रञ्जना फुयाँल (काफ्ले)
नारी भन्नाले स्त्री जातिलाई बुझिन्छ । शिक्षा भन्नाले विभिन्न प्रकारको ज्ञान या भनौं बुद्धि बुझिन्छ । अतः यसरी हेर्दा नारी वर्गलाई दिइने शिक्षा नै नारी शिक्षा हो । नेपाली समाज पुरुष प्रधान भएको हुँदा पुरुषहरुको हाराहारीमा महिलाहरुले समान अधिकार र अवसर पाएको पाइदैन । समानताका लागि महिलाहरुले ठूलो संघर्ष गर्नु परिरहेको देखिन्छ । विकसित देशहरुमा महिला पुरुष समान हुन्छन् । तर नेपाल जस्तो विकाशोन्मुख देशमा महिला वर्गको स्थिति निकै दुखदायी छ । यस्तो स्थितिबाट महिलाहरुलाई उन्मुक्ति दिन एकै रथका दुई पाङ्ग्राका रुपमा लिइने नारी र पुरुषलाई समान स्तरमा पु¥याउन नारी शिक्षाको अत्यन्त महत्वपूर्ण भूमिका रहन जान्छ । जसले महिलालाई विकास निर्माणका प्रत्येक कार्यमा सरिक बनाउँछ । पुरुषसँगै काँधमा काँध मिलाएर समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्न तब मात्र महिला वर्ग सक्षम हुनेछन् । जब उनीहरुले नारी शिक्षाको अवधारणालाई सहि रुपमा उपयोग गर्न पाउँछन् ।
सृष्टिको सञ्चालनका लागि अत्यन्त महत्वपूर्ण भूमिका खेल्ने महिला वर्ग समाजका महत्वपूर्ण अंग हुन् । घर भित्रका सम्पूर्ण कामहरु गरेर घरबाहिरका काम पनि गर्न सक्ने खुबी भएका महिलाहरुले माया ममता दिएर आफ्नो सन्तानलाई हुर्काउछन्, बढाउँछन् अनि खेलाउँछन् । एउटा सिङ्गो समाजलाई कुशलतापूर्वक सञ्चालन गर्न सक्ने दक्षता भएकी एक महिलालाई हेयको भावले हेर्नु विडम्बनाको कुरा छ । परिवारमा छोराको जन्म हुँदा हर्ष र उल्लास छाउने तर छोरी जन्मदा निरास फैलिने ! आजको वैज्ञानिक युगमा पनि यस्तो प्रवृत्ति चुम्बक जस्तो भएर अडिएको छ । अझै पनि छोरीहरु शिक्षाको ज्योतिबाट बञ्चित भइ चुकाचौकामा मात्र सीमित हुन पुगेका छन् । समयले फड्को मारिसकेको छ । सभ्य समाज नारी पुरुषको लैङ्गिक भेदभावभन्दा माथि उठि सकेको छ । तैपनि किन आज कताकता असक्षमताको दियो दनदनी दन्किरहेको छ ? अज्ञान, अशिक्षा, रुढीवादले ग्रसित समाजमा किन उज्यालो देख्न पाइएको छैन ? कारण अशिक्षा नै हो । समाजको आधा हिस्सापछि परेपछि उज्जवल भविष्य आधारै कहाँ रहन्छ र ?
अध्यारो हटेर उज्यालो हुन सूर्य उदाउनु पर्छ । सूर्य उदाउन पक्कै पनि पृथ्वी घुम्नै पर्ने हुन्छ । महिला भनेको पृथ्वी हुन् जब उनीहरु सबैले शिक्षा पाउँछन् । तब सूर्य उदाउँछ । त्यसैले त समाजमा न्यानो उज्यालो भित्र्याउँछ । महिलाहरुलाई विविध शिक्षा दिएर सक्षम सबल बनाइनु पर्छ । एउटी शिक्षित आमाले आफ्नो सन्तालाई सानैदेखि सदाचार एवम् सत्मार्ग निर्देशित गर्छिन् । उसलाई व्यवहारिक कुशलताको ज्ञानले सुसज्जित गराएर राष्ट्र निर्माणका लागि योग्य जनशक्ति बनाउन सक्छिन् । यदी नारी शिशित छिन् भने उनले अपहेलित तथा तिरस्कृत भएर बाच्नु पर्दैन । समय अनुसार दुर्गा, काली, सरस्वती, लक्ष्मीको रुप धारण गर्न उनले सक्छिन् । जीवन चक्रमा एउटा अंगको अभाव हुँदा सिङ्गो शरिरले नै असर भोग्नु पर्ने हुन्छ । त्यसैले नारी जाति अपहेलित, पीडित र अपमानित हुँदा सिङ्गो युगले पीडा बोध गर्नु पर्ने परिस्थिति उत्पन्न हुन्छ । यदी पीडा बोध नगर्ने हो भने लैङ्गिक देष्टिले नारी जातिमा गरिने भेदभावको अन्त्य गरी नारी पुरुष दुवैलाई समान अवसरको श्रृजना गर्नु जरुरी छ ।
श्रद्धा र सम्मानपूर्वक दृष्टिले नारीको गहन भूमिका स्वीकार गरेर तथ्य बोध गरी महिला नारी शिक्षालाई अनिवार्य रुपमा हाम्रो समाजले लागू गर्नु जरुरी छ । हाम्रो देशमा महिलाको समाजिक स्तर अभिवृद्धि गर्ने दृष्टिले नारी शिक्षा कार्यक्रम समेत सञ्चालन गरिएको छ । बाल, प्रौढ र महिला साक्षरता कक्षा र प्राथमिक कक्षामा निःशुल्क पुस्तक वितरण गरिनु महिला शिक्षाका उल्लेखनिक पाटो हुन् । तर सरकारी पक्षबाट जोड दिँदा मात्र महिला साक्षर हुन्छन् भन्ने हुँदैन । सम्पूर्ण नारी वर्गलाई शिक्षित बनाउने हो भने हामी सबैको मष्तिस्कमा रहेको संकुचित मानसिकतमा परिवर्तन गर्नु जरुरी छ ।
महिलाहरुसँग सम्बन्धित ऐन, कानुन, नीति र नियमहरुलाई व्यवहारिक कार्यान्वयको पक्षमा जोड दिइ उनीहरुको सहभागितालाई व्यापकता दिइनु पर्छ । मानसिक एवम् व्यवहारिक रुपमा प्रत्येक घर, टोल, गाउँ, समाज अनि सिङ्गो राष्ट्रबाट नारी पुरुष दुवैलाई समान व्यवहारको थालनी गरिनु पर्छ । अनि मात्र घरधन्दा या भनौं चुलो चौकामा सीमित रहेका कतिपय नेपाली नारीहरुको जीवन स्तर उकासिने छ । अन्ततः देश विकासको मार्ग तर्फ उन्मुख हुनेछ ।