‘श्वेत शिखर’ मुक्तक र ‘शंखनाद’ कविता संग्रह

७ माघ २०७९, शनिबार मा प्रकाशित

नेपाली साहित्यको भण्डारमा अरु गहन दुई कृतिहरु थपिएका छन्– ती हुन् स्रष्टा ‘चित्रा पौड्याल’का ‘श्वेत शिखर कविता संग्रह’ र ‘शंखनाद मुक्तक संग्रह’ ।

‘श्वेत शिखर कविता संग्रह’ :

स्रष्टा पौड्यालको यस कृतिको विशेषता, विद्वान तथा साहित्यकार युवराज नयाँघरेका विचारबाट जानौं– ‘कला, विचार, प्रस्तुति र शब्दहरुको उत्कृष्ट नमूना हो– कविता । कवितासँग संगीत, दर्शन र ज्ञानको सबभन्दा नजिकको नाता रहन्छ । कवि चित्रा पौड्यालको श्वेत शिखर असाध्यै कोमल र भावनाको हिसाबले तीव्र उडान भरिएको कविता कृति हो । नारी मनोविज्ञानसँग अनुभूत गरिएका विविध शिल्प र शैलीले आरेखित यी कविताहरु जति सरस, सरल र सहज छन्, त्यति नै यिनले शालीनता र प्रभावकारी शैलीमा काव्यको सुवास प्लावित भएको मैले अनुभव गरेको छु । कतै प्रकृति, कतै संस्कृति, कतै उच्छ्वास र कतै सन्त्रासका शब्दलाई साह्रै मिहिन रुपमा कवि पौड्यालद्वारा लिपिबद्ध गरिएको छ ।

निरन्तर समर्पण र साधनामा मन लागीरहोस् । अनेक बधाई । धेरै–धेरै शुभकामना ।’ यी विचारबाट जान्न सकिन्छ यस कृतिको उत्कृष्टता । यतिमात्र होइन कृतिमा राष्ट्रकवि माधवप्रसाद घिमिरेद्वारा– ‘अध्यात्मको स्वादुभूति हुन्छ, तर भन्न सकिन्न । प्राकृतिक सौन्दर्यलाई प्रतिकको रुपमा जोड्न सकियो भने जतिसुकै गूढ अध्यात्मलाई अभिव्यक्त गर्न सकिन्छ । यो सत्यलाई आत्मसात् गरि सिर्जिएका कविताको संग्रह (श्वेत शिखर)की स्रष्टा कविप्रति हार्दिक बधाईको हार्दिक शुभकामना अर्पित गर्दछु’ –भनि शुभकामना व्यक्त गरिएका छन् ।

चित्राका कविता माथि केही दृष्टि शीर्षकमा डा. यज्ञेश्वर निरौलाको विचारबाट पनि यस कृति निकै गहन रहेको जान्न सकिन्छ– ‘विभिन्न साहित्यिक संस्थान, प्रतिष्ठानमा कविता, मुक्तक वाचन गर्दै र मुहारपुस्तिका मार्फत मुक्तक तथा कविता सार्वजनिक गर्दै काव्य समाजमा प्रभाव जमाउँदै आएकी कवि चित्रा पौड्यालको स्वेत शिखर कविता संग्रह प्रकाशनले उनको प्रखर कविता प्रतिभा पाठकवर्गमा समेत अभिसञ्चारित भएको छ । यस कविता संग्रहमा ६० वटा कवितामा नारी अस्तित्व एवम् सौन्दर्य चेतना, मानव मूल्य, समाजमा देखिएका विकृत पक्ष, स्वाभिमानी चेतना, मानव चेतना परिवर्तन, समाज विकासका आधार, जीवनबोध, आध्यात्मिक चेतना, इश्वरीय चेतना, प्रेम तथा अहिंसा आदि विषयगत एवम् भावनागत परिधि प्रस्तुत गरेकी छन् ।

