इलामको दानाबारी जोड्ने सडकमा कालोपत्र

२९ पुष २०७९, शुक्रबार मा प्रकाशित

झापा, 

झापाको दुर्गापुरबाट र इलामको दानाबारी बजार जोड्ने १२ किलोमिटर सडकमा धमाधम कालोपत्र भइरहेको छ । प्रदेश नं १ को भौतिक तथा पूर्वाधार मन्त्रालयको रु २३ करोड ४८ लाख ६६ हजारको लागतमा बन्दै गरेको सडकको छ किलोमिटर कालोपत्र सम्पन्न भइसकेको छ ।

यो सडक तराई र पहाड जोड्ने महत्वको सडक भएकाले प्रदेश सरकारको प्राथमिकतामा रहेको भौतिक पूर्वाधार तथा सडक निर्माण कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताउनुभयो । “दुर्गापुरदेखि दानाबारी पुग्न झन्डै दुई घण्टा लाग्छ”, उहाँले भन्नुभयो, “अब सडकमा कालोपत्र भएपछि आधा घण्टामै पुग्न सकिन्छ । यसले सो क्षेत्रको आर्थिक विकासका लागि पूर्वाधार बलियो भएको छ ।”

उहाँका अनुसार यो सडक कालोपत्र गर्ने ठेक्का कनकाई मोतिदान जेभीले लिएको छ । विसं २०७८ भदौ २३ गते ठेक्का सम्झौता भएको र आगामी विसंं २०८० भदौ २२ मा निर्माण सम्पन्न गर्ने योजना छ ।

हाल प्रदेश सरकारले झापा र इलामका विभिन्न स्थानका दर्जनभन्दा बढी बहुवर्षीय योजनाका सडकमा कालोपत्र भइरहेको उहाँको भनाइ छ । सो सडक निर्माणपछि दानाबारी क्षेत्रमा उत्पादन हुने कृषिजन्य सामग्री बजारीकरणका लागि सहयोग पुग्ने महमाई नगरपालिका–३ का कुमार कार्कीले बताउनुभयो । उहाँका अनुसार यसअघि दानाबारीबाट खुदुनाबारी हुँदै विर्तामोड जाने सडक लामो दूरीको सडक यहाँका बासिन्दाले प्रयोग गर्दै आएका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here