धर्म के हो, के होइन ?

३० पुष २०७९, शनिबार मा प्रकाशित

हजुरबा, पोलिथिन ब्यागमा केही फूल बोकेर मन्दिरतिर लाग्छन् । उनकी नातिनी उनलाई पछ्याउँछिन् । हजुरबा भन्छन्– आ न त आधर्म कर्म गर्न तँ पनि बालखैदेखि सिक । धर्माती बन्छेस् । नातिनी सोध्छिन्– धर्म भनेको के हो हजुरबा ? हजुरबा भन्छन्– मन्दिर जानु भगवानलाई फूल चढाउनु, भगवानको नामजप्नु, पूजा गर्नु, भजनकिर्तन गर्नु र यसो केही पैसा मन्दिरमा चढाउनु या मन्दिरको कोषमा पैसा दान गर्नुलाई धर्म भन्छन् नाई ।

नातिनी हजुरबाको मुहारमा मुन्टो ठाडो पारेर हेर्छिन् किनकि हजुरबाले भनेका कुराले नातिनीको मनमथिङ्गलमा प्रश्न सल्बलाउँछन् । नातिनी फेरि सोध्छिन्– त्यति नै हो हजुरबा धर्म भनेको ? नातिनीको जिज्ञासामा हजुरबा भन्छन्– कहाँ त्यति मात्र हुनु र धर्म भनेको अरु धेरै कुरा छन् । नातिनी सोध्छिन्– लु भन्नु न त हजुरबा । हजुरबा लामो श्वास तान्दै भन्छन्– आफ्नो ठाउँको मन्दिर मात्र होइन अरु तिरका नाम चलेका मन्दिर र ठूला धामतिर दर्शन गर्न जानु पनि धर्म हो । साधुसन्तहरुलाई खानेकुरा, वस्त्र र नगद दान गर्नु पनि धर्म हो । मन्दिर बनाउनु, मन्दिर जिर्णोद्धार धर्म हो । मन्दिरमा घण्ट, त्रिशुल चढाउनु पनि धर्म हो । विभिन्न तिथिमितिमा मन्दिरमा गई भगवानको दर्शन गर्नु, पूजा गर्नु धर्म हो नातिनी । अस्ति न हाम्रा गाउँका धर्मातीहरु छिमेकी देशमा नामी धाम गएर एक महिनापछि आए । तँइले पनि प्रसादको मिठाइ खाइस त अनि धामबाट ल्याएका माला अझै पनि घाँटीमा भिरिरहेकी छेस् त । हाम्रै देशका विभिन्न धामहरु छन् त्यहाँ गएर दर्शन गरेर आउनु पनि धर्म हो । देवता, भगवानहरुको महिमा, दर्शन जस्तो अर्को धर्म केही छैन । धर्म अनुसारका रीतिथिति मान्नु, धाममा गएर स्नान गर्नु र पूजा गर्नु पनि धर्म हो ।

हजुरबा बाटाभरी मन्त्र, स्तोत्र र श्लोकहरु गुनगाउँदै रहन्छन् । नातिनी, हजुरबाका हातका औँला समातेर हिँडिरहन्छिन् मनभरी विभिन्न प्रश्न गर्दै । बाटामा अरु पनि धर्माती मानिसहरु हातमा पूजाका सामानका झोला बोकेर एउटा शान्त चालमा पाइला चालिरहेका छन् । धर्मातीहरुका कानमा मन्दिरका घण्टका आवाज ठोकिन्छन् टंङ्ग… टंङ्ग… । मन्दिरका छेउ पुगेपछि हजुरबा र अरु धर्मातीहरु पाउपोश खोल्छन् । छेउमै रहेको पानीको धारामा हात र पाउ धुन्छन् । मन्दिरभित्र पसेर मन्त्र, स्तोत्र र श्लोकहरु जप्तै पूजा गर्दछन् । पूजा यसरी गर्दछन् कि मन्दिर उनीहरुको मात्र या पेवा नै हो । अरु धर्मातीलाई पालो दिनुपर्ला भन्ने हेक्कै हुन्न मन्दिरभित्र पसेपछि । यतिकैमा नातिनी भन्छिन्– हजुरबा ! हजुर मात्र पूजा गरिराख्नु हुने हो ? अरुलाई पालो दिनु पर्दैन ? हेर्नु त लाइन ? भक्तजन भन्छन्– ए यि नानी त कति ज्ञानी । हो नि त अरुलाई पनि पालो दिनु परो नि । हजुरबा भन्छन्– ए ए लु मैले पूजा गरिसक्नै आँटेँ ।

