सुन पसलमा ठगी कालीगढलाई तीन करोड जरिवाना

0
155

झापा ।

ज्वेलर्स सञ्चालक दीपक गजमेरले सुन पसलको नाममा गैरकानूनी आर्थिक कारोबार गर्दै आएको खुलेको छ ।

उनले सर्वसाधारणबाट सहकारी र फाइनान्स कम्पनीजस्तै आर्थिक करोवार गर्दै आएको र बचत गरेको रकम फिर्ता नभएपछि उनीबिरुद्ध उजुरी परेको थियो ।

ज्वेलर्स सञ्चालक गजमेर सुन पसलको नाममा गैरकानूनी रूपमा आर्थिक कारोबार गर्दै आएको प्रहरीको प्राारम्भिक अनुसन्धानले समेत देखाएको छ । इजाजतविना बचत कारोबार गर्दै आएका गजमेरले बढी ब्याजको लोभ देखाएर सुनसरी तरहरा क्षेत्रका सर्वसाधारणबाट पैसा संकलन गर्दै आएका थिए ।

पीडितको उजुरीपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले ७४ सालमा सुन पसलमा छापा मारेको थियो । त्यसताका दीपकले गरेको पैसाको कारोबार अवैध ठहरियो । ठगी धन्दाको घानमा लालबहादुर विश्वकर्मा समेत परे । उनी इटहरी–१२मा रहेको सिंहदेवी ज्वेलर्समा कालीगढको रूपमा कार्यरत थिए । २ सय ७५ जनाले ज्वेलर्स सञ्चालक गजमेरबिरुद्ध उजुरी दिएपछि सुनसरीको इटहरी–२०का गोपाल भनिने लालबहादुर विश्वकर्मा अहिले झुम्का कारागारमा छन् ।

दीपकका बुबा कृष्णबहादुर विश्वकर्मा ज्वेलर्समा हुँदा बचतकर्ताले ल्याएको रकम समात्ने र पासबुकमा पैसा बुझेको भरपाईस्वरूप सही गर्ने काम लालबहादुरले गर्थे । उनले भरपाई गरेको रकम १० लाख बराबरको रहेको बताइएको छ ।

त्यही प्रमाणका आधारमा लालबहादुरलाई सुनसरी अदालतकी न्यायाधीश निर्मला योङयाको इजलासले एक वर्ष ६ महिना कैद र तीन करोड १४ लाख ११ हजार रूपैयाँ जरिबाना तोकेको छ । प्रहरीले दीपकसहित उनका बाबु कृष्णबहादुर विश्वकर्मा, दिदी सीता विश्वकर्मा र ज्वेलर्समा काम गर्ने लालबहादुरलाई पक्राउ गरेको छ ।

दीपकका भाइ कमल पनि फरार छन् । ०७४ सालमा ३० दिन हिरासतमा बसेर धरौटीमा रिहा भएका लालबहादुर ०७८ पुस १९मा सुनसरी जिल्ला अदालतको फैसलाले जेल चलान भएका हुन् ।

अदालतको फैसलामा १८ करोड ८४ लाख ६६ हजार ८ सय ८९ रूपैयाँ रकम तिर्न देखिएको ठहरसहित पाँचजनालाई दामासाही जरिबाना तोकिएको छ । प्रतिवादी सबै बराबर दोषी नदेखिए पनि दामासाही हिसाबमा सजाय तथा जरिबाना तोकिएपछि लालबहादुरको परिवार विक्षिप्त बनेका छन् ।

‘प्रस्तुत मुद्दामा प्रतिवादीहरू दीपक विश्वकर्मा (गजमेर), सीता विश्वकर्मा, कृष्णबहादुर विश्वकर्मा र गोपाल भन्ने लालबहादुर विश्वकर्माबाट अभियोगपत्रसाथ संलग्न बिगो तालिकामा उल्लेख भए बमोजिम देहायमा उल्लिखित जाहेरीवाला सुक्मित गुरुङसमेत २७५ जनालाई क्षतिपूर्तिबापत ठगीको बिगो १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ दामासाहीले भराइदिने’– जिल्ला अदालत सुनसरीको आदेशमा भनिएको छ ।

‘प्रस्तुत मुद्दा अन्तिम भएपछि उक्त अनुसारको बिगो रकम भराइ पाउँ भनी मुलुकी फौजदारी कार्यविधि संहिता–२०७४ को दफा १६५ को उपदफा (३) बमोजिम निज जाहेरवालासमेतले दरखास्त दिएमा सोही दफा १६५ बमोजिमका प्रक्रिया पूरा गरी निज जाहेरवालासमेतलाई उक्त अनुसारको बिगो रकम भराइदिनू’– फैसलामा उल्लेख छ । ‘खाँदै नखाएको विष लाग्यो । बनिबुतो गरेर पाल्नुपर्ने ज्यान जेल जानुप¥यो । त्यत्रो जरिबाना कहाँबाट ल्याउने अझ’– पीडितकी श्रीमती दीलकुमारी विश्वकर्माले गुनासो गरिन् ।

मालिकको गलत कामको शिकार निरीह मजदुर बन्नुपरेको भन्दै अहिले नागरिक अभियन्ताले ‘लालबहादुर विश्वकर्मा बचाऊ अभियान’ थालेका छन् । उनीहरूले दिनहुँजसो दबाबमूलक कार्यक्रम सञ्चालन गरिरहेका छन् । नागरिक समाजको अगुवाइमा इटहरीमा दवावमूलक कार्यक्रम समेत सञ्चालन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here