‘घुस दिने र लिने दुबै शत्रु हुन्’

0
198

आज नेपालीका लागि पवित्र दिन हो । नेपाली मनहरुका लागि सर्वोच्च पर्वको दिन र राष्ट्र, राष्ट्रियता, स्वाधीनता, स्वतन्त्रताका पक्षपातीहरुका लागि ठूलो उत्सवको दिन पनि हो । अनेक स–साना भूगोलमा विभक्त समान भाषा, धर्म, संस्कृति र परम्पराका अनुचरहरुलाई एक सूत्रमा उनेर विशाल नेपाल निर्माण गर्ने परिकल्पनाकार र सूत्राधारको जन्मोत्सवको दिन अर्थात् एकता दिवस र पृथ्वीजयन्तीको पावन पर्व । गोर्खा नामको एउटा सानो भूगोलमा कौशल्यावती देवी र नरभूपाल शाहको प्रथम पुत्रका रुपमा तीन सय वर्षअघि आजकै दिन जन्मिएका पृथ्वीनारायण शाहले वाइसे, चौबीसे लगायतका राज्यहरुलाई एकीकरण गरी नेपालीको पहिचान कायम गरेका थिए । उपत्यकामाथि समेत विजय प्राप्त गरी काठमाण्डूलाई राजधानी बनाई संगठीत, शक्तिशाली, स्वतन्त्र र स्वाधीन राष्ट्रका रुपमा विश्व मानचित्रमा अस्तित्व स्थापित गर्ने दूरदर्शी तथा महान राजाको प्राकट्य दिवस डेढ दशकपछि फेरि राष्ट्रिय पर्व बन्न सफल भएको छ । यसका लागि संघर्ष गर्ने राजनीतिक दल, अभियन्तासँगै वर्तमान सरकार समेत धन्यवादको पात्र भएका छन् ।

राष्ट्र निर्मातालाई विश्वभर नै सम्मान गर्ने परम्परा छ । पृथ्वीनारायण शाह राष्ट्र निर्मातासँगै विचारक, सुधारक तथा सफल कुटनीतिज्ञ पनि थिए । उनका वाणीहरु आज पनि त्यत्तिकै सान्दर्भिक छन् र आवश्यक पनि । अनेक जातजातिको सुन्दर फूलबारीका रुपमा विश्व समुदायमाझ परिचित, दुई ठूला ढुंगाबीचको तरुल सरहको नेपालले सधैँ ती ठूलासँग दूरी बनाउनुपर्छ भन्ने उनको वाणी शाश्वत सत्य नै छ । त्यसैगरी सुशासनको सबैभन्दा ठूलो शत्रु भनेको भ्रष्टाचार हो र यसको समूल विनाश नगरुञ्जेल राष्ट्रले समृद्धिको यात्रा तय गर्न सक्दैन यो सबैले मानी आएको सत्य नै हो । जसका बारेमा उनले भनेका थिए– ‘घुस दिन्या र लिन्या दुबै राष्ट्रका शत्रु हुन्’ । यही शत्रुले शिर उठाइरहेको आजको सन्दर्भले पनि राष्ट्र निर्माता वडा महाराजाधिराज प्रति श्रद्धा र स्मरण गराइ रहन्छ ।

आज नेपाल गणतन्त्रात्मक नेपालमा रुपान्तरण भएको छ । तत्कालीन काठमाण्डू उपत्यकामा इसाई धर्म प्रचारकहरु प्रवेश गरी वैधानिक रुपले धर्म प्रचार गर्न लागेका थिए । त्यस्तो बेला पृथ्वीनारायण शाहले धर्म प्रचारलाई बन्देज मात्र लगाएनन् देश निकाला नै गरेका थिए । तिनकै अनुचरहरु आज विदेशीको पैसा खाएर पृथ्वीनारायण शाहबिरुद्ध अनर्गल प्रचार गर्न र झुटा लाञ्छना लगाउन उद्धत छन् । अझ धर्म निरपेक्ष राष्ट्र घोषणा गरिएपछि इसाईहरु सहिष्णु र संयमित जातिलाई विभाजित गर्दै देशलाई कुरुक्षेत्र बनाउन लागीपरेका छन् । स्वावलम्वन र आत्मनिर्भर जाति र राष्ट्र बनाउने राष्ट्र निर्माताको सपनाबिरुद्ध आज तिनै शक्तिशाली दातृ निकायको दानापानी खानेहरु धर्म, संस्कृति, मौलिकता र मौलिक परम्परा विपरीतका गतिविधि मार्फत नेपालीलाई पराधीन बनाउन हरसम्भव प्रयास गर्दैछन् । यस्तो बेला नेपालीले गम्भीर, संयमित, धैर्यवान, सहिष्णु र चिन्तनशील भएर राष्ट्र निर्माताको विचार, लक्ष्य, सपना, सेवा र समर्पणको सम्मान गर्दै राष्ट्रको श्रीवृद्धिमा लाग्नु पर्दछ । अन्यथा हाम्रो अस्तित्व संकटमा पर्ने निश्चित छ । यस्तो संक्रमणको अवस्थामा यो देशका सूत्राधारप्रति भावपूर्ण श्रद्धा अर्पण गर्दै उनको पदचिह्नमा हिँड्ने संकल्प गरौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here