कार्यविधि विपरीत गठित शिक्षा समिति खारेज

३ माघ २०७९, मंगलवार मा प्रकाशित

भद्रपुर।

भद्रपुर नगरपालिकाले अन्ततः शिक्षा कार्यविधि विपरीत गठित शिक्षा समिति र त्यस समितिले गरेको सम्पूर्ण निर्णय खारेज गरेको छ ।

नगर प्रमुख गणेश पोखरेलले असन्तुष्ट बनेका जनप्रतिनिधिहरु समक्ष शिक्षा समितिको सम्पूर्ण निर्णय खारेज गर्ने मौखिक सहमति जनाएपछि नगर कार्यपालिकाको बैठक बसेको थियो । नगर कार्यपालिका बैठकको पहिलो प्रस्तावमै शिक्षा कार्यविधि विपरीत गठित शिक्षा समिति र त्यस समितिले गरेको सम्पूर्ण निर्णय खारेज गर्ने निर्णय गरिएको कार्यपालिका सदस्य विवेक राजवंशीले जानकारी दिए ।

साथै सोही बैठकले नगर शिक्षा कार्यविधि बमोजिम शिक्षा समितिमा कार्यपालिकाबाटै एक महिला र एक दलित गरी तीन जना सदस्य मनोनित गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार शिक्षा समितिको महिला सदस्यमा सीता गुरुङ, दलित सदस्यमा प्रशंसा ठटाल र खुला सदस्यमा विवेक राजवंशीलाई सदस्यमा मनोनीत गरिएको छ ।

‘एकलौटी र मनोमानी ढङ्गले गठित शिक्षा समिति खारेज भयो’ –राजवंशीले भने– ‘अब कार्यपालिकाबाट चुनिएका तीन सदस्य, नगर प्रमुखसहितको बैठक बसेर नयाँ शिक्षा समिति विस्तार हुन्छ ।’

शिक्षा समिति खारेज नभएसम्म नेकपा (एमाले) का ११ जना र राप्रपाका तीन जना गरी १४ जना कार्यपालिका सदस्यहरूले शुक्रबारदेखि कार्यपालिका बैठक बहिष्कार गरेका थिए । नगरपालिकाले पुनः शनिबार बिहान ८ बजे डाकेको बैठक पनि उनीहरुले बहिष्कार गरेका थिए । निर्णय फिर्ता लिने जानकारी आएपछि दिउँसो साढे १ बजे कार्यपालिका बैठक बसेको थियो ।

यता कार्यपालिका बैठकले सङ्घीय समपूरक र विशेष अनुदानका योजना माग, स्थानीय तह संस्थागत स्वमुल्याकंन (एलआइएसए)को स्वमूल्याङ्कन, अस्थायी/करार/ज्यालादारी कर्मचारीको छ महिना म्याद थप्ने, जिल्ला दररेटमा नभएको सामग्रीको इकाई दररेट स्वीकृत गर्ने, गत साल अल्या भई पुस मसान्तसम्म म्याद थप भएका योजनाहरूको म्याद थप्ने, अघिल्लो कार्यपालिका बैठकको समीक्षा र अन्य विविध विषयका प्रस्तावहरू माथि छलफल गरी निर्णय गरिएको नगरपालिकाले जनाएको छ । निर्णयहरुको पूर्णपाठ सार्वजनिक गर्न बाँकी छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here