समाजमा नारीलाई हेर्ने दृष्टि उजागर गर्दै कविले कविताका माध्यमबाट यसरी नारी अस्तित्वको खोजी गरेकी छन्– बाटोभरि पाउजुलाई, बेडी देख्ने आँखाहरु छ्यापछ्यापती छन्, आफ्नै मान्छेहरुको हुलभित्र हतकडी र चुरा छुट्याउन नसक्ने थुप्रै छन् । (दोषी नजर) कविताबाट । यो संग्रह प्रकाशनले कवि पौड्यालको रचना चेतना उदात्त स्तरमा पुगेको महशुस हुन्छ । जीवनमूल्यको उत्थान र सामाजिक कल्याण उनका कविताको मुख्य प्रयोजन रहेको देखिन्छ । आचार्य वामनले भने जस्तो कवि पौड्यालमा पनि काव्य रचनाका दृृष्ट र अदृष्ट दुई पक्ष देखिन्छन् ।’

दोषी नजर, छोरी कहिले सुरक्षित बन्छिन्, माला र नेता, के गर्दैछौ मान्छे ? आमा, जीवन विज्ञान, धमिलो आशा, के म देश होइन ? ए लोभी मान्छे, प्रिय सावन र म, नेपाल भूमि नेपालीको प्राण, सुन्दर आँखा कि मन ? युवा आऊ देश बचाऊ, यो कथा होइन, मौन वन्दना र प्रेम रंग जस्ता धेरै रोचक कविताहरु यस संग्रहमा समेटिएका छन् ।

एउटा कविताको अंश पढौं, ‘संसार बुझ्न नपाई निर्मला, दर्दनाक मृत्यु खप्यौ, अव्यक्त वेदना र रक्ताम्य शरीरले, धर्ती पनि कोमल बनेऊ । घर, गाउँ, शहरभित्रै, नारी असुरक्षित भएपछि, बाला युवती वृद्धा कठै, सबै शिकार बनेछन्, कानून नै बलात्कृत गरियो, कहाँ हुन्छ भरोसा र सुरक्षा अब ।’ यस्तै–यस्तै शीर्षकका गहन कविताहरुले सजिएका छन् यो कृति ।

शंखनाद मुक्तक संग्रह :

यस कृतिबारे विद्वान तथा साहित्यकार ज्ञानुवाकर पौडेलका विचारबाट जानौं– ‘हेरौं पर्यावरणको विनाशलाई लिएर देखिएको यिनको चिन्ता र त्यसप्रति दायित्वबोध गरी लेखिएको एउटा चाखलाग्दो मुक्तकः सृष्टिको तालिकामा तालमेल छ हाम्रो, नगर्नु विनाश यसैमा हित सामेल छ हाम्रो, बिगारेर धर्ती धराशायी भो लौन बचाऊ, रोकौँ दोहन धर्तीकै अति भेल भो हाम्रो ।’

चित्राले मुक्तकमा व्यक्त गरेको यो अन्याय अनुभूति मलाई यति मर्मस्पर्शी लाग्यो कि पर्यावरणको विषयमा यिनले लिएको चिन्ता र दायित्वबोध केवल यिनको मात्र नभएर हामी सबैको पनि सरोकारको विषय हो जस्तो लाग्यो । यस्तो लाग्नु नै चित्राको सिर्जनात्मक सफलता हो । यिनले यी र यस्ता मुक्तकहरु लेखेर मुक्तककार बन्ने रहर मात्र पूरा गरेको होइनन् कि मौजुदा समय र समाजप्रति आफ्नो असन्तोष पनि व्यक्त गरेकी छिन् भन्ने कुरामा म विश्वस्त छु । समयसापेक्ष यस्ता मुक्तकहरु लेख्ने यस्ता होनहार कवि, मुक्तककार र गजलकारहरुको समेत राम्रो परिचय बनाइसकेकी छिन् चित्राले । विद्वान तथा साहित्यकार ज्ञानुवाकर पौडेलका यी विचारबाट नै जान्न सकिन्छ की स्रष्टा पौड्यालको यस कृति उच्चकोटीको छ ।

