आयात–निर्यात सहज बनाउन उपप्रधानमन्त्रीको ध्यानाकर्षण

१८ माघ २०७९, बुधबार मा प्रकाशित

झापा ।

मेची नदीमा पुल निर्माण भएसँगै नेपालतर्फको सीमा बजारको व्यापार व्यवसाय खस्किँदै गएको भन्दै भद्रपुरका उद्योगी व्यवसायीले उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री राजेन्द्रप्रसाद लिङ्देनको ध्यानाकर्षण गराएका छन् ।

उद्योगी व्यवसायीले उपप्रधानमन्त्री लिङ्देनलाई भेटेर सीमा नाकामा उत्पन्न समस्या र चिया निकासीमा भारत सरकारले लिएको नीतिका बारेमा जानकारी गराएको नेपाल भारत मैत्री संघ झापाका अध्यक्ष प्रदीपमणि रेग्मीले जानकारी दिए ।

मेची पुलको भद्रपुर–गलगलिया नाका भएर आयात निर्यात सहज गर्न तथा नेपाली चियालाई यसै नाकाबाट भारत लैजान व्यवस्था कार्यान्वयनमा ल्याउन उपप्रधानमन्त्री लिङ्देन समक्ष उद्योगी व्यवसायीले आग्रह गरेको रेग्मीले बताए । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित लिङ्देन उपप्रधानमन्त्री बनेकोले यहाँका उद्योगी व्यवसायीहरूले कृषि, सिञ्चाइको विद्युत्मा अनुदान प्रदान गर्न पनि माग गरेका छन् ।

यता उपप्रधानमन्त्री लिङ्देनले उद्योगी व्यवसायीले उठाएको मागप्रति आफू सकारात्मक रहेको र भद्रपुर नाकाको स्तरोन्नतिको लागि पहल गर्ने बताएका छन् । उपप्रधानमन्त्री लिङ्देनलाई चिया उद्योगी चण्डीप्रसाद पराजुली, राजेन्द्रसिंह राजवंशी, झापा उद्योग संघका अध्यक्ष यमबहादुर श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ता लगायतको टोलीले भेट गरेको थियो ।

मेची पुलको उद्घाटन २०७५ साल माघ १७ गतेका दिन पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्षका केपी शर्मा ओलीले गरेका थिए । पुल सञ्चालनमा आएको चार बर्ष बित्न लाग्दा समेत भद्रपुर भन्सार कार्यालयको पूर्वाधार निर्माणसँगै स्तरोन्नतिको काम सुस्त छ । अहिले यो नाकाबाट सानो परिमाणमा मात्र सरसामान आयात भइरहेको छ भने निर्यात हुन सकेको छैन ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here