भारतीय मूर्तिले विस्थापन गर्दै नेपाली मूर्तिकला

0
179

दिपेश राजवंशी,
झापा।

नेपालको मूर्तिकलामा भएको मौलिकताले विश्वमा नै अलग पहिचान स्थापित गरेको छ । नेपालमा रहेका विभिन्न स्थानका मठमन्दिरका मूर्तिहरुले कला क्षेत्रको सम्पन्नता देखाएको छ । झट्ट हेर्दा सामान्य लागेता पनि मूर्तिमा मूर्तिकारले जीवन दिएका हुन्छन् ।

कुनै मूर्ति काठ, धातु वा ढुङ्गामा खोपेर बनाइन्छ भने कुनै माटो वा सिमेन्टबाट बनाइने गरिन्छ । देवीदेवताको मूर्तिहरुको नेपाली समाजमा छुट्टै महत्व छ ।

जातजाति र समुदाय अनुसार वर्षैभरि विवाह, पूजा लगायत विभिन्न काजकिरियामा मूर्तिको आवश्यकता परे पनि चाडपर्वको बेला भने मूर्तिको विशेष माग हुन्छ । विश्वकर्मा पूजा, दशंै, तिहार र सरस्वती पूजामा भने मूर्तिको माग अरु बेलाभन्दा बढी नै हुने गरेको बताउँछन्– भद्रपुर–६ मोतियाबारी निवासी ४८ वर्षीय मूर्तिकार बिष्णु राजवंशी । मूर्तिकार राजवंशीले मूर्ति बनाउन थालेको चार दशकभन्दा बढी भएको छ । मूर्तिकला बिष्णुको पुख्र्यौली पेशा पनि हो । उनका पुर्खाहरु पनि माटाका मूर्ति बनाउने र तिनको बिक्री–वितरण गरेर राम्रो आय–आर्जन गर्ने गर्दथे ।

सानैदेखि आफ्नो बुबासंग माटोमा खेल्ने र मूर्ति बनाउन चासो राख्ने बिष्णु राजवंशी कलिलो उमेरमै एक सिपालु कालीगढ बने । अहिले उनी वर्षेनि सयौंको संख्यामा मूर्ति बनाउने गर्छन् । उनले बनाउने अधिकांश मूर्तिमा विभिन्न देवीदेवताकै हुन्छन् । उनले दुई हजार रुपैयाँदेखि लाखौ मूल्य पर्ने मूर्ति बनाउने गरेका छन् । माटो र सिमेन्टको मूर्ति बनाउने राजवंशीका मूर्तिहरु झापा लगायत अन्य जिल्लाहरुमा समेत बिक्री हुने गरेको छ । पहिले मूर्ति बनाउन चाहिने विशेष प्रकारको माटो स्थानीय क्षेत्रमै सजिलै उपलब्ध हुन्थ्यो भने अहिले आएर माटो पाउन गाह्रो भएको उनको अनुभव छ । अहिलेसम्म बाह्रदर्शी गाउँपालिकाबाट उनलाई चाहिने माटो ल्याउने गरेका छन् ।

पछिल्ला दिनहरुमा मूर्तिकलामा देखिएका केही चुनौतिहरुको कारण आफ्नो पुख्र्यौली पेशा चौपट भएको बताउँछन्– मूर्तिकार राजवंशी । उनका अनुसार बढ्दो अव्यवस्थित शहरीकरणका कारण मूर्ति बनाउन प्रयोग गरिने माटो उपलब्ध नहुनु र निर्वाध रुपमा भारतीय मूर्तिहरु नेपाल प्रवेश गर्नु नै उनको पेशाको प्रमुख चुनौति हो ।

यी चुनौति पन्छाउन सके बेरोजगारी जस्तो समस्या रहेको हाम्रो देशमा मूर्तिकलामा राम्रो अवसर हुने उनी बताउँछन् । उनी भन्छन्– सस्तोमा मूर्ति पाउने भ्रममा नेपालीहरु सीमा–पारि गएर मूर्ति ल्याउने गर्छन् तर भारतीय बजारबाट ल्याइएका मूर्तिभन्दा नेपाली मूर्तिहरु सस्तो र राम्रो हुन्छ । खुल्ला सीमानाका कारण भारतबाट सजिलै मूर्तिहरु नेपाल आउने भएकाले सिजनमा पनि आफ्नो मूर्तिहरु बिक्री हुन कम भएकोमा उनी चिन्तित छन् ।

मूर्ति बिक्री गरेर एक लाखसम्म औसत मासिक आम्दानी गर्ने मूर्तिकार राजवंशी भन्छन्– सीमामा कडाइ गरे नेपाली मूर्तिकारहरुले उत्पादन बढाउनुपर्ने हुन्छ र यसको लागि थप जनशक्ति आवश्यकता पर्ने भएकाले बेरोजगार युवाहरुको लागि स्वदेशमै रोजगारी सिर्जना गर्न सकिन्छ । मूर्तिको आयातमा कडाइ गर्दा एकातिर परम्परागत ज्ञान, सिपको सम्बद्र्धन हुन्छ भने अर्कातिर युवाहरुलाई उद्यमसिल बनाइ आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।

दैनिक उपभोग्य वस्तुसँगै पूजा तथा चाडपर्वमा चाहिने मूर्ति लिन धेरै नेपालीहरु छिमेकी मुलुकका बजारमा पुग्ने गरेका छन् । यसरी यी वस्तुहरु ल्याउँदा स्वदेशी उत्पादनले बजार गुमाउनुको साथै हाम्रा परम्परागत ज्ञान, सिप हराउने खतरा बढिरहेकोमा राजवंशीले चिन्ता प्रकट गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here