हात्तीको बथान गाँउ पस्दा…

0
152

विनोद सापकोटा,
झिलझिले ।

झापाको शिवसताक्षी नगरपालिकाका पाँच वटा वडामा हात्तीले एक महिनादेखि आतंक मच्चाउन थालेको छ ।

सर्वसाधरणको ज्यान लिने, घर भत्काइदिने र भण्डारण गरिएका अन्नपात खाइदिनाले स्थानिय आतंङकित हुन थालेका छन् । हात्तीको बथान गाउँ पस्ने वित्तिकै स्थानीय ज्यान जोगाउन घर छाडेर भाग्ने गरेका छन् ।

एउटा छावा सहित चार वटा समुहको हात्ती अटेरी रहेको स्थानियले बताए । पटका पड्काउँदा, आगो बाल्दा, होहल्ला गर्दा हात्ती नभाग्ने गरेको स्थानिय महेश्वर लिम्बूले बताए । उनले भने, ‘बसाईँ सरेर यहाँ आएदेखिनै हात्तीले बर्षेनि दुख दिने गरेको छ ।’

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ सम्झना चोकको दक्षिण क्षेत्रका ५ घर हात्तीले मंगलबार राती भत्काएको छ । किसानले भण्डारण गरेको अन्न पोखिदिएर नष्ट गरिदिएको छ । यतिबेला गाँउ पसेका हात्ती मानिसलाई आक्रामण गर्न खोज्ने खालका छन् । ‘कुनै कुनै हात्ती शान्त स्वभावको हुन्थे तर, यी रिसाहा र आक्रमण गर्ने खालका छन् ।’

चार वटा हात्तीले एक महिनादेखि शिवसताक्षी नगरपालिकाका विभिन्न ठाउँमा घर त्काउने, भण्डारण गरेका अन्न खाने, नष्ट गर्ने गरेको वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए । हात्तीले गत साता एक जना महिलाको ज्यान लिएको थियो । यहि घटनाले पनि स्थानिय बासिन्दा हात्तीदेखि डराएका छन् ।

स्थानीय अनिस तामाङ, तिलबहादुर तामाङ, हस्तबहादुर लामा, राजकुमार राई र कृष्ण इजमको घर हात्तीले भत्काएको वडा अध्यक्ष फेवादिनले बताए । राती ११ बजेदेखि गाउँ पसेका हात्ती बुधबार बिहान ४ बजे जंगल फर्किएका थिए ।

रतुवामाई वृक्षारोपण आयोजनाको जंगल हातामा दिनभर बस्ने र रात परेपछि मानव बस्तीमा हात्ती पस्ने गरेका छन्।जंगलबाट हात्ती गाउँ पसेपछि कतिपय स्थानीयले घर छोडेर ज्यान बचाउन भाग्ने गरेका छन् ।

‘राति हात्तीका बथानले घर भत्काउन थाल्यो’, स्थानीय तारा लावतीले भनिन्, ‘हात्ती आएको थाहा पाएपछि भागेर बालबच्चा जोगाउन सक्यौं ।’स्थानीय राजकुमार राईले हात्तीले आफूहरूको घर र पसल भत्काइदिएको बताए ।

हात्तीबाट ज्यान जोगाउन मुस्किल हुन थालेको स्थानियले बताएका छन् । संघ सरकारले नै यसको नीति बनाएर हात्ती पीडितको समस्या समाधान गर्नुपर्ने स्थानिय कृष्ण इजमले बताएका छन् । ‘त्रास संग बस्न नसकिने भयो,’ उनले भने ।

शिवसताक्षी नगरका वडा नम्बर १०, ९, ११, ८ र १ हात्ती प्रभावित वडा हुन् । कनकाई नगरपालिकाको धनुषकोटी धाम क्षेत्रबाट कनकाई नदी पार गरेपछि हात्ती शिवसताक्षी नगर प्रवेश गर्छन । रतुवामाई वृक्षारोपण आयोजनाको घना जंगलमा आहार गर्ने हात्ती यतिबेला रातको समयमा मानव बस्ती पस्ने गरेका छन् ।

जंगल अतिक्रमण र आहार नभएपछि हात्ती खानेकुरा खोज्दै गाँउपस्ने गरेको बन विज्ञको भनाई छ । जंगली जनावार बस्ने र खेल्ने जंगल क्षेत्र अतिक्रम गरेर उनिहरुको आहार नामेट बनाइदिएपछि हात्तीमात्र होइन अन्य जीव जन्तुपनि मानव बस्ती पस्नुको विकल्प छैन । बिज्ञले भने ‘हात्ती गाँउपस्ने बाटो त मानिसले नै बनाईदिएको हो नी ।’

हात्तीको आहारका लागि शिवसताक्षी नगरपालिकाले अर्को वर्ष देखि निस्चित बजेट छुट्याउने नगर प्रमुख मेघाहाङ थोप्राले बताए । उनले भने, जंगलमै आहार भेट्टाए भने हात्ती गाँउ पस्नै भ्याउँदैनन् । जंगलमै अल्मलिए पछि स्थानियबासिन्दाको जिउ धनको सुरक्षा हुन सक्छ ।’

उनका अनुसार जंगमा पिपल, वर, खयर, बयर, केरा लगायतका बोट विरुवा रोप्न सकियो र तिनलाई हुर्काउन सकियो भने सदियौ देखिको समस्या हटेर जानेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here