मन्दिरमा रहेका सबै देवताका शीरमा फूल अर्पण गर्दै हजुरबा मन्दिरभित्रै देवताहरुको परिक्रमा गर्दछन् । मन्दिर बाहिर निस्केर पनि मन्दिर बाहिर रहेका देवताहरुलाई फूल र पैसाका सिक्का चढाउँछन् । फूल र सिक्का निक्कै नै जतन साथ चढाउँछन् मानौ ती चिज निकै कोमल चिजहरु हुन् । देवताहरुलाई पनि यसरी ढोक्छन् कि देवताहरु भन्दा अरु चिज केही छैन यो संसारमा । हजुरबाले मन्दिरको घण्ट पनि यसरी ताल मिलाएर र लयबद्ध पारेर बजाउँछन् कि उनीभन्दा अरु संगीत जान्ने कोही छैनन् । हजुरबाले मन्दिर यसरी छोडे कि मानौ उनी अब यहाँ आउन पाउने छैनन् । यही नै अन्तिम दर्शन हो जस्तो गरेर । मन्दिरको गेट बाहिर निस्केर पनि पछि फर्केर मन्दिरलाई यसरी ढोगेकी जसरी मानिसहरुले आफ्ना आमा–बाबुलाई ढोग्दछन् ।

मन्दिर परिसर बाहिर भुइँमा लहरै बसेका सहयोगापेक्षीहरुलाई भने हजुरबाले वास्तै गर्दैनन् । साथमा भएका पैसा, फूल र चामल जति मन्दिर परिसरभित्रै चढाएर सके । नातिनी भन्छिन्– हजुरबा यहाँ सहयोग माग्न बस्नु भएकाहरुलाई पनि केही पैसा र चामल दिनुन । हजुरबा भन्छन्– ए यिनीहरुलाई ? यिनीहरु त काम गरेर खान सक्छन् त । काम गरेर नखाएर मन्दिरमा त्यतिकै माग्न बस्छन् नाई । नातिनी भन्छिन्– अनि कसैका त हात र खुट्टा पनि छैनन् अनि कोही त हजुरबा जस्तै हुनुहुन्छ त । उहाँहरु कसरी काम गर्न सक्नुहुन्छ ? कसले काम दिन्छ ? ए हजुरबा पनि । हजुरबा भन्छन्– धेर नकरान है, चुप लागेर हिँड घरतिर ।

नातिनी भन्छिन्– हजुरबा त कस्तो धर्म गर्नु हुँदोरहेछ उल्टो । हजुरबा भन्छन्– के भन्छे यो । कसरी भयो उल्टो ? नातिनी भन्छिन्– काम गरेर खान नसक्ने अशक्त, असहायलाई सहयोग गर्नु पो त धर्म हो । ठीकै छ मन्दिरमा जानु पनि धर्म नै होला, तर जसलाई साँच्चै सहयोग आवश्यक परेको छ, उसलाई सहयोग गर्नु चाहिँ धर्म हो क्या हजुरबा । हजुरबा नातिनीको कुरै नसुनि लुइँलुइँ हिँडिरहन्छन् ।

घरमा जाँदै गर्दा बाटामा बिरामीलाई डोकोमा बोकेर लाँदै गरेको देखियो । नातिनीले हजुरबालाई सोधिन्– हजुरबा उनलाई किन डोकोमा बोकेका ? हजुरबाले भने– सुत्केरी गराउन अस्पताल लगेका, त्यति पनि बुझिनस् । नातिनी छक्क पर्दै भन्छिन्– अनि किन मोटरमा नलगेर डोकोमा बोेकेका त । हजुरबा भन्छन्– मोटर रिजाप गर्न पैसो भएन होला नि । नातिनी भन्छिन्– हजुरबा तपाईले उनीहरुलाई मोटर रिजाप गर्ने पैसा दिनु न । उनी अस्पताल समयमा पुग्ननपाई उपचार पाइनन् भने जे पनि हुन सक्छ ? हजुरबा भन्छन्– अनि के गर्नु त हामीले । नातिनी भन्छिन्– उनलाई सहयोग गर्दा हजुरबालाई ठूलो धर्म हुन्छ, होइन र हजुरबा ? उनको ज्यान बच्छ अनि नवजात शिशुको जन्म या सृष्टि या सिर्जना हुन्छ । हजुरबा चुपचाप हिँडिरहन्छन् ।

यतिकैमा नातिनी भन्छिन्– हेर अघि न मन्दिरमा पैसा चढाएर त्यतिकै सकियो । बरु ती सुत्केरीलाई अस्पताल चाँडो पुगाउन मोटर रिजाप गर्ने पैसा दिन सकेको भए कति ठूलो धर्म हुने थियो । हजुरबा भन्छन्– धेर बाठी न हो त । लुइँलुइँ हिँड घरतिर । नातिनी भन्छिन्– धर्म के हो के होइन ? मैले त बुझिन हजुरबा । हजुरबाले पनि भने, तेरो कुरा सुनेर मैले पनि बुझिनँ, धर्म के हो के होइन ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here