किचकबध मेलामा भक्तजनको घुइ“चो

0
169

झापा, महाभारतकालीन किंवदन्तीसँग जोडिएको ऐतिहासिक किचकबध धार्मिक मेलामा आइतवार श्रद्धालु तथा भक्तजनहरूको घुइँचो लागेको थियो । हरेक वर्ष माघे शुक्ल पूर्णिमा र स्वस्थानी व्रतका समापनका दिन किचकबध मेला लाग्दै आएको छ ।
कोरोना महामारीका कारण बिगत दुई वर्ष किचकबध धार्मिक मेलामा खासै भीडभाड नदेखिए पनि यसबर्ष हजारौँको संख्यामा श्रद्धालु तथा भक्तजनहरूको सहभागिता रहेको ऐतिहासिक किचकबध, धार्मिक तथा पर्यटकीय स्थल संरक्षण समितिका अध्यक्ष दिलबहादुर थेबेले जानकारी दिए । संरक्षण समितिले आफंैले मेलाको आयोजना नगरी ठेकेदारलाई जिम्मा लगाउँदा मेलामा आउने श्रद्धालु तथा भक्तजनहरूको उचित व्यवस्थापन मिलाउन नसकेको समितिका सहसचिव गणेश ढुङ्गानाले बताए ।
भद्रपुर नगरपालिका–२ र ३ नम्बर वडामा पर्ने किचकबध धार्मिकस्थलको पोखरीमा माघे शुल्क पूर्णिमा दिन स्वतःस्फूर्त पानी आउने गरेकाले सो पोखरीमा नुहाउँदा व्रतालु भक्तजनहरूले इच्छाएको मनकामना पूरा हुने धार्मिक विश्वास छ ।
भक्तजनहरूले पोखरीमा पैसा फाल्ने, पान र सुपारी राखेर पूजा अर्चना गरी परेवा उडाउने धार्मिक प्रचलन रहेको छ । भक्तजनहरूले भीमसेनले कीचकलाई वध गरेको मूर्तिमा समेत पूजाअर्चना गर्छन् ।
किचकबध मेलामा झापासहित पूर्वका विभिन्न जिल्लासँगै छिमेकी राष्ट्र भारतबाट समेत भक्तजनहरू आउने गरेका छन् । महाभारतकालीन किंवदन्ती अनुसार बिराट राजाका साला किचक सेनापति थिए । पाँच पाण्डवकी रानी द्रौपदीको यौवन र रूप माथि कुदृष्टि राख्ने सेनापति किचकलाई भीमसेनले मुड्कीले हानेर मारेको किंवदन्ती छ ।
सोही कथावस्तुलाई आधार मानेर यस ठाउँको नाम किचकबध राखिएको र पछि किचकबध ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलको नामकरण गरिएको हो । यता किचकबध धार्मिक मेलाको अवसरमा भद्रपुर नगरपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here