टुटुल्को उठ्ने गरी मट्याङ्ग्राले हिर्काउने हाँस्यव्यङ्ग्य संग्रह

0
218

नेपाली साहित्याकाशमा एउटा तारारुपी हाँस्यव्यङ्ग्य कृति चम्किँदै उदाएको छ । त्यो हो शिक्षासेवी तथा साहित्यकार ‘विनोद खनाल’को हाँस्यव्यङ्ग्य संग्रह ‘तितो मिठो’ ।

विनोद खनाल कवि, कथाकार र हाँस्यव्यङ्ग्यकारका रुपमा सुपरिचित छन् । स्रष्टा खनालको पछिल्लो कृति हो– ‘तितो मिठो हाँस्यव्यङ्ग्य संग्रह’ । कृतिका विशेषताबारे वरिष्ठ साहित्यकार कोमलप्रसाद पोखरेलको विचार कृतिमा प्रकाशित भएका छन्– ‘विनोद खनालद्वारा लिखित प्रस्तुत ‘तितो मिठो’ शीर्षक निबन्ध संग्रह एउटा राम्रो हाँस्यव्यङ्ग्यात्मक कृतिका रुपमा रहेको देखिन्छ । यसमा समाबिष्ट धेरैजसो निबन्धहरुमा हाँस्यतत्व र व्यङ्ग्यतत्वको समान उपस्थिति रहेको पाइन्छ । यिनमा भाषिक कलाका माध्यमबाट हाँस्यात्मकता र व्यङ्ग्यात्मकताको सिर्जना गरिएको छ ।

कतै–कतै प्रयोग गरिएको अनौपचारिक भाषाद्वारा विकृति र विसंगतिप्रति उपाहासात्मक व्यङ्ग्य प्रहार गरिएको हुँदा निबन्धहरु आकर्षक, रोचक र प्रभावकारी बनेका छन् । हाँस्यतत्व र व्यङ्ग्यतत्व दुबैको सन्तुलित संयोजन हुनु हाँस्यव्यङ्ग्यको प्रमुख विशेषता हो र सो विशेषता यस कृतिले पनि आत्मसात गरेको छ । सरल शैली, हृदयसंवेद्य अभिव्यक्ति, मानव मूल्यका कमी–कमजोरीहरुको प्रभावको चित्रण, मानवीय, अवगुणहरुको खोइलो उतार्ने कार्य यस कृतिका हाँस्यव्यङ्ग्यात्मक विशेषता हुन् ।

मानव समाजमा विद्यमान् शोषक र शोषितबीचको द्वन्द्वात्मक चित्रणलाई खनालले महत्व दिएका छन् । आर्थिक असमानता, अज्ञानता, अशिक्षा, राजनीतिक, सामाजिक, शैक्षिक, धार्मिक, सांस्कृतिक विकृतिप्रति व्यङ्ग्य गर्नु पनि उनका प्रवृत्ति बनेका छन् । सबभन्दा महत्वपूर्ण र विश्वसनीय कुरा के हो भने यस कृतिमा शिक्षकले कथित शिक्षक र विद्यार्थीको विकृत चरित्रको पर्दा उघारेका छन् । यस कृतिमा प्रायः सबै विषय समेटिएका छन् । समग्रमा विनोद खनाल यथार्थवादी निबन्धकार दरिएका छन् । यथार्थ कुरालाई काउकुति लगाएर हसाउँदै विकृत व्यक्ति वा वस्तुका टाउकामा टुटुल्को उठ्ने गरी मट्याङ्ग्राले हिर्काउने खुबी भएका निबन्धकार हुन् उनी । उनको शैली नितान्त उनकै जस्तो छ भन्ने ठनाई छ यस टिप्पणीकारको ।’

