अभिषेक गिरीको सरुवा विरुद्ध मोरङ कारागारमा प्रदर्शन

३ माघ २०७९, मंगलवार मा प्रकाशित

पथरीशनिश्चरे,

मोरङ कारागारका चौकीदार अभिषेक गिरीको सरुवाका विरुद्ध मोरङ कारागारमा प्रदर्शन भएको छ ।

आइतबार चौकीदार गिरीको मकवानपुरको भिमफेदी कारागार सरुवाको निर्णय भएपछि सो सरुवाको निर्णय विरुद्ध कारागारका कैदीबन्दीले प्रदर्शन गरेका हुन् । डिल्लीबजार कारागारबाट २०७८ मंसिर ९ गते मोरङ ल्याइएका गिरीलाई मोरङ कारागार हाजिर भएलगतै चौकीदारको जिम्मेवारी दिइएको थियो । आइतबार गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरणको पत्र मोरङ आएको हो । सरुवाको विरोधमा विहानैदेखि कैदीबन्दीले प्रदर्शन गरेका हुन् ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनको कैद भुक्तान अवधी एक महिना मात्रै बाकीँ छ । उनको कैदभुक्तान अवधी फागुन ३ गते सकिदैछ । एक महिना कैद बाकीँ रहेको अवस्थामा भिमफेदी कारागार स्थानान्तरणको पत्र आएको जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतले बताएका छन् । भगतले ‘उहाँको स्थानान्तरणको पत्र मेलमा आएको छ। हामी प्रकृयामा लैजान्छौं ।’ भने।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा गिरीलाई सार्न लागिएको स्रोतले बताएको छ ।‘हिजो गृहमन्त्री बालकृष्ण खाडको ठाडो निर्देशनमा विराटनगर आएका थिए,’कारागार स्रोतले भन्यो,‘नयाँ गृहमन्त्रीको आदेशमा फेरि भिमफेदी सरुवा भयो ।’ तत्कालिन गृहमन्त्री खांडको निर्देशनमा २०७८ मंसिर ९ गते गिरीलाई मोरङ कारागार ल्याइएको थियो । उनलाई मोरङ ल्याउने निर्णयको विरोधमा कारागार भित्र आन्दोलन भएको थियो । गिरीलाई मोरङ ल्याउनकै लागि ३ जना चौकीदारलाई मोरङबाट अन्यत्र पठाइएको थियो । उनको सरुवाको विरोधमा पनि प्रदर्शन भएको हो ।

माेरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गिरीकाे स्थानान्तरकाे प्रकृया सुरु भएकाे बताएका छन् । प्रजिअ दहालले कारागारमा प्रदर्शन भएकाे विषयमा जानकारी नभएकाे प्रतिक्रिया दिएका छन् । गिरीलाई ल्याउन भन्दै २०७८ असोज १८ गते तत्कालिन चौकीदार नवीन राईलाई झुम्का कारागार सारिएको थियो । राईको सरुवापछि किरण गुरुङले कामचलाउ चौकीदारको जिम्मेवारी पाएका थिए । २०७८ कात्तिक २४ गते मोरङ कारागारमा गिरीकै कारण झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।

झडपपछि गुरुङसहित ६ जनालाई झापा र इलाम सरुवा गरिएको थियो । गिरी आउनुअघि तत्कालिन चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारलाई सिन्धुली कारागार सरुवा गरिएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here