सुरुङ्गामा प्रदेशस्तरीय भलिबल खेल हुने

२ माघ २०७९, सोमबार मा प्रकाशित

सुरुङ्गा ।

सुरुङ्गा जेसीज र कनकाई खेलकुद समितिको संयुक्त आयोजनामा सुरुङ्गामा १ नं. प्रदेशस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।

सुरुङ्गा जेसीजको आयोजनामा स्थानीय होटल डिलाइटमा सम्पन्न पत्रकार भेटघाटमा खेलको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिइयो । आगामी माघ ३ गतेदेखि ७ गतेसम्म १ नं. प्रदेशभरका ८ वटा टिम समावेश गरी अन्तरपालिका पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । यो खेललाई कनकाई भलिबल कप–२०७९ नाम दिइएको छ ।

सन् २०१९ देखि सुरुङ्गा जेसीजले शुरु गरेको खेलको यो तेस्रो संस्करण हो । २००८ मा स्थापित सुरुङ्गा जेसीजले नेतृत्व विकास र व्यक्तित्व विकासका लागि विभिन्न विधाका प्रशिक्षण तथा खेलकुद प्रतियोगिता गराउँदै आएको छ ।
सुरुङ्गा जेसीज (२०२२) का अध्यक्ष सुष्मा न्यौपाने (उप्रेती) ले खेलको माध्यमबाट बन्दनिषेधित शान्तिक्षेत्र कनकाई नगरको गरिमालाई मुलुकभरमै चिनाउने उद्देश्यले भलिबल खेल आयोजना गरिएको बताइन् ।

कन्काई मावि सुरुङ्गाको खेलमैदानमा हुने खुला नकआउट भलिबल खेलमा झापा गाउँपालिका, बुद्धशान्ति गाउँपालिका, भद्रपुर नगरपालिका, शिवसताक्षी नगरपालिका, दमक नगरपालिका, बेलबारी नगरपालिका (मोरङ), चुलाचुली गाउँपालिका (इलाम) र गौरादह नगरपालिका गरी ८ वटा टिमको सहभागिता रहने खेलकुद संयोजक प्रतापबाबु जमरकट्टेलले जानकारी दिए ।

विभिन्न पालिकाले आफ्ना टिममा बंगलादेश, भारत र पाकिस्तानका साथै नेपालका राष्ट्रिय टिमका खेलाडी समावेश गरेका कारण यो प्रतियोगिता धेरै रोचक हुने सुरुङ्गा जेसीज–२०२२ का महासचिव राजु पाठकले बताए । महासचिव पाठकले दिएको जानकारी अनुसार खेलको मुख्य प्रायोजन नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, प्रायोजन ओसिएन एजुकेशन एण्ड भिजा प्रोसेसिङ र सहप्रायोजन खेलप्रेमी नरेन्द्र मेचेले गरेका छन् ।

प्रथम पुरस्कार १ लाख ११ हजार १ सय ११ रुपैयाँको प्रायोजन हाल कतारमा व्यवसाय गर्दै आएका पति–पत्नी विकास प्रसाईं र अनु प्रसाईंले गरेका छन् भने द्वितीय पुरस्कार रु. ६१ हजार १ सय ११ रुपैयाँको प्रायोजन कनकाई नगरपालिका–३ निवासी पर्यटन व्यवसायी बीरेन्द्र मैनालीले गरेका छन् । त्यस्तै, तृतीय पुरस्कार २५ हजार रुपैयाँको प्रायोजन आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीले गरेको छ । खेल सम्पन्न गर्न १२ लाख ३६ हजार रुपैयाँ आम्दानी–खर्चको अनुमानित बजेट बनाइएको छ ।

स्थानीय सरकार कनकाई नगरपालिका खेलको मुख्य संरक्षक रहेको छ भने कनकाई नगरपालिकाका सबै वार्डबाट खेल सम्पन्न गर्न सहयोग हुनेछ । त्यस्तै, झापाका स्थानीय तहहरू झापा गापा, हल्दिबारी गापा, शिवसताक्षी नपा, अर्जुनधारा नपा, विर्तामोड नपा, भद्रपुर नपाबाट पनि आर्थिक सहयोग जुटेको छ ।

खेलमा बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट डिफेन्स, बेस्ट क्वीकर जनहीलाई ५ हजार १ सय रुपैयाँ तथा ट्रफी प्रदान गरिने छ भने म्यान अफ द सिरिजलाई डाइस्टार कम्पनीको २४ इञ्च रङ्गीन टेलिभिजन प्रदान गरिनेछ ।

खेल सम्पन्न गर्न सुरुङ्गा जेसीज–२०२२ का अध्यक्ष सुष्मा न्यौपाने (उप्रेती) को संयोजकत्वमा सुरुङ्गा जेसीजको सम्पूर्ण कार्यसमिति र कनकाई खेलकुद समितिको तर्फबाट गोविन्द उप्रेती र वकिल वि.क. रहेको मूल आयोजक समिति गठन गरिएको छ ।

माघ ३ गते उद्घाटन खेल दमक र भद्रपुरबीच हुने भएको छ । खेल तालिका अनुसार ४ गते झापा गाउँपालिका र बेलबारी नगरपालिका, ५ गते शिवसताक्षी र गौरादह तथा सोही दिन चुलाचुली र बुद्धशान्तिवीच प्रतिष्पर्धा हुने र ७ गते फाइनल खेल हुने छ ।

पत्रकार भेटघाट कार्यक्रममा कनकाई खेलकुद समितिका अध्यक्ष जबिन तिम्सिना, सुरुङ्गा जेसीजका पूर्व अध्यक्षहरू कुमारमणि पोखरेल, शिवकुमार कडेंल, कमल कट्टेल, सुरुङ्गा जेसीज–२०२२ का कार्यकारिणी उपाध्यक्ष दीपेन्द्र प्रधान, प्रकरण निर्देशक राजकुमार कट्टेल लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here