नेपाल र भारतका सुरक्षाकर्मीले सफा गरे दशगजा

३० पुष २०७९, शनिबार मा प्रकाशित

झापा।

भद्रपुर नगर क्षेत्रबाट उठाइएका फोहोर मैला मेची नदी किनारको दशगजा क्षेत्रमा जथाभावी फालिँदा स्थानीयसँगै दुवै देशका सुरक्षाकर्मीलाई पनि समस्या उत्पन्न भएको छ ।

भद्रपुर–५स्थित मेची नदी बग्ने नेपाल–भारत सीमा पिलर १०१/३ देखि १०१/७ सम्मको दशगजा क्षेत्रमा फालिएका फोहोर मैलालाई हावाले उडाएर जथाभावी छर्दा झन् दुर्गन्ध र वायु प्रदूषण बढेको छ । फोहोरमैला फालिएको स्थानदेखि ५०० मिटर उत्तरतर्फ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको कार्यालय छ । सीमा नाकाको दशगजा क्षेत्रमा छरिएर रहेको फोहोरमैलाको व्यवस्थापनका लागि दुवै देशका सुरक्षाकर्मी जुटेका थिए ।

सुरक्षाकर्मीहरूको टोलीले शुक्रबार बिहान दशगजा क्षेत्र सरसफाइ गर्दै त्यहाँका फोहोरमैलालाई एक ठाउँमा सङ्कलन गरी आगो लगाएका थिए । साथै उनीहरूले सीमा पिलर वरिपरि पलाएको झार जङ्गल पनि काटेर सफा गरेका छन् ।

सो सरसफाई कार्यक्रममा सशस्त्र प्रहरी बीओपी भद्रपुरका इन्स्पेक्टर रामकुमार घिमिरे, वडा प्रहरी कार्यालय भद्रपुरका इन्स्पेक्टर सन्तोषकुमार बुढाथोकी, भारतीय सुरक्षा बल (एसएसबी) ४१ बटालियन भातगाँउका कमाण्डर हर सिंन्हा, नगर प्रहरी इञ्चार्ज चन्द्र प्रधानको नेतृत्वमा सुरक्षाकर्मीहरू सरसफाईमा खटिएका थिए । साथै भद्रपुर–५ नम्बर वडा सदस्य जेष्ठमल ठाकुरसहित स्थानीयबासीहरु पनि सहभागी भएको जनाइएको छ ।

नगर क्षेत्रमा फोहोर मैला व्यवस्थापन केन्द्र (ल्याण्डफिल्ड साइड) नहुँदा नगरपालिकाले दशकौँदेखि नदी किनारको दशगजा क्षेत्रमा फोहोर मैला फाल्दै आइरहेको छ । जथाभावी फोहोर मैला फालिँदा नदी किनार नजिकै बसोबास गर्ने स्थानीयवासी पनि दुर्गन्धित वायु प्रदूषणको समस्या झेल्दै आइरहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here