अर्जुनधारामा ‘रारशिखेप्र’–२०७९ का लागि छनौट प्रतियोगिता शुरु

0
198

अर्जुनधारा ।

१३ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता–२०७९ अन्र्तगत झापाको अर्जुनधारा नगरपालिकामा पालिकास्तरिय खेलकुद छनौट प्रतियोगिता बुधबारदेखि सुरु भएको छ ।

अर्जुनधारा–७स्थित अर्जुनधारा खेलमैदानको प्राङ्गणमा आयोजक अर्जुनधारा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख तोयानाथ रेग्मीको अध्यक्षतामा आयोजित उक्त प्रतियोगिताको प्रमुख अतिथि नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङले उद्घाटन गरेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा माध्यमिक तहका ९ वटा सामुदायिक र १४ वटा संस्थागत गरि जम्मा २३ वटा विद्यालयबाट एक हजार जना बढी विद्यार्थीले खेलकुदका विभिन्न विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक रुपक दाहालले जानकारी दिए ।

सो प्रतियोगिता अन्र्तगत एथलेटीक्सतर्फ एक सय मिटर दौड, दुई सय मिटर दौड, चार सय मिटर दौड, आठ सय मिटर दौड, १५ सय मिटर दौड, तीन हजार मिटर दौड, कबड्डी, भलिबल, मार्सल आर्टसतर्फ उसु, कराते र तेक्वान्दो, ट्रिपल जम्प, लङजम्प, हाइजम्प, सटपुट थ्रो, ज्याभलिन थ्रोआदि सञ्चालन हुने प्रतियोगिताका प्राविधिक संयोजक डम्बर चौधरीले जानकारी दिए ।

उद्घाटन कार्यक्रममा निर्णायकतर्फ फुटबलका राष्ट्रिय रेफ्री प्रदिपकुमार बस्नेत र खेलाडीतर्फ उसुका राष्ट्रिय खेलाडी निरञ्जन चौधरीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गराउन सपथ ग्रहण गरेका थिए । प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरुले सामुहिक मार्चपास तथा अर्जुनधारा–६स्थित लक्ष्मी माध्यमिक विद्यालयका विद्यार्थीहरुले स्वागत नृत्य प्रस्तुत गरेको उक्त कार्यक्रमको सञ्चालन संयोजक दाहालले गरेका थिए ।

प्रतियोगिताबाट विजयी हुने प्रत्येक विधाका खेलाडी वा टिम आगामी फागुन ९ गतेदेखि ११ गतेसम्म हुने जिल्लास्तरिय प्रतियोगिताको लागि छनौट हुने झापा जिल्ला खेलकुद विकास समितिका सदस्य एवम् शनिश्चरे माध्यमिक विद्यालयका प्रधानाध्यापक चेतामणि खनालले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here