अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा निर्माण गरिएको संरचना हस्तान्तरण

0
188

झापा, नेपाल प्रवेशको पूर्वीद्वार काँकरभिट्टामा अन्तर्राष्ट्रिय आप्रवासन संगठनद्वारा निर्माण गरिएको संरचना विहीवार स्थानीय सरकारलाई हस्तान्तरण गरिएको छ ।
मेचीनगर– ६ काँकरभिट्टा मेचीपुलको नेपालतर्फ कोभिड १९विरूद्ध द्रुत प्रतिक्रिया तथा पूर्वतयारी निम्ति आइसोलेशन केन्द्र र सीमानाकाको सवलीकरणमार्फत प्रभावकारी केस व्यवस्थापन परियोजना हस्तान्तरण गरिएको हो ।
अन्तर्राष्ट्रिय आप्रवासन संगठन आईओएमका योजना व्यवस्थापक उमा नेपालले स्थानीय सरकार मेचीनगर नगरपालिका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द्र बुढाथोकी, उपप्रमुख तथा विशिष्ठ अतिथि मीना पोखरेल उप्रेतीलाई परियोजनाको कागजात हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपालसँग सीमा जोडिएका वागमती प्रदेश वाहेक बाँकी सवै प्रदेशमा परियोजना सञ्चालनमा रहेको नेपालले जानकारी दिइन् । परियोजनाको लागत १ करोड ५० लाख यूरो रहेको छ । युरोपेली आयोग डीजी इकोको आर्थिक सहयोगमा अन्तर्राष्ट्रिय आप्रवासन संगठनको कार्यान्वयनमा तथा सेभ द चिल्ड्रेन अन्तर्राष्ट्रियको नेतृत्व साझेदारीमा परियोजना सञ्चालनमा रहेको उनको भनाइ छ  ।
पूर्वी नाकामा सञ्चालनमा आएको परियोजनाको उद्देश्य कोभिड–१९बिरूद्ध द्रुत प्रतिक्रिया तथा पूर्व तयारी निम्ति आइसोलेशन केन्द्र र सीमानाकाको सवलीकरणमार्फत प्रभावकारी केश व्यवस्थापन आइओएम परियोजना कोभिड १९को सन्दर्भमा भारतबाट आएका र भारत जाने आप्रवासीहरूको यात्रालाई सुरक्षित बनाउने उद्देश्यसहित सञ्चालनमा रहेको उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले कोभिड १९ महामारीका बखत यस्ता संरचना अभावमा चाहे अनुसार काम गर्न नसकिएको बताए । कोभिड १९ बाट धेरै पाठ सिकेको बताउँदै उनले जुन उद्देश्य निर्माण गरिएको हो सोही उद्देश्यमा संरचना सञ्चालन गर्ने बताए । यसको संरक्षण र सञ्चालनमा स्थानीय सरकार सक्रिय रूपका लाग्ने उनले प्रतिवद्धता व्यक्त गरे ।
काँकरभिट्टा नाकामा रहेको हेल्थ डेक्सले प्रभावकारी काम गरिरहेको उनको भनाइ थियो । तीनै तहका सरकारबीच समन्वय गरी दातृ निकायको सहयोगमा यस्ता संरचना निर्माण कार्यमा साथ दिने उनले बताए ।
विशिष्ट अतिथि उपप्रमुख उप्रेतीले कोभिड–१९ नियन्त्रण र रोकथामका लागि उल्लेख्नीय भूमिका निर्वाह गर्ने सवैप्रति धन्यवाद ज्ञापन गरिन् । कोभिडका बखत आईओएमले सेनिटाइजर, मास्कलगायतका वस्तु प्रदान गरेको भन्दै स्मरण गराइन् अब यस्ता स्वास्थ्यसँग जोडिएका स्वास्थ्य केन्द्रहरूमा दक्ष जनशक्तिको व्यवस्थापन गर्ने जानकारी दिइन् । यसलाई स्थानीय सरकारले सम्पत्तिका रूपमा राख्ने उनको भनाइ थियो ।
मेचीनगर वडानम्वर–६का वडाध्यक्ष ललितबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, आईओएमका पब्लिक हेल्थ कन्सलटेन्ट जीतेन्द्र साहलगायतले बोलेका थिए ।
कार्यक्रमको सञ्चालन हेल्थ डेक्स इञ्चार्ज भोलामान थापाले गरेका थिए । कार्यक्रममा मेचीनगर नगरपालिका सामाजिक विकास समिति संयोजक हृदय राजवंशी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, स्वास्थ शाखा प्रमुख सविता सापकोटा, महिला निरीक्षक जयन्ती खरेल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख प्रहरी निरीक्षक होम अधिकारी, सशस्त्र प्रहरी बल नेपाल बीओपी काँकरभिट्टाका बीओपीपति सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेत, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, अधिकारकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मीलगायत सर्वसाधारणको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here