झापा,
भकुण्डे स्वास्थ्यचौकीको भवन निर्माण सुरु गरेको सात वर्ष बितिसक्यो । २०७२ कात्तिक १८ गते रछिना एण्ड कन्ट्रकसन प्रालिले १८ महिनामा सक्ने गरी जिम्मा लियो तर, अहिलेसम्म निर्माण सम्पन्न गर्न सकेको छैन ।
भवन समयमै सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या आएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा रहेको स्वास्थ्यचौकी अहिले वर्षौं पुरानो भवनबाट सञ्चालन हुँदै आएको छ । ठेकेदार कम्पनीले समयमै काम गरेको भए २०७४ वैशाखमै सकिने थियो । लामो समय निर्माण कम्पनी बेखबर हुँदा सेवाग्राहीले सहजरुपमा सेवा पाउन सकेका छैनन् । भवन सम्पन्न गर्नका लागि पटक–पटक म्याद थप गरे पनि अहिलेसम्म काम पूरा हुन नसकेको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर योगेन्द्र बस्ताकोटीले बताउनुभयो । निर्माण कम्पनीले हालसम्म ९० प्रतिशत काम सकेको छ ।
कार्यालयले केही दिन अगाडि ठेक्का तोड्नका लागि सूचना प्रकाशन गरेको र निर्माण कम्पनीले माघ महिनाभित्रै काम सक्ने भन्दै पत्र पठाएको इन्जिनियर बास्ताकोटीले बताउनुभयो । ठेक्का तोड्ने या काममा लगाउने भन्ने विषयमा निर्णय भने नभएको उहाँको भनाइ छ ।
इन्जिनियर बास्ताकोटी भन्नुहुन्छ, “यतिका समय भयो काम सम्पन्न हुन सकेन, अब १० प्रतिशत मात्रै काम गर्न बाँकी छ, त्यति काम पनि निर्माण कम्पनीले गरेको छैन, धेरै काम सकिएको छ, अब शौचालयमा झ्याल ढोका बनाउन बाँकी छ, अब यही कम्पनीलाई काम सक्न ताकेता गर्ने की अर्कोलाई दिने केही दिनमा निक्र्यौल हुन्छ ।”
स्थानीयले भवन निर्माणमा राम्रो सहयोग गरे पनि निर्माण व्यवसायी काम सक्न अटेरी गरि रहेको छ । इन्जिनियर बास्ताकोटीका अनुसार भवन एक करोड ७० लाख ४८ हजार रुपैयाँमा निर्माण थालिएको थियो । हालसम्म ८० प्रतिशत भुक्तानीसमेत लगि सकेको उहाँ बताउनुहुन्छ ।
स्वास्थ्यचौकी प्रमुख उमेश सर्बुजाले समयमै भवन नबन्दा पुरानो साँघुरो भवनबाटै सेवा प्रवाह गर्नु परेको गुनासो पोख्नु भयो । साँघुरो भवनबाट सेवा प्रवाह गर्दा सेवाग्राहीले सास्ती खेप्नु परेको सर्बुजा बताउनुहुन्छ । एउटै भवनबाट बर्थिङ सेन्टर, खोप, बिरामी जाँच्ने लगायतका काम गर्नु पर्दा सेवा छिटो र छरितो बन्न नसकेको उहाँको भनाई छ ।
“पुरानो भवनमा पर्याप्त कोठाहरु छैनन्, एकै पटक धेरै बिरामीहरु आए भने कहाँ जाँच गर्ने रु, कहाँ खोप लगाउने रु, कहाँ प्रसुति गराउने भन्ने समस्या हुन्छ, यो सबै समस्या ठेकेदारले ढिला सुस्ती गर्दा हो,” स्वास्थ्य चौकी प्रमुख सर्बुजाले भन्नुभयो– “बिरामीहरु उपचारका लागि आउनुहुन्छ, लाइनमा बस्नु पर्ने, धेरै बेर पर्खनु पर्ने अवस्था छ, भवन अभावकै कारण विश्राम गर्ने उपयुक्त ठाउँसमेत छैन ।”





























