर्षमा रु ५० लाख बढी लगानीमा सटरसहितका दुईवटा पसल कवलको निर्माण गरिदिएको छ । तर यस स्थानमा अझसम्म पनि पुनः बजार सञ्चालनमा आउन नसक्दा ती लाखौँ मूल्यका भौतिक संरचना प्रयोगविहीन बनिरहेका छन् । बजारका लागि भनेर निर्माण भएका सार्वजनिक शौचालय पनि जीर्ण बन्दै गएको छ ।

यस स्थानमा पुनः बजार सञ्चालनका लागि प्रक्रिया सुरु भइसकेको र अब चाँडै स्थानीयवासी तथा सरोकारवालासँग छलफल अघि बढाइने वडा नं १० का वडाध्यक्ष राजेन्द्रप्रसाद भण्डारी बताउनुभयो । वडाकै दिगो आयस्रोतको माध्यमका रूपमा बजार सञ्चालन गरी स्तरोन्नति गरिदै लगिने अध्यक्ष भण्डारीले बताउनुभयो ।

उहाँका अनुसार त्यस स्थानमा पुनः बजार सञ्चालनमा आउन सके कृषि बजारले स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने छ । दमकको दक्षिणी क्षेत्रका साथै कमल गाउँपालिकाको पश्चिम दक्षिण, गौरादह नगरपालिकाको पश्चिम–उत्तरी क्षेत्रका साथै छिमेकी जिल्ला मोरङको उर्लाबारी र रतुवामाई नगरपलिकाका सर्वसाधारणलाई फाइदा पुग्ने बताइएको छ ।

सेतुमारी बजारस्थलमा जुन उद्देश्यले संरचना निर्माण गरिएको थियो त्यसको सही उपयोग हुन नसक्दा सुरक्षा चुनौतीसमेत बढ्दै गएको स्थानीयवासीले गुनासो गरेका छन् । बजार क्षेत्रमा निर्माण भएका भौतिक संरचना दुव्र्यसनीको थलो बन्लान कि भन्ने त्राससमेत पैदा हुँदै गएको स्थानीयवासीले चिन्ता व्यक्त गर्न थालेका छन् ।

यसैगरी बजारस्थल नजिकै रहेको सेतुमारी बसपार्कको जग्गा पनि प्रयोगविहीन बनेकोछ । स्थानीय दाताले बसपार्कका लागि निःशुल्क प्रदान गरेको सो संरक्षण गरिनुपर्ने स्थानीयवासीका माग रहेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here