स्रष्टा पौड्यालका केही मुक्तकहरु– आमाबाबुभन्दा ठूलो अर्को कुनै नाता छैन, आफूलाई रित्तिएर माया दिने अर्को कुनै दाता छैन, बलियो सहारा दिऊँ वृद्ध जीवित देवतालाई, खर्च कष्ट भयो कति बुझाउँदा त्यस्तो कुनै खाता छैन । अर्को मुक्तक– गर्भवती सुत्केरीमा पनि साथ हाँकिरहिन्, कमजोर थियो शरीर गाथ हाँकिरहिन्, खास हेरविचार दया गर्ने समय होइन यो, कुलको इज्जत बचाउन हाँकिरहिन् । यस्तै–यस्तै जीवनोपयोगी, व्यवहारपरक, समय सान्दर्भिक र सन्देशमूलक मुक्तकहरुले सजिएका छन् यस शंखनाद मुक्तक कृति ।

स्रष्टा पौड्यालद्वारा आफ्ना बुबा लोकनाथ पौड्याल, आमा हेमकला पौड्यालमा समर्पित दुई सय पृष्टसम्मको प्रस्तुत सुन्दर कृतिमा, धर्म, प्रवृति, भावना, आँशु, माला, गीत, सिन्दुर, लक्ष्य, लैङ्गिक समानता, विभेद, सृष्टि, विवाह, फूल, रुप, आमाबुबा, प्रेम, नारी, नारीहिंसा, सोच, नयन, नदी, देश, नेता, वाद, देश, शरीर, समाज, लोकतन्त्र, भगवान, धरती, करुणा, पहिरन, संस्कृति, सद्भाव, मान्छे, प्राण, मृत्यू, उत्सव, शक्तिशाली राष्ट्र, मिलन, बिछोड, मेहनत, जीवन, छाल, शिक्षा, पर्यावरण जस्ता विषयमा थुप्रै मुक्तक प्रकाशित भएका छन् ।

छोटो तर गहन अर्थ प्रवाह गर्ने यो मुक्तक कम्ति मिठो छैन, संसारमा कर्म गर्दागर्दै धेरै थाकिसकेँ, खुशी अरुलाई पार्दा प्रारब्ध कति साँचिसकेँ, आफ्नै मनको लय सुन्न फुर्सद छैन, आरामै छु कति भन्नु आफैँलाई ढाँटिसकेँ । यस्तै–यस्तै रोचक मुक्तकहरु समेटिएका छन् यस कृतिमा ।

चित्रा पौड्यालको पहिलो कविता वि.सं. २०३७ सालमा ‘पहिलो चोटि मोतीलाई सम्झिँदा’ नामक कविता विश्वदीप मासिकमा प्रकाशित भएको थियो र जीवनमा पहिलो कविता वाचन कक्षा ४ मा पढ्दा गरेकी थिइन् । कृतिमा उल्लेख छ । स्रष्टा पौड्यालले कृतिमा आफ्नो कविता यात्रा उल्लेख गरेकी छिन् । स्रष्टा चित्रा पौड्यालका यी दुई कृतिअघि संयुक्त गजल संग्रह ‘उडान’ प्रकाशन भएका छन् ।

स्रष्टा पौड्यालका अध्यात्म, साहित्य र समाजसेवाप्रति रुची रहेका छन् । स्नातकोत्तरसम्मको शिक्षा हासिल गरी जीवनको लामो समयसम्म सरकारी निकाय र अन्तर्गत १८ वर्ष ‘जीवन विज्ञान प्रशिक्षक’ जस्तो जिम्मेवारी वहन गरी सेवा सम्पन्न भएका छन् र अवकाश जीवनमा साहित्यका माध्यमबाट नेपाली भाषा साहित्यको सेवामा सक्रिय रहेकी छिन् । स्रष्टा पौड्यालका उल्लेखित यी उच्च कोटीका सुन्दर दुई कृति लोकनाथ हेमकला पौड्याल ट्रष्टले प्रकाशन गरेको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here