वैदेशिक रोजगारीमा पठाउने भन्दै मानव बेचबिखन

९ माघ २०७९, सोमबार मा प्रकाशित

बिर्तामोड ।

वैदेशिक रोजगारीको नाममा मानव बेचबिखन भइरहेको माइती नेपालले जनाएको छ ।

वेरोजगार युवतीलाई राम्रो रोजगारीको प्रलोभन देखाएर मानव तस्करहरुले बेचबिखन गर्ने गरेको जनाइएको छ । कोरोना संक्रमणको समयमा सीमा–नाका बन्द भएकोमा कोरोनाको संक्रमण कम भएसँगै सीमानाका खुलेपछि रोजगारीमा लगाउने बहाना बनाएर भारत तथा अन्य मुलुकमा लगेर मानव बेचबिखन गर्ने गरेको माइती नेपालका प्रदेश १ संयोजक गोविन्द घिमिरेले जानकारी दिए ।

उनका अनुसार सन् २०२२मा पूर्वी नाका काँकरभिट्टा, बाहुनडाँगी, नकलबन्दा, भद्रपुर, गौरीगञ्ज लगायतका स्थानबाट एक सय ३४ जना महिलालाई सम्झाई–बुझाई फर्काइएको थियो । सन् २०२२मै ७६ जना महिला हराएको र तीमध्ये २५ जना फेला परेको संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा मानव बेचबिखनबिरुद्ध दुईवटा मुद्दा दर्ता गरिएको छ भने दुईवटा बलात्कार सम्बन्धी मुद्दा दर्ता गरिएको छ ।

मानव बेचबिखनबिरुद्ध काम गर्दै आएको माइती नेपालले १८ वटा घरेलु हिंसा सम्बन्धी मुद्दा मिलाएको जनाइएको छ । पूर्वी नाका प्रयोग गरेर भारत जान लागेका एक हजार ५८ जनालाई सचेतनामूलक परामर्श दिइएको र नौ हजार पाँच सय ५३ वटा सवारीसाधनलाई चेकजाँच गरिएको प्रदेश १ संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार एक जना महिलालाई भारतबाट बेचिएको अवस्थामा उद्धार गरिएको थियो ।

त्यस्तै सन् २०२१मा ६६ जनालाई सीमानाकामा रोकथाम गरेर घर फर्काएको जनाइएको छ । भारत लगायत विभिन्न स्थानबाट सो अवधिमा २२ जना महिलाको उद्धार गरिएको माइती नेपालका संयोजक घिमिरेले जानकारी दिए ।

सन् २०२१मै पनि ५८ जना महिला हराएको निवेदन परेकोमा २२ जना मात्रै फेला परेका थिए । सो अवधिमा मानव बेचबिखनबिरुद्ध एउटा मुद्दा दर्ता भएको थियो भने बलात्कार सम्बन्धी तीनवटा मुद्दा दर्ता भएको थियो । सो समयमा पाँच सय ६८ जनालाई सोधी–खोजी गर्दा ५४ जनालाई फर्काइएको थियो । सन् २०२१मा दुई हजार दुई सय ७९ सवारीसाधन चेकजाँच गरिएको माइती नेपालका संयोजक घिमिरेले बताए ।

पछिल्लो समय रोजगारीका लागि विदेश जाने महिलाको संख्या बढेसँगै माइती नेपालले जिल्ला प्रशासन कार्यालयमा नै परामर्श दिन थालेको छ । सन् २०२१मा दुई हजार एक सय ४५ जना महिलालाई राहदानी बनाउन गएको समयमा मानव बेचबिखनबिरुद्ध सचेतनामूलक परामर्श दिइएको थियो भने सन् २०२२मा तीन हजार ५१ जनालाई राहदानी बनाउन गएको समयमा परामर्श दिइएको माइती नेपालका संयोजक घिमिरेले जानकारी दिए । उनका अनुसार २५ वर्षदेखि ४० वर्ष उमेर समूहका महिलाहरु बेचबिखनको उच्च जोखिममा रहेका छन् । शिक्षित महिलाहरु नै मानव तस्करको फन्दामा परेको उनको भनाइ छ ।

मानव बेचबिखनबिरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रम गरिए पनि मानव तस्करले विभिन्न बहाना बनाउँदै महिलालाई बेचबिखन गर्ने गरेको उनको भनाइ छ । खुल्ला सीमाका कारण मानव तस्करले पैदलमार्ग भएर भारतसम्म पु¥याउने गरेकाले सीमावर्ती क्षेत्रमा निगरानी बढाउनुपर्ने उनको भनाइ छ ।

नेपाल प्रहरीले मानव बेचबिखन अनुसन्धान व्यूरो नै स्थापना गरेर मानव बेचबिखन गर्नेहरुबिरुद्ध अनुसन्धान र कारवाही गर्दै आएको छ । प्रहरीको आर्थिक वर्ष २०७८÷०७९को साउनदेखि असारसम्मको तथ्यांकले मानव बेचबिखनको घटना लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै देखिएको उल्लेख छ । समग्र मानव बेचबिखनको घटनाबाट ५०.२४ प्रतिशत महिला र ३८.८६ प्रतिशत बालिका पीडित देखिन्छन् भने ७३.८८ प्रतिशत पुरुष पीडक देखिएका छन् । कतिपय घटनामा महिलाको संलग्नता देखिएको नेपाल प्रहरीले जनाएको छ ।

एक वर्षको अवधिमा प्रदेश १का १४ जिल्लाबाट मानव बेचबिखनबिरुद्ध १८ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ । प्रहरीका अनुसार १९देखि २५ वर्ष उमेर समूहका महिला सबैभन्दा बढी जोखिममा रहेका छन् । शैक्षिक योग्यताका आधारमा सामान्य पढे–लेखेका महिलाहरु जोखिममा देखिएको प्रहरीले जनाएको छ । मानव तस्करले विभिन्न प्रविधिको प्रयोग गर्दै महिलालाई विभिन्न स्थानमा बोलाउने राम्रो रोजगारीको व्यवस्था गर्ने लगायतका प्रलोभनमा पारेर बेचबिखन गर्ने गरेको जनाइएको छ । पछिल्लो समय भारतसँगै अन्य खाडी मुलुकमा र युरोपतर्फ पनि महिलालाई आकर्षक रोजगारीको बहानामा बेचबिखनका लागि लैजाने गरेको नेपाल प्रहरीले जनाएको छ ।

यसैबीच मानव बेचबिखनबिरुद्ध जनचेतना जगाउने उद्देश्यले वीरता लेडी जेसीजले मंगलबार काँकरभिट्टामा सरोकारवाला निकायसँग अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको वीरता लेडी जेसीजकी अध्यक्ष संगीता गिरीले जानकारी दिइन् । उनका अनुसार पछिल्लो समय स्थलमार्ग भएर भइरहेका मानव बेचबिखन र त्यसमा सरोकारवाला निकायले खेल्नुपर्ने भूमिकाका विषयमा अन्तरक्रिया गरिने जनाइएको छ । विभिन्न सामाजिक काम गर्दै आएको वीरता लेडी जेसीजले काँकरभिट्टामा उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here