शिवसताक्षी ८ का सुत्केरीले पाए वडाबाट पोसिलो खानेकुरा

0
191

झिलझिले,

झापाको शिवसताक्षीमा सरकारले तोकेको स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परिक्षण गर्ने सुत्केरी आमा र नवजात शिशुलाई पोषण युक्त खानेकुरा तथा न्यानो कपडा उपहार दिइएको छ ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ८ ले वडामा यो कार्यक्रम पहिलो पटक लागु गरेको हो । आर्थिक वर्ष ०७९—०८० को वडा सिलिङ बजेटबाट वडामा यो कार्यक्रम लागु गरिएको वडा सचिव पुष्पलाल पाण्डेले बताए । मंगलबार वडा कार्यपालिकामा एक कार्यक्रमको आयोजना गर्दे वडा अध्यक्ष सन्तकुमार फेउदिनले ‘सुत्केरी आमा तथा नवजात शिसु पोषण’ कार्यक्रमको सुरुवात गरे ।

नवजात शिशु एवम् गर्भवती तथा सुत्केरी महिलाको स्वास्थ्य बुझ्नका लागि वडा कार्यपालिकाले वडा भित्रका स्वास्थ्यकर्मीहरू वडामा परिचालित गरेको थियो । वडा सदस्य विवेक दोर्जे थिंङ, ज्ञान प्रसाद लुइेटेल, रिता तामाङ र टिकामाया विक पनि सुत्केरी आमाको लगत संकलनका लागि वडाका टोल टोलमा पुगेका थिए ।

वडा भित्रको नागरिक, जन्मिएको ३५ दिन भित्र जन्म दर्ता, सरकारले तोकेको स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी भएकी आमा र गर्भावस्थामा वडा भित्रकै सामुदायिक स्वास्थ्य संस्थामा नियमित स्वास्थ्य परिक्षण गरेका सुत्केरी आमाले वडाबाट यो सुविधा पाउने छ । अन्यले नपाउने वडा अध्यक्ष फेउदिनले बताए । वडाले यो कार्यक्रमका लागि आर्थिक वर्ष ०७९÷०८० का लागि ३ लाख बजेट विनियोजन गरेको छ ।

वडाले १ थान ल्याँङकेट, १ केजी मौरीको मह, बेवी सुट, पोषण युक्त खानेकुरा, नौनी घ्यु, र आयुर्वेदिक शतावरी चुर्ण दिएको छ । वडा अध्यक्ष फेउदिनले २६ जना आमालाई पोषण युक्त खानेकुरा र न्यानो कपडा दिए । अन्यलाई घरघरै पुगेर प्रदान गरिने उनले बताए ।

यो कार्यक्रम सुरु भएपछि तोकिएको समयमा नियमित रुपमा गर्भ परीक्षण गराउने, स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति हुने तथा बच्चा र आमाको पोषण सुधारमा सहयोग पुग्ने वडा अध्यक्षको ठम्याई छ । उनले भने, ‘नेपालको संविधानको धारा ३८ को उपधारा २ मा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यसम्बन्धी हक हुनेछ भन्ने उल्लेख छ । त्यसै अनुरुप यो कार्यक्रम वडाले संचालन गरेको हो ।’

सुत्केरी आमा तथा नवजात शिसु पोषण कार्यक्रम वडामा संचालन भएपछि यसका लाभग्राहीले यसले खुसी व्यक्त गरेका छन् । उनिहरुले मख्ख पर्दे भने, ‘यस्ता कार्यक्रमले निरन्तरता पाओस् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here