वैदेशिक रोजगारलाई व्यवस्थित गर

२ माघ २०७९, सोमबार मा प्रकाशित

वैदेशिक रोजगार यतिबेला देशको अर्थतन्त्र धान्ने मूल आधार बनिएको छ । यसको आकर्षणले देशका लाखौं युवाहरुलाई बर्सेनि विदेशिन बाध्य बनाएको छ । अनेक चुनौतिका बीचमा सम्भावनाको खोजी गर्न उत्प्रेरीत गरेको छ । सुनसरी जिल्लाको इटहरीमा भएको १ नम्बर प्रदेशका पालिका प्रमुख तथा उपप्रमुख र रोजगार संयोजकहरुलाई लक्षित गरी आयोजित अभिमुखीकरण कार्यक्रममा नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय वैदेशिक रोजगार बोर्डको सचिवालयले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न तीनै तहका सरकार जिम्मेवार बन्नुपर्ने जनाएको छ । कार्यक्रममा आर्थिक वर्ष ०७८÷०७९ मा मात्रै नौ सय अड्तीस जनाको रोजगारीकै क्रममा मृत्यु भएको बताइयो । विद्यमान कानून कडा नभएको र जानेहरुमा पनि सिप, क्षमता अभाव भएका कारण समस्या हुने गरेको छ ।

स्वदेशमा रोजगारीको अवसर नभएकै कारण लाखौं युवाहरु परदेशिएका हुन् । विगत तीन दशकअघिदेखि भारत बाहेकका देशहरुमा जान थालेका नेपाली युवाले पठाएको रकमले अहिले देशको कूल आयको पच्चीस प्रतिशतभन्दा बढी योगदान दिएको छ । पाँच लाखभन्दा बढी युवाको गन्तव्य वैदेशिक रोजगारी बनेको सन्दर्भ न परिवार, न समाज, न त देशकै लागि दीर्घकालीन हित अनुकूल छ न सकारात्मक पनि । अझ पछिल्लो समय नेपाली युवतीहरु समेत वैदेशिक रोजगारीतर्फ आकर्षित भइरहेकोले वैदेशिक रोजगारीको परिणाम झनै नकारात्मक हुन सक्ने जानकारहरुले बताएका छन् । सरकार युवा लक्षित कार्यक्रम ल्याउन, रोजगारीको असर सृजना गर्न र भएका सम्भावनाहरुलाई व्यावसायीक बनाउन इच्छुक छैन भने देशको मूल आम्दानीको स्रोत कृषि पेशालाई व्यवस्थित, आधुनिक तथा मर्यादित बनाउन गम्भीर देखिँदैन । जसका कारण कृषि कर्मप्रतिको वितृष्णा बढेर अहिले कूल जनसंख्याको दुई प्रतिशत मात्रै निर्वाहमुखी कृषि कार्यमा संलग्न छन् ।

क्षमता, सिप र जानकारी नलिइकन विदेश जानेको लर्कोका बीच प्रत्येक दिन औसत तीन जना बक्सामा बन्द भएर आउने गरेका छन् । गएका अधिकांश युवाहरुले जोखिमपूर्ण काम गर्नुपर्ने र त्यस सम्बन्धी पूर्ण ज्ञान नभएकैले मृत्युवरण गर्नु परेको तथ्य पनि सार्वजनिक भइरहेको छ । अनि पनि वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सकिएको छैन । लुकिछिपी र गैरकानूनी ढंगले विदेशिनेको संख्या पनि ठूलै छ । यस्तोमा राज्यले युवाहरुलाई स्वेदशमै, समाज र आफ्नै परिवारसँगै बसेर रोजगारी प्राप्त गर्ने अवसर प्रदान गर्नुपर्छ । त्यसका लागि यथेष्ट कानून निर्माण गर्ने, कृषकलाई व्यावसायिक तथा सेवाप्रवाहद्वारा उन्नत बनाउनु पर्दछ । त्यसो भएमात्र युवावर्गलाई कृषि कर्मप्रति आकर्षित गर्न सकिन्छ । त्यसले विदेशी भूमिमा विभिन्न कारणले जीवन गुमाउनुपर्ने बाध्यताको अन्त्य हुनेछ र पारिवारिक सुख, शान्ति र समृद्धि समेत प्राप्त हुनेछ । यसतर्फ तीनै तहका सरकार, सरोकारवाला संस्था तथा निकायको ध्यान जानुपर्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here