बिर्तामोड ।
ग्लोबल आईएमई बैकले सोमवार आफ्नो १६ औं वार्षिकोत्सबमा रक्तदानसहित विभिन्न कार्यक्रम गरेर मनाएको छ ।
उक्त अवसरमा बैकले सातै प्रदेशमा रतmदान कार्यक्रम सम्पन्न गरेको छ । प्रदेश नं. १मा बैकको विर्तामोड शाखा कार्यालयले नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडसँगको सहकार्यमा आयोजना गरेको रक्तदानमा ६० जनाले रक्तदान गरेका थिए ।
बिर्तामोडको शनिश्चरे रोडस्थित बैकको प्राङ्गणमा रक्तदान भएको रक्तदान कार्यक्रमको संयोजन बिर्तामोड शाखाका प्रबन्धक पवनकुमार पौड्यालले गरेका थिए । अर्जुनधाराका ओमप्रकाश लुइँटेलले ९० औं पटक रक्तदान गरेर कार्यक्रमको शुरुवात गरिएको थियो । उक्त कार्यक्रममा बैकंका झापा जिल्लास्थित विभिन्न शाखाको कर्मचारीहरुको सहभागिता रहेको कर्मचारी निमेश बुढाथोकीले जानकारी दिए ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजोपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ । ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९२ शाखा, २७१ एटिएम, २८३ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ९०० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गर्दै आएको छ ।
त्यसैगरी, बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुबेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।