कनकाईको १३ औं राष्ट्रपति खेलमा कन्काई मावि प्रथम

0
357

तीर्थराज खरेल
सुरुङ्गा, झापाको कनकाई नगरपालिकामा पालिकाभरिका विद्यालयको सहभागितामा सम्पन्न १३ औं राष्ट्रपति रनिङ शिल्ड छनौट खेलमा कन्काई मावि सुरुङ्गा प्रथम भएको छ ।
कनकाई नगर खेलकुद विकास समिति र कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको संयुक्त आयोजनामा भएको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा २३ स्वर्ण, ७ रजत र १४ कास्यसहित कन्काई मावि सुरुङ्गा प्रथम भएको छ भने ७ स्वर्ण, ११ रजत र ६ कास्य पदकसहित आदर्श विद्यामन्दिर मावि घैलाडुब्बा द्वितीय भएको छ । कन्काई मावि विजेता भएपछि खेलकुद विभागका इञ्चार्ज खेमराज भट्टराई, खेलकुद समितिका संयोजक शिशिर तिम्सिना लगायतले विजेता खेलाडीलाई बधाई दिएका थिए ।

Exif_JPEG_420

कनकाई नगरको छनोट प्रतियोगिता गत माघ २३ देखि शुरु भएको थियो । कबड्डी, एथलेटिक्स, भलिबल, टेबलटेनिस र मार्सल आर्ट विधामा भएको प्रतियोगिता सम्पन्न गर्न विभिन्न विधागत उपसमिति समेत बनाइएको थियो । एथलेटिक्सको संयोजनमा लोकप्रसाद ओली, भलिबलको संयोजनमा राजु पाठक, मार्शल आर्टको संयोजनमा राम पाठक, कबड्डीको संयोजनमा खेमराज भट्टराई र टेबलटेनिसको संयोजनमा लिला कटुवाललाई जिम्मेवारी दिइएको थियो ।
प्रतियोगिताबाट छनौट भएका खेलाडीलाई फागुन ९ देखि ११ गतेसम्म सञ्चालन हुने जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट खेलकुद प्रतियोगितामा सहभागी गराइने भएको छ । पुरस्कार, मेडल तथा ट्रफी वितराण् गरिएको समापन कार्यक्रमको अध्यक्षता कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जबिन तिम्सिनाले गरेका थिए । प्रमुख अतिथिका रूपमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले खेलाडीलाई उच्चस्तरको तयारी गर्न सुझाए । खेलाडीहरूलाई आवश्यक सहयोगका लागि कनकाई नगरपालिका सदैव तयार रहेको नगरप्रमुख पोखरेलको भनाइ थियो । कार्यक्रममा पशुपति अङ्ग्रेजी माविका प्रिन्सिपल एवम् प्याब्सनका केन्द्रीय सदस्य एलपी उप्रेती, कनकाई नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव पिताम्बर गौतम, कनकाई नगर खेलकुद विकास समितिका पूर्व अध्यक्ष एवम् नेकपा एमाले कनकाई गर इञ्चार्ज रवीन्द्र लम्साल, झापा जिल्ला खेलकुद विकास समितिका प्रवक्ता जगन कार्की लगायतले मन्तव्य राखेका थिए ।
प्रतियोगितामा कनकाई नगरभरिका १४ वटा सामुदायिक र २२ वटा संस्थागत विद्यालयबाट सहभागिता रहेको आयोजक समितिका सदस्य खेमराज भट्टराईले जानकारी दिए । उक्त प्रतियोगिता कनकाई माविको खेलमैदान, कनकाई–४ ईलुवाबारी बुद्ध चोकमा रहेको नयाँ खेलमैदान र कनकाई –३ मा रहेको ग्लोबल एडुकेयर एकाडेमीको खेलमैदानमा सञ्चालन गरिएको आयोजक समितिका सचिव कर्णबहादुर डाँगीले जानकारी दिए ।
जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट खेलकुद प्रतियोगिता कनकाई नगरपालिकाका विभिन्न खेलमैदानमा कनकाई नगरकै संयोजनमा हुने आयोजक समितिका सदस्य डम्बर राउतले जानकारी दिए । कार्यक्रमको सञ्चालन कनकाई नगर खेलकुद विकास समितिका सदस्य उषा उप्रेती (यदुका) र चम्पापुर माविका शिक्षक मोहन काफ्लेले संयुक्त रूपमा गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here