सिँचाइको प्रबन्ध गर

४ माघ २०७९, बुधबार मा प्रकाशित

जल सम्पदामा विश्वकै धनी देशमा गनिएर पनि किसानले त्यसको उपयोग गर्न नपाउनु दुर्भाग्य नै भन्नुपर्छ । भू–वनावटका आधारमा र बहुसंख्यक बासिन्दाको आम्दानीको मुख्य स्रोत भएका कारण नेपालका लागि कृषि कर्म निर्विकल्प र मुख्य पेशा हो । तर, कृषि कर्मका लागि आवश्यक पर्ने स्रोत, साधन, बजार तथा वितरणको अभाव र अव्यवस्थाले अहिले यो ऐच्छिक जस्तै बनिएको छ । त्यसकै कारण अधिकांश युवा जनशक्ति वैदेशिक रोजगारप्रति आकर्षित हुँदै गएका छन् । प्रत्येक वर्ष यो संख्या बढ्दै जाँदा हाम्रा गाउँ, बस्तीहरु आश्रित जनसंख्याको आश्रित स्थल बन्न थालेको छ । गाउँबस्तीहरु जन्ती–मलामी नभेटिने अवस्थामा पुग्नु भनेको नेपालीको गौरवका रुपमा रहेको स्वावलम्बीपन हराउनु हो । यसले नेपालीलाई परावलम्वन बनाउँदै पराधीन बनाउने जोखिम बढेर गएको छ ।

आफूलाई पु¥याएर छिमेकीहरुलाई ‘पाल्ने’ हाम्रो पुर्खाको गाथा अब दन्त्यकथा जस्तै हुन थालेको छ । त्यसमाथि सरकार तथा सम्बद्ध क्षेत्र र सरोकारवाला निकायको उपेक्षा र उदासीनताले कृषि कर्म नै विस्थापनको खतरामा छ । उर्वरभूमिहरु बाँझिन थालेको धेरै भयो, जसोतसो निर्वाहमुखी खेती गर्नेहरु पनि आवश्यक प्राविधिक, आर्थिक तथा अनुदानगत सेवा–सुविधाबाट वञ्चित हुँदा कृषि कर्मप्रति विकर्षित हुन थालेको अनुभूति हुँदैछ । कुनै दिन घना जंगलका पातपतिङ्गर बगेर खेतमा पुग्थ्यो, त्यही प्राङ्गारिक मलमा रुपान्तरित भई उत्पादकत्व बढाउने र विषादिमुक्त खाद्यान्न उत्पादन हुन्थ्यो । तर, आज जंगल मासिएका छन्, पानीको स्रोत सुक्दै गएको छ, प्रदुषण बढ्दा त्यसको असर कृषि उत्पादनमा देखिएको छ ।

राणा प्रधानमन्त्री चन्द्र शम्सेरले चन्द्र नहरको स्थापना गराएर कृषि कर्मलाई व्यवस्थित बनाउने कामको थालनी गरे । त्यसयता केही नहरहरु निर्माण गरिए पनि तर आवश्यकता अनुरुप भएनन् । नदीमा भएको जलप्रवाह हेरेर, आकाशतिर फर्किएर पानीको तिर्सना मेट्नु पर्ने ‘काकाकुल’को नियति भोग्नुपर्दा नेपाली किसान निराश मात्र छैनन् पलायन हुने अवस्थामा पुगेका छन् । व्यवस्थित सिँचाइ कृषि कर्मका लागि प्रमुख आधार हो यद्यपि भूमिगत पानी उर्वरा शक्ति बढाउने स्रोत भने होइन । तैपनि सिँचाइको सुव्यवस्थाले समयमा खेती गर्न सकिन्छ र त्यसको लाभ देश र किसान दुबैलाई हुन्छ । यस्तोमा झापाकै ठूलो नदीको किनारमा रहेर पनि कन्काई नगरपालिकाका किसानले भूमिगत पानीको भर पर्नुपर्ने बाध्यता छ । यसका लागि स्थानीय सरकारले खेतीयोग्य भू–भागमा विद्युतीय मोटर जडान गर्न सहयोग गर्न थालेको छ । यसले किसानलाई ऊर्जा र उत्प्रेरणा दिने नै छ, त्यस बाहेक हाम्रो परनिर्भरताको गतिलाई रोकेर आत्मनिर्भरता बढाउन सहयोग ग¥यो भने त्यस्तो कर्म उदाहरणीय मान्नु पर्नेछ । तर, यो भन्दा पनि नहरकै स्थापना, विकास र विस्तारमा लाग्नु समग्र विकासको पक्षमा हुन्छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here