वरिष्ठ साहित्यकार पोखरेलले प्रस्तुत कृतिका हाँस्यव्यङ्ग्यहरुलाई उच्चस्तरीय रुपमा पर्गेलेका छन् । युक्ति, प्रस्तुति, विपर्यय, विषयान्तर, छद्माचरण, स्थित्यन्तर, मिथ्यावादिता, प्रयुक्ति भेद, स्वकेन्द्री र परकेन्द्री आदि कुञ्जीहरुद्वारा पर्गेलिएका छन् । हाँस्यव्यङ्ग्य सिर्जनाहरुका विशेषताहरु छर्लङ्ग पारिएका छन् । कृतिबारे साहित्यकार पोखरेलको विचार÷भूमिका समालोचना नै मान्न सकिन्छ । यस अर्थमा हाँस्यव्यङ्ग्यकार खनालको प्रस्तुत हाँस्यव्यङ्ग्य कृति खरो उत्रेको बुझ्न सकिन्छ । अर्थात् नेपाली साहित्याकाशमा यस कृति एक ताराको रुपमा उदाएको छ ।

कृतिभित्रको कुनै हाँस्यव्यङ्ग्यको अंश, सर, मैले अस्ति क्लासमा त डरले सोध्न सकिनँ, कुट्नुहुन्छ भनेर, तर आज त मेरो घरमा आउनु भएको छ, मलाई कुट्न त के छुन पनि सक्नुहुन्न, ताल परे मै कुँटुला भनेर सोधेँ– देखादेखी घाम बिहान पूर्वदेखि हिँडेर बेलुका पश्चिममा पुग्छ तर तपाईंले त पृथ्वी चैँ घुम्छ भन्नुभो’ त । हाम्रो घर बिहान जता फर्केको हुन्छ, बेलुका पनि त्यतै फर्केको हुन्छ, पृथ्वी घुम्ने भा’त घर पनि घुम्नुपर्ने त । सरले डराई–डराई भन्नुभयो, क्लासमा त किताबमा लेखेको कुरा भन्नुपर्छ कि नानी । तर यो कुरा चैँ मलाई पनि त्यति विश्वास लागेको छैन । यस हाँस्यव्यङ्ग्यले आजका विद्यार्थीका गुण र शिक्षकको विवशता निकै मजाले दर्शाउँदछ ।

अर्को हाँस्यव्यङ्ग्यको अंश पढौं– ‘तर अहिलेको जमानामा यसो भनेर कहाँ भयो र । अर्काको श्रीमतीसँग एकछिन गफ गर्यो भने त घरकीले आँखा तर्छन् भने झन् ल्याउन आँट्यो भने त लाइदिन्छन् महिला संघ । स्वास्नी पोइला गइ भने पुरुषहरुले पनि पुरुष संघ लाउन पाउनुपर्ने हो नि, पुरुष संघ चैँ लाउन नपाउनु अनि अधिकार चैँ बराबरी अरे । यसैसँग सम्बन्धित अर्को अंश पनि पढौँ र मजाले हाँसौं, उहिले एउटा खुइले मान्छे र’छन् पहिले ती मान्छे आधासरो फूलेका रहेछन्, जेठी चाहिँलाई आफ्ना खसम अल्लारे नदेखिउन् बुढै देखिउन्, त्यसो भए अरु तरुनी आउँदैनन् भन्ने लाग्दोरहेछ र काला कपाल उलेखी दिँदी रहिछिन् । कान्छीलाई चैँ आफ्नो पोइ बुढो नदेखिउन् भन्ने लाग्दोरहेछ र सेतो कपाल सबै उखेली दिँदी रहिछिन् । हुँदाहुँदा ती मान्छे त पुरै खुइले भएछन् रे । यसरी व्यङ्ग्यकार खनाल हाँस्यव्यङ्ग्य सिर्जनाबाट समाजमा सटिक सन्देश प्रवाह गर्न सफल भएका छन् । आजकाल मान्छेहरु कान्छी ल्याउने रहर गर्छन् । तर, कान्छी ल्याउँदा कस्तो हालत हुन्छ भन्ने कुराको चोटिलो छनक दिएका छन् ।

