प्रदेश १ मा आज नयाँ सरकार बन्दै,को बन्ला मुख्यमन्त्री ?

0
271

झापा ।

प्रदेश १ मा आज नयाँ सरकार बन्दै छ।

सरकार गठनका लागि प्रदेश प्रमुख परशुराम खापुङले आइतबार ५ बजेसम्मका लागि समय दिएका छन्। आमनिर्वाचन सकिएको डेढ महिना बिते पनि प्रदेश १ सरकारको खाका अझै आइसकेको छैन।

गठबन्धन दलहरूबीच भागबन्डा नमिलेका कारण प्रदेश सरकार कस्तो बन्छ भन्ने अन्योल बढेको हो । ९३ सदस्यीय प्रदेश १ मा नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका चार र जसपाका एकजना प्रदेशसभा सदस्य छन्।

सरकार गठनका लागि ४७ जना प्रदेशसभा सदस्य आवश्यक पर्दछ । एमाले नेतृत्वको गठबन्धनसँग ६० जना प्रदेशसभा सदस्य भएकाले सरकार गठनका लागि सहज छ। तर मुख्यमन्त्रीमा नेकपा एमाले र माओवादी केन्द्र दुवैले दाबी गरेका कारण सहमति जुट्न नसकेको स्रोतको भनाई छ ।

एमालेले नेतृत्व गरेमा संसदीय दलको नेता बनेका हिक्मत कार्की मुख्यमन्त्री बन्ने छन भने माओवादीले नेतृत्व पाएमा संसदीय दलका इन्द्र आङ्बो मुख्य मन्त्री बन्ने छन् । दलहरु आज बिहानैबाट छलफलमा जुटेको स्रोतले जनाएको छ ।

सातवटै प्रदेशका मुख्यमन्त्री, सातवटै सभामुखको प्याकेजमै भागबन्डा हुने भएकाले सरकार गठनमा केही ढिलाइ भएको बताइएको छ। गठबन्धनका नेताहरूले प्रदेश प्रमुखले दिएको समयसीमाभित्रै सरकार गठन गर्ने दाबी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here