घर जलेपछि परिवार बिचल्लीमा

0
110

खोटाङ, 

डढेलो गाउँ पसेर घरमा आगलागी हुँदा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित डाँडाखर्कका बक्तबहादुर बस्नेतको १३ जनाको परिवार बिचल्लीमा परेका छन् । जङ्गलबाट आएको आगोले दुई घर, घरमा भएका लत्ताकपडा, भाडावर्तन, अन्नपात, नगद रु एक लाख, चार तोला सुन, दुई तोला चाँदी, गुवालीमा राखिएको गाईको एउटा बाछी र एउटा बाख्रा जलेर नष्ट भएको छ ।

स्थानीय आमकासुकसे सामुदायिक वनमा लागेको डढेलोको आगो हावाहुरीले उडाएर छानामा पु¥याएपछि बुधबार साँझ बस्नेत परिवारको घर जलेको स्थानीय बासिन्दाले बताएका छन् । आगलागीमा बस्नेत परिवारको रु १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।

आगलागीपीडित बस्नेत परिवार अहिले छिमेकी गणेश कार्कीको घरमा आश्रय लिएर बसिरहेका छन् । आगलागीपीडित बस्नेत परिवारका लागि सम्बन्धित निकायले तत्काल उचित व्यवस्थापन गर्नुपर्ने अवस्था देखिएको छ ।

आगलागीमा बस्नेतको स्कुल पढ्दै गर्ने छोराछोरीको पुस्तक, कापी, कलम तथा विद्यालय पोशाकसमेत जलेर नष्ट भएको स्थानीय बासिन्दा एवं नेकपा (माओवादी केन्द्र)का नेता तामन राईले जानकारी दिनुभयो । “आगलागीपीडित बस्नेतको श्रीमती, छोराबुहारी र नातिनातिनी गरी १३ जनाको संयुक्त परिवार छन्”, उहाँले भन्नुभयो, “बाँदरले खाइदिने डरले सबै अन्नपात घरभित्र राख्ने गरेका थिए । जङ्गलबाट उडेर आएको आगोले घरै जलेपछि बिचल्लीमा परेका छन् ।”

आगलागीपीडित परिवारलाई खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले रु १० हजार सहयोग रकम उपलब्ध गराएको छ । कोषका हलेसी प्रतिनिधिमार्फत वडाका जनप्रतिनिधिको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको जिल्ला सचिव युगशन किराँतले जानकारी दिनुभयो ।

आगलागी पीडित बस्नेत परिवारलाई नगरपालिकाको तर्फबाट तत्कालका लागि करिब दुई महिना पुग्ने खाद्यान्नसहित अत्यावश्येक सामग्री उपलब्ध गराइएको उपप्रमुख रमेशकुमार राउतले जानकारी दिनुभयो । तत्कालका लागि छिमेकीकामा बसाइएका बस्नेत परिवारलाई पुनःस्थापित गर्न नगरपालिकाले सहयोग गर्ने जनाइएको छ ।

आगलागीपीडित बस्नेत परिवारको सहयोगका लागि राहत सङ्कलन समिति गठन गरेर अभियान सञ्चालन गर्ने तयारी गरिएको जनाइएको छ । आगलागीपीडित परिवारको घर अभेगमा रहेकाले पनि समस्या भएको स्थानीय बासिन्दाले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here