‘सवारी’ आतंक रोक

0
201

नेपाल चिकित्सक संघले राष्ट्रपतिको सवारीको नाममा चिकित्सकमाथि गरिएको कुटपिटको विरोधमा आइतबार देशभरका अस्पताल लगायतका स्वास्थ्य सेवा बन्द ग¥यो । संघले आइतबार आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर सरकारको ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष डा. लोचन कार्कीले ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंह लगायतका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठीचार्ज गरी घाइते बनाएको घटनाप्रति ध्यानाकर्षण भएको जनाउँदै स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको शान्ति–सुरक्षाका निम्ति आवश्यक व्यवस्था गर्न माग गरेका छन् । टाउको र हातमा चोट लागेका डा. सिंह अब्जर्भेसनमा रहेका छन् भने कुटपिटको बिरोधमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो । अति विशिष्ट व्यक्तिको सवारीका नाममा आम सडकयात्री मात्र होइन एम्बुलेन्समा सवार बिरामी, स्कूलका विद्यार्थी, गर्भवती र सुत्केरी गराउन अस्पताल लगिँदै गरेका महिलाले पनि ‘सास्ती’ झेल्नु प¥यो । त्यही प्रसंगमा चिकित्सक पनि कुटिनु निरंकुशताको उदाहरण हो ।
सडक सबै सवारीसाधन तथा पैदलयात्रीहरुको आवागमनलाई सहज बनाउने आधार हो । बिना जानकारी एकाएक सडक अबरुद्ध हुँदा कार्यालय हिँडेका कर्मचारी, स्कूल, कलेज जाँदै गरेका विद्यार्थी, छोराछोरी स्कूल पु¥याउन गइरहेका अभिभावक, अस्पताल हिँडेका बिरामी लगायतले गत शुक्रबार पनि अनाहकमा प्रताडना खप्नु प¥यो । राष्ट्रपति संसदलाई सम्बोधन गर्न जाँदा र आउँदा सडक अबरुद्ध गरी सडकपेटीबाट समेत आवागमन रोकिँदा लाखौं सडक प्रयोगकर्ताहरुको आक्रोश राष्ट्रपति माथि खनियो र सँगै प्रहरी प्रशासन तथा गृहमन्त्रालय पनि आलोचित भए । राणाकालको ढर्रामा सवारी चलाउने यो विधि आजको समय सुहाउने कुरा होइन । जनताकै प्रतिनिधि, भोलि फेरि यही भुइँमा हिँड्नुपर्ने मान्छेका लागि सडक नै रोकेर तामझाम देखाउने हो भने यसले व्यवस्थालाई पनि असर गर्छ ।
सधैँ विवादित बन्ने गरेको अतिविशिष्ट व्यक्तिको सवारीको विषयमा कुनै कार्यविधि बनाइएको छैन । जानकारहरुका अनुसार विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ मा ‘सडक समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइने’ भनिएकोमा सडक नै रोकेर सवारी चलाउनु सर्वसाधारणलाई महत्वहीन ठान्नु हो । अति विशिष्टका नाममा पछिल्लो समय हाम्रो देशमा बढी विवाद, आलोचना र आक्रोश व्यक्त गर्ने परम्परा बस्दैछ । यसले न विशिष्टको मर्यादा जोगाउँछ, न त सरकारको । त्यसैले विवादमा रहने राष्ट्रपति हुन् वा प्रधानमन्त्री अथवा गृृहमन्त्री वा सरकार सबैले नियमित प्रणालीलाई नै अस्तव्यस्त बनाउने, बेकसुरले यातना र शारीरिक दण्ड पाउनेसम्मको ‘सवारी’लाई समयमै व्यवस्थापन गर्न पहल गर्नुपर्छ । सवारीको प्रदर्शनबाट आजित भएका तथा पीडामा परेकोहरुको असन्तोषले बिद्रोह जन्मायो भने त्यसको असरबाट कोही पनि जोगिने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here