नमूना सामुदायिक वनको अध्यक्षमा राई निर्वाचित

0
457

अर्जुनधारा, झापाको अर्जुनधारा–९स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहको सोमबार सम्पन्न निर्वाचनबाट अध्यक्षमा ५२३ मत प्राप्त गरी जागिरमान राई निर्वाचित भएका छन् ।
उनका निकतम प्रतिष्पर्धी समूहका निवर्तमान अध्यक्ष भानुभक्त श्रेष्ठलाई १३२ मतले पराजित गर्दै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । पराजित हुने श्रेष्ठले ३९१ र अध्यक्ष पदका अर्का प्रतिष्पर्धी भक्तिप्रसाद रिमालले ३५ मत प्राप्त गरेका थिए ।
त्यसैगरी उपाध्यक्षमा टिकामाया मैनाली(६४८), सचिवमा मोहन चौलागाईं(५३९), सहसचिवमा अञ्जन तामाङ(५४४) निर्वाचित भएका छन् । पराजित हुने उपाध्यक्ष, सचिव र सहसचिवका निकटतम प्रतिष्पर्धीहरु सुशिला राईले २३२, राजकुमार महतराले २८४ र भानुप्रकाश चापागाईंले २५४ मत प्राप्त गरेका थिए ।
त्यस्तै सदस्यमा क्षेत्र नं.१बाट श्यामबहादुर मगर(१७३), क्षेत्र नं.३बाट गीता चौधरी (१४२) र देवीप्रसाद मुखिया(११५), क्षेत्र नं.४बाट मनरथ पाण्डे(१०९) निर्वाचित भएका छन् । त्यसैगरी कोषाध्यक्षमा मीनादेवी कार्की, सदस्यमा क्षेत्र नं.बाट रीता पौडेल, क्षेत्र नं.२बाट धनकुमार तामाङ र सदस्यमा क्षेत्र नं.४बाट रेनुका मग्राती निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिव्यप्रसाद कट्टेलले जानकारी दिए ।
संयोजक कट्टेलका अनुसार क्षेत्र नं.२को महिला सदस्यमा भने कसैको उम्मेद्वारी नपरेको बताइएको छ । विधान अनुसार समूहको १५ सदस्यीय कार्यसमितिमध्ये २ जना सदस्य बैठकबाट मनोनित हुने व्यवस्था रहेको छ ।
समूहको कार्यालय प्राङ्गणमा भएको निर्वाचनमा जम्मा मतदाता संख्या १६४७ जनामध्ये १०५४ जना मतदानमा सहभागि भएको निर्वाचन समितिले जनाएको छ । १०५४ मतपत्रमध्ये ९४९ मतपत्र सदर, १०५ मतपत्र आंशिक बदर र ३५ मतपत्र पूर्ण बदर भएको बताइएको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here