चौँरीदेउरालीमा बुद्धको मूर्ति स्थापना

९ माघ २०७९, सोमबार मा प्रकाशित

काभ्रेपलाञ्चोक,

काभ्रेको चौँरीदेउराली गाउँपालिका–६ आरुबोटमा २२ फिट अग्लो शाक्यमुनि गौतमबुद्धको मूर्ति निर्माण गरिएको छ । मूर्तिको २८५९औँ सोनाम ल्होछारको अवसरमा आइतबार प्राण प्रतिष्ठासहित उद्घाटन गरिएको छ ।

मूर्ति स्थानीय धिनिम्हेन्दो तामाङ उत्थान समाजको अग्रसरतामा सरकार तथा दाताको सहयोगमा रु ७० लाखमा निर्माण गरिएको हो । ल्होछार विशेष सांस्कृतिक कार्यक्रमका अवसरमा उक्त मूर्तिको सांसद गोकुलप्रसाद बाँस्कोटाले सार्वजनिक गर्नुभएको छ । उहाँले रमणीय स्थल आरुबोटमा शान्तिका अग्रदूत बुद्धको मूर्ति स्थापनाले थप पर्यटकीय आकर्षण बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

मूर्तिमा लामा गुरु खेन रिन्पोर्चे मुनसेल दोर्जे प्राण प्रतिष्ठा गर्नुभएको हो । २०७५ माघ २२ गते सोनाम ल्होछारको अवसरमा उक्त मूर्तिको शिलान्यास गरिएको थियो । समाजका अध्यक्ष राजकुमार मोक्तानले सरकारबाट रु ५० लाख र जनश्रमदान तथा दाताबाट रु २० लाख सहयोगबाट मूर्ति निर्माण गरिएको बताउनुभयो ।

कार्यक्रममा पूर्वसांसद नविना लामा, एमालेका जिल्ला सचिव राजन भुर्तेल, स्थानीय समाजसेवी सन्तविर लामा, नारायण गौतमलगायतले धार्मिक पर्यटकीय दृष्टिले थप गन्तव्य बनाइएकोमा खुसी व्यक्त गर्नुभएको थियो । सो अवसरमा लामागुरु दोर्जेले बौद्ध धर्मसम्बन्धी विशेष प्रवचन दिनुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here