अर्जुनधारा,झापाको अर्जुनधारा नगरपालिका अन्र्तगत रहेको शनिश्चरे आयुर्वेद औषधालयको आयोजनामा एक दिने सचेतनामूलक कार्यक्रम झापाको अर्जुनधारामा बुधबार सम्पन्न भएको छ ।
अर्जुनधारा–६स्थित वडा समितिको कार्यालयमा आयोजित उक्त कार्यक्रम आयुर्वेद तथा स्वस्थ जीवनशैली सम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरिएको औषधालयका प्रमुख वरिष्ठ कविराज अनिल ठाकुरले जानकारी दिए ।
वडाध्यक्ष हरिशचन्द्र बाँस्तोलाको अध्यक्षतामा आयोजित कार्यक्रममा सहभागीहरुलाई आयुर्वेदको परिचय र महत्व, आयुर्वेद सम्बन्धी सरकारी संस्थाहरुबाट पाइने सेवा र संरचनाहरुको अवस्था, खानपिन, योग, व्यायामलगायतका विषयमा सहजिकरण गरिएको थियो ।
सहजकर्ताद्वय औषधालयका प्रमुख ठाकुर र शिवसताक्षीस्थित दुधे आयुर्वेद औषधालयका प्रमुख कविराज निरीक्षक राजेन्द्र पोखरेलले सहजिकरण गरेको कार्यक्रममा २८ जना सहभागी रहेको बताइएको छ ।
सोही किसिमको कार्यक्रम यस अघि अर्जुनधारा–१स्थित वडा समितिको कार्यालयमा पनि सञ्चालन गरिएको औषधालयका प्रमुख ठाकुरले बताए । उक्त कार्यक्रममा ४० जनाको सहभागिता रहेको थियो ।
गत आर्थिक वर्ष ०७८÷०७९को स्वीकृत वार्षिक बजेट, नीति तथा कार्यक्रम अन्र्तगत विभिन्न वडामा सञ्चालन भएको उक्त कार्यक्रम चालु आर्थिक वर्ष ०७९÷०८०मा पनि निरन्तरता दिइएको हो ।































