झापा, झापाको कनकाई नगरपालिकाले नगरमा रहेका भूमिहिन दलित, सुकुम्वासी र अब्यवस्थित बसोबासीहरुलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण शुरु गरेको छ ।
नगरपालिकाले बडागत रुपमा जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण शुरु गरेको हो । पहिलो चरणमा कनकाई नगरपालिका ८ का २७ परिवारलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण गरेको नगरकी भूमि शाखा संयोजक रञ्जिता कट्टेलले जानकारी दिनुभयो । उहाँका अनुसार नगरमा बसोवास गर्ने मध्ये सात हजार ९१ जनाले जग्गा धनी दर्ता प्रमाण पूर्जाका लागि आवेदन दिएका छन् । जसमध्ये पहिलो चरणमा बीस जना भूमिहिन सुकुम्वासी र सात जना अब्यवस्थित बसोबासीलाई जग्गा धनी दर्ता प्रमाण पूर्जा बितरण गरिएको हो ।कनकाई नगरपालिकाको कार्यालयमा भूमिहिन दलित, सुकुम्वासी र अब्यवस्थित बसोवासीहरुको नक्साको भेरिफिकेशन गर्दै कर्मचारी । भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरु नगरपालिकाले जग्गा धनी दर्ता प्रमाण पूर्जा वितरण सुरु गरेसँगै नक्साको अन्तिम भेरिसिकेशन गरिँदै ।
नगरमा भूमिहिन दलित तीन सय ३७, भूमिहिन सुकुम्वासी दुई हजार तीन सय २९, अब्यवस्थित बसोबासी चार हजार चार सय २५ जना रहेको बताइएको छ । जसमा कित्ता संख्या आठ हजार सात सय ७८ रहेको भूमि शाखा संयोजक कट्टेलले बताउनुभयो ।
जग्गा धनी दर्ता प्रमाण पूर्जा पाउँ भन्दै आवेदन दिएका मध्ये कनकाई ८ मा केही दिन भित्रै अन्यलाई धनीपूर्जा वितरण गरिने र बाँकी वडामा नक्साको नापजाँचको अन्तिम काम भइरहेको बताइएको छ ।
नौ वटा वडा रहेको कनकाईमा सबैभन्दा धेरे ४ नम्वर वडामा भूमिहिन दलित, सुकुम्बासी र अब्यवस्थित बसोवासीको बसोवास रहेको छ । यो वडाबाट एक हजार ७ सय ४९ जनाले जग्गा धनी प्रमाण पूर्जाका लागि आवेदन दिएका छन् भने सबैभन्दा कम वडा नम्वर ८ बाट चार सय २२ जनाको मात्रै आवेदन नगरमा परेको भूमि शाखा संयोजक कट्टेलले बताउनुभयो ।