सरकारसँगको अपेक्षा

५ माघ २०७९, बिहीबार मा प्रकाशित

निक्कै लामो समयपछि मन्त्रिपरिषद् विस्तार भएको छ । गत पुस ११ गते गठन भएको मन्त्रिपरिषद्मा माघ ३ गते एक जना उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री गरी तेइस जना पुगेको छ । यद्यपि मन्त्रिपरिषद् अझै पूर्ण भएको छैन । सत्ता गठबन्धनमा रहेका दुई दलहरुको सहभागिता नभई विद्यमान मन्त्रिपरिषद्ले पूर्णता पाउन नसक्ने भएकाले मन्त्रीहरुको संख्या अझै बढ्ने छ । पुष्पकमल दाहाल नेतृत्वको वर्तमान मन्त्रिपरिषद्मा नयाँले प्रवेश पाएका छन् । त्यसमा पनि अधिकांश नयाँ अनुहारका छन् । प्रधानमन्त्रीको यो कदमलाई सकारात्मक रुपमा लिइएको छ, तर नयाँ र अनुभवहीन नेतृत्वले आफूले सम्हालेको मन्त्रालयमा विगतमा भएका त्रुटि, कमी–कमजोरी, लाग्ने गरेको आरोप र आलोचनाको निरुपण कसरी गर्ने हुन् उनीहरुका सामू चुनौति पनि छ ।

मन्त्रिपरिषद्मा सामेल केही राजनीतिमा स्थापित तर अवसरबाट वञ्चितहरु समेटिएका छन् । त्यसमा पनि युवाहरुलाई अवसर प्रदान गरेर प्रधानमन्त्री दाहालले सकारात्मक कामको थालनी गरेका छन् । त्यसो त सबै ‘दूधले नुहाएर’ पदमा पुगेका हुँदैनन् र होइनन् पनि । बालुवाटार जग्गा प्रकरणमा विवादमा परेकादेखि पेशा–व्यवसायमा विवादास्पद व्यक्तिको समेत मन्त्रिपरिषद्मा प्रवेश भएको छ । यस्तोमा सेवा प्रवाह, जनताप्रतिको प्रतिबद्धता र जिम्मेवारी बहन लगायतले भविष्यमा उनीहरुको मूल्याङ्कन हुने नै छ । तर, नयाँ अनुहार त्यसमा पनि युवाहरुको बाहुल्य रहेका कारण आमनेपालीले भने उनीहरुबाट विकास, समृद्धि र जनजीवीकाको विषयमा सकारात्मक र परिणाममुखी कार्यसम्पादनको अपेक्षा गरेका छन् ।

नेपालको राजनीति ठीक बाटोबाट हिँडिरहेको छैन । ठूला र मूलधारका राजनीतिक दलहरु व्यक्तिगत तथा दलीय स्वार्थबाट मुक्त हुन सकेका छैनन् । सत्ता स्वार्थ र लिप्साले परिवर्तित राजनीतिक प्रणाली अपेक्षित ढंगले अघि बढ्न सकेको छैन । छिन–छिनमा रंग बदल्ने उनीहरुको नियतिले राजनीतिलाई नै अस्थिर र तरल बनाइरहेको छ । मूल्य, मान्यता, इमान र नैतिकताविहीन उनीहरुको गतिले उनीहरुकै प्रतिबद्धतालाई निरर्थक बनाइरहेको छ । अनि पनि नेपाली जनताले परिवर्तन र विकासको आशा मारेका छैनन् । यस्तो बेला गठन भएको नयाँ सरकार र मन्त्रिमण्डलमा सहभागी अनुहारलाई हेरेर आफ्नो अुनहारमा कान्ति ल्याउने प्रयासमा रहेका नेपालीको सपनामा तुषारापात नहोस् । त्यसमा पनि झापाका प्रतिनिधि राजेन्द्र लिङ्देनको उपप्रधानमन्त्रीको नयाँ भूमिकाले झापालीलाई गर्व गर्ने अवसर प्राप्त होस् । यही अवसरमा लिङ्देन लगायत नवगठित मन्त्रिपरिषद्को सफल, आलोचनामुक्त, विवादरहीत र प्रभावकारी कार्यसम्पादन क्षमताका लागि शुभकामना ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here