भगवान रामको मूर्ति बनाउन ‘देवशीला’ लिएर अयोध्या लागे विमलेन्द्र निधी

0
177

काठमाडौं ।

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधी भारतको उत्तर प्रदेशमा निर्माणाधीन राम मन्दिरमा भगवान रामको मूति बनाउन ‘देवशीला’ हस्तान्तरण गर्न आज जनकपुरबाट अयोध्या लागेका छन् ।

जनकपुरमा विशेष पूजा गरी कालीगण्डकीको ‘देवशीला’ अयोध्या लगिएको हो । म्याग्दीको कालीगण्डकीबाट शनिबार साँझ जनकपुरधाम पुगेका दुई थान देवशीलाको आइतबार बिहान जानकी मन्दिरमा विशेष पूजा गरी नेता निधी ठूलो जमातसहित अयोध्या लागेका हुन् । अयोध्या लाग्नुअघि नेता निधी र उनकी पत्नी अनामिकाले जानकी मन्दिर प्राङ्गणमा दुवै देवशीलाको विशेष पूजा गरेका थिए ।

देवशीला पूजा कार्यक्रममा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री सरोजकुमार यादव, सभामुख रामचन्द्र मण्डल उपस्थित रहेका थिए । सो कार्यक्रममा सयौंको संख्यामा हिन्दू आस्थावानहरुको उपस्थिति रहेको थियो ।

रामको मूर्ति निर्माणका लागि कालीगण्डकीको शीला उपलब्ध गराइ दिन अयोध्यास्थित राम मन्दिर निर्माण समितिबाट प्रस्ताव आएपछि त्यसका लागि कांग्रेस नेता निधीले सहजीकरण गरेका थिए । शीला पठाउने विषयलाई लिएर उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका नेतासँग संवाद गरेका थिए । गत पुस ३ गते बसेको मन्त्रिपरिषद बैठकले कालीगण्डकी किनारबाट दुई थान शीला जनकपुर हुँदै अयोध्यासम्म पठाउन स्वीकृति प्रदान गरेको थियो ।

जनकपुर पठाउनुअघि शीला भेटिएको कालीगण्डकीमा १ माघमा क्षमा पूजा भएको थियो । क्षमा पूजा पनि कांग्रेस नेता निधी र उनकी पत्नी अनामिकाले गरेका थिए ।

कालीगण्डकीको शिलाबाट निर्माण हुनेछ अयोध्यामा भगवान् रामको मुख्य मूर्ति

त्रेता युगमा भगवान राम र सीताको विवाह भएको मान्यता छ । अयोध्यामा राम मन्दिर निर्माण भइरहँदा उनको ससुराली जनकपुरधामबाट मूर्ति निर्माणका लागि उपहारस्वरूप शीला पठाउन लागिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासको भनाइ छ ।मिथिला परम्पराअनुसार शीलासँगै जनकपुरधामका तर्फबाट मिठाइ, लत्ताकपडा लगायतका कोसेलीसहित पाहुर पनि पठाइएको छ ।

जनकपुरबाट भारतको मुजफ्फरपुर, गोरखपुर हुँदै दुवै शीला बुधबार अयोध्या पुर्याइने छ । राम मन्दिर निर्माण समितिलाई नेपालको तर्फबाट शीला नेता निधीले विशेष कार्यक्रमकाबीच बुधबार नै हस्तान्तरण गर्नेछन् ।

दुवै शीला अयोध्यासम्म पुर्याउन निधी, उनको परिवार, जानकी मन्दिरका महन्त रामपपेश्वर दास, उत्तराधिकारी महन्त रामरोशन दास, जनकपुरका मेयर, हिन्दू परिषदका पदाधिकारी लगायत सहभागी रहेका छन् । पत्रकार धैर्यकान्त दत्तका अनुसार ३० बढी गाडी र दुई वटा ट्रक अयोध्या लागेका छन् । बिहान १० बजेतिर लागेको यो अयोध्या यात्रा नेपाल भारत सीमामा पुग्न पौने ४ घण्टा लागेको थियो ।

भारतको मुजफ्फरपुर बास बस्ने कार्यक्रम तय भएको छ । गोरखपुर पुगिने र पर्सीमात्रै अयोध्या पुगिने दत्तले बताए । उक्त देवशीला लिन निर्माण समितिका महासचिव राजेन्द्र सिंह रोशन आएका थिए । देवशीला पुर्याउन भारत जाने क्रममा उक्त टिमलाई प्रत्येक गाउँमा गेट बनाएर स्वागत गरिएको छ ।

नेपालको देवपुरा, दंगौली, नगराइन, जटहीसम्म सीमामा स्थानीयले गेट बनाएर स्वागत गरेका थिए । साथै उनीहरुले रामको भजनकीर्तनसमेत गरेका पिथए । त्यस्तै त्रिपरम सीमामा हजौरौं भारतीयले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here