कृतिभित्र– नाम कमाउने धुनमा, बैकुण्ठतिर भौँतारिदा, कवि बन्ने रहर, बिर्सने बानी, लभ स्टोरी, साहित्य गोष्ठी, नाकलाई खोल, पुच्छर, राम्रो म, दारी, कान्छी ल्याउनेहरुको रहर, बाटुलीको बिहे, लबर पाँडेको रत्यौली, नकच्चरो ज्वाइँ ः लबस्तरी सासू, आन्दोलनको काइदा ः फाइदै फाइदा, सोर सराद, खँदाल कान्छाको रहर, कविमय संसार, बोकाको दाइँ, खोया, मिसकल, ट्वाईलेट उद्घाटन कार्यक्रम, कमिशन कि बडिसन ? आदिकवि भानुभक्तलाई चिठी र ऐलानी कवि गोष्ठी– जस्ता रोचक र पढिहालौं लाग्ने शीर्षकहरुमा व्यङ्ग्यकार खनालले साँच्चै नै चोटिलो, समय सान्दर्भिक व्यङ्ग्य सिर्जना गरेका छन् र सबैलाई तीन पुस्तासम्म याद आउने गरी गतिलो सन्देश दिएका छन् ।

हाँस्यव्यङ्ग्यकार खनालको आफैको भनाइ– हाँस्यव्यङ्ग्य लेखनपट्टी कसरी ढल्किएँ, खासै थाह भएन । तर, पुराना कापीहरु पल्टाउँदै जाँदा वि.सं. २०३३ कार्तिक महिनामा लेखिएको म एक विद्यार्थी हुँ भन्ने कविता नै पहिलो हाँस्यव्यङ्ग्यात्मक रचना भएको पाएँ । लेख्दै गएँ, कतै–कतै गोष्ठीहरुमा पनि सुनाएँ पछिल्लो समयमा मेरा सामयिक हाँस्यव्यङ्ग्य निबन्ध र कविताहरु प्रकाशित भए, प्रकाशन हुनुले पनि ममा हाँस्यव्यङ्ग्य सिर्जना गर्ने ऊर्जा थपिँदै गयो । कोभिड–१९ कारण लकडाउन हुँदा पुराना रचना र नयाँ थपगरी हाँस्यव्यङ्ग्य कृति जन्मन पुगेको हाँस्यव्यङ्ग्यकार खनालले कृतिमा उल्लेख गरेका छन् । तर, कृति साँच्चै उत्कृष्ट छ । साँच्चै टाउकामा टुटुल्को उठ्ने गरी मट्याङ्ग्राले हिर्काउने खालकै छ । नव साहित्य सेवा समाज मेचीनगरले प्रकाशन गरेको यो कृतिमा समाजमा, देशमा भएका बेथिति आदिप्रति गतिलो व्यङ्ग्य गरिएको छ ।

मेचीनगर–१० धुलाबारी निवासी स्रष्टा खनाल लामो समयसम्म शिक्षण जस्तो पवित्र सेवा गरी हाल निवृत्त अवस्थामा साहित्य सिर्जना तथा समाजसेवामा सक्रिय छन् । झापाका उत्कृष्ट दश कथाकार (साशंक तथा नेपाल प्रज्ञा प्रतिष्ठान २०५३) लगायत थुप्रै सम्मानबाट सम्मानित खनालका यसअघि चौतारी, फर्किएर हेर्दा कथा संग्रहहरु र छालहरु कविता संग्रह प्रकाशित भएका छन् । सम्पादकका रुपमा, मेची प्रयात, त्रिफला दर्पण, स्वर्ण सौगात, मेचीनगर साकोस र समालोचक गणेशबहादुर प्रसाई आदि प्रकाशनहरुका लागि सम्पादकको भूमिका निर्वाह गरेर खारिएका स्रष्टा हुन् खनाल ।

विभिन्न संघ–संस्थामा आबद्ध रही समाजसेवा गरिरहेका छन् । जस्तैः संस्थापक सचिव हाल उपाध्यक्ष–नव साहित्य सेवा समाज बाहुनडाँगी, संयोजक–आदिकवि भानुभक्त आचार्य साहित्य रत्न पुरस्कार (इडन गार्डेन इङ्ग्लिस हाई स्कूल बिर्तामोड), सचिव–गणेशबहादुर प्रसाई स्मृति प्रतिष्ठान र सचिव–साहित्यकार तेराख प्रतिष्ठान मेचीनगरमा समेत रहेर प्रकाशनहरुमा सम्पादकका भूमिका निर्वाह गरी नेपाली भाषा साहित्यको सेवा गरिरहेका पाइन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here