शंकराचार्यको मूर्तिसहित रजतस्तम्भ

६ माघ २०७९, शुक्रबार मा प्रकाशित

बिर्तामोड ।

अर्जुनधारा –१ साधुटारस्थित श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठाशाला तथा सिद्धेश्वरी कामदा गौशालामा आद्य जगत्गुरु शंकराचार्यको मूर्तिसहित रजतस्तम्भ निर्माण गरिएको छ ।

वि.सं. २०५४ सालमा आयोजित विराट सन्त सम्मेलनमा आद्य जगत्गुरु शंकराचार्यले झापाको अर्जुनधारा–१ साधुटारस्थित श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठाशालालाई नेपालकै पहिलो शंकराचार्यपीठ भएको घोषणा गरेको र ‘त्यसै बेलादेखि पाठशालालाई शंकराचार्यपीठ भनेर नाम राखेको श्री शंकराचार्यपीठका व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।

श्री शंकराचार्यपीठ घोषणा भएको २५औं वर्ष तथा रजत जयन्तीको अवसर पारेर आद्य जगत्गुरु शंकराचार्यको मूर्तिसहित रजतस्तम्भ निर्माण गरिएको र उक्त रजत स्तम्भको आगामी माघ ९ गते सोमबार अनावरण गरिने कार्यक्रम रहेको उनले बताए । विभिन्न दाताहरुको आर्थिक सहयोगमा करिब पाँच लाख रुपैयाँको लागतमा उक्त रजत स्तम्भको निर्माण गरिएको बताउँदै उनले आर्थिक अभावका कारण यसअघि आद्य जगत्गुरु शंकराचार्यको मूर्तिसहित स्तम्भ निर्माण गर्न नसकिएको जानकारी दिए ।

यसैबीच श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठाशाला स्थापनाको ४७औं वार्षिकोत्सव तथा श्री शंकराचार्यपीठ घोषणाको २५औं बर्ष ‘रजत जयन्ती’को अवसर पारेर गत माघ १ गतेदेखि श्रीमद् ब्रह्मावै वर्त महापुराण पाठ कथा प्रवचन गायत्री लक्ष्य हवनात्मक एकादशाह विराट गोपाल महायज्ञ भइरहेको उनले बताए ।

आगामी माघ ११ गतेसम्म सञ्चालन हुने महायज्ञमा आचार्य शीतल कृष्णजी महाराजको प्रमुख कथाब्यास, पं. सोमनाथ खतिवडाको उपब्यास र यज्ञाचार्य हाकिमप्रसाद भण्डारीको रहने उनले बताए । आध्यात्मिक जागरण मानव सचेतना, दैनिक एक रुपैयाँ दान, एघार करोडको अक्षयकोष स्थापना महाअभियान बिस्तार, गुरुकूलमा अध्ययनरत् बटुकहरुका लागि भोजनाच्छादान व्यवस्था, गौशाला सुदृढ व्यवस्थापनका लागि पुनर्निर्माण, नियमित गौआहाराको व्यवस्था र संस्थाको सर्वाङ्गीण विकासको उदेश्यले महायज्ञको आयोजना गरिएको उनले बताए ।

महायज्ञमा २५ लाख दीप प्रज्वलन गर्ने उद्देश्य अनुसार प्रतिदिन दुई लाख बत्ती प्रज्वलन गरिँदै आइरहेको उनले जानकारी दिए । महायज्ञमा बनारसबाट आद्य जगत्गुरु शंकराचार्यद्वारा विद्यारत्न उपाधि प्राप्त गरेका तथा नौ वटा स्वर्ण पदकले विभुषित सन्त सम्राट् स्वामी सुबोधानन्द गिरीजी महाराजको दैनिक प्रवचन तथा सिद्धबाबा बलराम गिरीजी महाराजले आशिर्वचन प्रदान गरिरहेको खतिवडाले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here